Nov 03 2026 | २०८३ कार्तिक १८ गते

विदेशको क्रेडिट नेपालमा ट्रान्सफर गरी पढाइलाई निरन्तरता दिन सकिने

विदेशको क्रेडिट नेपालमा ट्रान्सफर गरी पढाइलाई निरन्तरता दिन सकिने

आइतवार, श्रावण २४ २०८३
  • काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगले नेपालको उच्च शिक्षा प्रणालीलाई थप लचिलो, आधुनिक र विद्यार्थीमैत्री बनाउने उद्देश्यले ‘एकेडेमिक क्रेडिट बैङ्कको स्थापना र सञ्चालन निर्देशिका, २०८२’ जारी गरेको छ । मुलुकभित्र एवम् बाहिर विद्यार्थीले उच्च शिक्षा अध्ययन गरी आर्जन गरेको शैक्षिक क्रेडिट सञ्चय र ट्रान्सफर गरी उच्च शिक्षामा विद्यार्थीहरूको गतिशीलता तथा निरन्तरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोगले निर्देशिका जारी गरेको हो।

    अध्ययनका क्रममा विदेशबाट नेपाल फर्किनुपरेमा अब नेपालकै विश्वविद्यालयमा पढाइलाई निरन्तरता दिन मिल्ने भएको छ । नेपालका जुनसुकै विश्वविद्यालयमा सहजरूपमा क्रेडिट ट्रान्सफर गरी अध्ययनलाई निरन्तरता दिन सकिने निर्देशिका आयोगले तयार पारेको छ । अध्ययनकै क्रममा विदेश जानुपर्ने अवस्था आएमा विद्यार्थीको क्रेडिट सुरक्षित रहने व्यवस्था निर्देशिकामा गरिएको छ । अध्ययन स्थगन गरी विदेश गएका विद्यार्थीहरूले पछि फर्किएर आफ्नो पढाइ सहजै पूरा गर्न सकुन् भन्ने उद्देश्यले ‘क्रेडिट बैंक’ को अवधारणा कार्यान्वयनमा ल्याइएको हो।

    images

    विदेशमा अध्ययन गरी फर्किएका विद्यार्थीले त्यहाँ आर्जन गरेको मान्यता प्राप्त क्रेडिटलाई विश्वविद्यालय अनुदान आयोगको ‘एकेडेमिक क्रेडिट बैंक’मा जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ । नेपाल तथा विदेशका मान्यताप्राप्त विश्वविद्यालय वा उच्च शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक प्रगतिलाई डिजिटल रूपमा सुरक्षित राख्न र सोको उपयोग गर्न ‘एकेडेमिक क्रेडिट बैंक’ सम्बन्धी व्यवस्था ल्याइएको छ।

    बैंकले विद्यार्थीहरूले अध्ययनका क्रममा आर्जन गरेको ‘क्रेडिट’ (अङ्क/भार) लाई प्रमाणीकरण, सञ्चय र ट्रान्सफर (स्थानान्तरण) गर्ने डिजिटल तथा भर्चुअल सुविधा प्रदान गर्नेछ । यसका लागि प्रत्येक विद्यार्थीलाई डिजिटल रूपमा व्यक्तिगत ‘एकेडेमिक बैंक खाता’ खोल्ने सुविधा दिइने निर्देशिकामा भनिएको छ।

    खाता खोल्नका लागि विद्यार्थीले आफ्नो व्यक्तिगत विवरण, शैक्षिक प्रमाणपत्र र मान्यताप्राप्त संस्थाबाट प्राप्त क्रेडिट विवरण आयोगसमक्ष पेस गर्नुपर्नेछ, जसलाई सम्बन्धित शैक्षिक संस्थाले सिधै प्रमाणीकरण गरी पठाएपछि मात्र मान्यता दिइने उल्लेख छ।

    यो व्यवस्था लागू भएसँगै विद्यार्थीहरूले एक शैक्षिक संस्थाबाट अर्कोमा अध्ययन स्थानान्तरण गर्दा पहिले हासिल गरेको क्रेडिट सहजै प्रयोग गर्न सक्नेछन् । तर, त्यसका लागि कम्तीमा एउटा सेमेस्टर वा वर्ष पूरा गरेको हुनुपर्छ । अर्को विश्वविद्यालय वा संस्थामा क्रेडिट ट्रान्सफर गर्नका लागि विद्यार्थीले तोकिएको ढाँचामा आयोगमा निवेदन दिनुपर्नेछ र अध्ययन गर्न चाहेको विश्वविद्यालयले उक्त क्रेडिट स्वीकार गर्ने निश्चित भएपछि विवरण उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ । यसरी एकेडेमिक क्रेडिट बैंकमा जम्मा गरिएको क्रेडिट स्नातक तहका लागि ७ वर्ष र स्नातकोत्तर तहका लागि ५ वर्षभित्र ट्रान्सफर तथा प्रयोग गरिसक्नुपर्ने समयसीमा तोकिएको छ।

    विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० बमोजिम ल्याइएको निर्देशिकाले नेपालभित्रका सङ्घीय तथा प्रादेशिक विश्वविद्यालय र शिक्षण संस्थाहरूमा डिजिटल प्लेटफर्मका रूपमा ‘एकेडेमिक क्रेडिट बैङ्क’ को स्थापना गर्ने व्यवस्था गरेको छ । यस प्रणालीमार्फत उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूले १५ देखि १६ घण्टाको सिकाइ अभ्यासबापत प्राप्त गर्ने शैक्षिक ‘क्रेडिट’ लाई आफ्नै व्यक्तिगत ‘एकेडेमिक बैङ्क खाता’ मा सञ्चय गर्न र आवश्यकताअनुसार अर्को विश्वविद्यालय वा संकायमा ट्रान्सफर गर्न सक्नेछन्।

    अब कुनै विद्यार्थीले एउटा कलेज वा विश्वविद्यालय छाडेर अर्कोमा भर्ना हुन चाहेमा वा बिचमा नै पढाइ रोकिएर पछि फेरि सुरु गर्न चाहेमा पहिले पढेको विषयको अङ्क खेर जाने छैन । त्यो अङ्क नयाँ कलेजमा सजिलै सार्न (ट्रान्सफर गर्न) सकिनेछ।

    यो व्यवस्थाले स्वदेश तथा विदेशका मान्यताप्राप्त संस्थामा अध्ययन गर्ने विद्यार्थीको गतिशीलतालाई सहज बनाउनुका साथै कुनै कारणवश बिचमै पढाइ छुटेकाहरूलाई पुनः निरन्तरता दिन राहत पुर्‍याउनेछ ।  क्रेडिट ट्रान्सफर र उपयोगका लागि आयोगले स्पष्ट मापदण्ड र सीमा निर्धारण गरेको छ।

    निर्देशिका अनुसार विद्यार्थीले आफूले आर्जन गरेको क्रेडिट स्नातक तहको हकमा ७ वर्षभित्र र स्नातकोत्तर  तहको हकमा ५ वर्षभित्र ट्रान्सफर गरी उपयोग गरिसक्नुपर्नेछ । कुनै पनि विश्वविद्यालयबाट प्राप्त गर्ने कुल क्रेडिटको अधिकतम ५० प्रतिशतसम्म मात्र ट्रान्सफर गर्न पाइनेछ । अनिवार्य रूपमा सेमेस्टर वा वर्ष पूरा भएको क्रेडिट मात्र रूपान्तरण हुनेछ।

    विद्यार्थीले अध्ययन गर्न चाहेको सम्बन्धित विश्वविद्यालय वा संस्थाको पाठ्यक्रम र विषयको समानताका आधारमा प्राज्ञिक परिषद्को स्वीकृतिपछि मात्र यो सुविधा पाइनेछ । ट्रान्सफर भई आएको क्रेडिट विवरण विद्यार्थीको अन्तिम शैक्षिक प्रमाणपत्र (ट्रान्सक्रिप्ट) मा अनिवार्य रूपमा उल्लेख गरिनेछ । नेपालका उच्च शैक्षिक संस्थाहरूमा शैक्षिक मूल्याङ्कनलाई एकरूपता दिन आयोगले निरन्तर मूल्याङ्कन र अन्तिम परीक्षाको आधारमा फोर–पोइन्ट ग्रेडिङ स्केल लागू गरेको छ।

    विद्यार्थीको विवरण र सञ्चित क्रेडिटको सुरक्षाका लागि अत्याधुनिक साइबर सुरक्षा मापदण्ड, डाटा एन्क्रिप्शन र प्रयोगकर्ता प्रमाणीकरण प्रणाली अपनाइने उल्लेख छ । यो व्यवस्था लागू गर्न सबै विश्वविद्यालयहरूलाई आफ्ना नियम संशोधन गर्न र पाठ्यक्रम अद्यावधिक गर्न आह्वान गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार