Nov 03 2026 | २०८३ कार्तिक १८ गते

शैक्षिक क्रेडिट बैंक : विदेशमा अध्ययन पूरा नगरी फर्किए नेपालमा निरन्तरता

शैक्षिक क्रेडिट बैंक : विदेशमा अध्ययन पूरा नगरी फर्किए नेपालमा निरन्तरता

शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौं । २०८२ वैशाखमा भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्ड्रस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा एक नेपालीको मृत्यु भएपछि विद्यार्थीहरूले क्रेडिट आवर ट्रान्सफर गरी आफ्नै देशमा पढ्न चाहेका थिए।

    तर, क्रेडिट आवर ट्रान्सफरको स्पष्ट नीति नहुँदा समस्या परेको थियो । अब विदेशमा अध्ययन गर्दागर्दै कुनै कारणले फर्किनु परेमा नेपालकै विश्वविद्यालमा पढाइलाई निरन्तरता दिन मिल्ने भएको छ।

    images

    विश्वविद्यालय अनुदान आयोगले क्रेडिट ट्रान्सफर गरी नेपालको जुनसुकै विश्वविद्यालयमा पढाइलाई निरन्तरता दिन पाउने नियमा बनाएको छ । साथै, नेपालमा अध्ययन गर्दागर्दै विदेश जानु परेमा पनि आफ्नो क्रेडिट सञ्चय गरी राख्न मिल्ने गरी निर्देशिका बनाएको छ।

    आयोगका सहायक निर्देशक सीताराम भट्टराईका अनुसार अध्ययन रोकेर विदेशमा रोजगारी गर्न गयो भने केही वर्षपछि फर्किएर फेरि अध्ययन पूरा गर्न पाउने गरी क्रेडिट बैंकको स्थापना गरिएको छ।

    ‘मुलुक भित्र र बाहिर विद्यार्थीले उच्च शिक्षा अध्ययन गरी आर्जन गरेको शैक्षिक क्रेडिट सञ्चय र ट्रान्सफर गरी उच्च शिक्षामा गतिशिलता तथा निरन्तरतालाई प्रबर्द्धन गर्ने उद्देश्यले क्रेडिट बैंक स्थापना गरिएको हो,’ सहायक निर्देशक भट्टराईले भने।

    यो नियमले स्वास्थ्य, पारिवारिक वा अन्य कुनै कारणले फर्किनु परेमा ती विद्यार्थीले नेपालमै डिग्री पूरा गर्न सक्ने छन् । नेपाल फर्किएपछि विद्यार्थीले विदेशमा आर्जन गरेको डिग्री योग्य क्रेडिटलाई विश्वविद्यालय अनुदान आयोगले स्थापना गरेको ‘एकेडेमिक क्रेडिट बैंक’मा जम्मा गर्ने व्यवस्था मिलाइएको छ।

    विश्वविद्यालय अनुदान आयोग – Online Khabar

    के हो क्रेडिट बैंक ?

    एकेडेमिक क्रेडिट बैङ्क (एबीसी) भन्नाले विद्यार्थीले आर्जन गरेको एकेडेमिक क्रेडिट सञ्चय र ट्रान्सफर गर्न सुविधा प्रदान गर्न आयोगले सञ्चालन गरेको सेवा प्रणाली (डिजिटल प्लेटफर्म) हो । जसमा विद्यार्थीको एकेडेमिक बैंक खाता हुन्छ । विद्यार्थीले अध्ययन गरेर आर्जन गरेका शैक्षिक क्रेडिटहरू आफ्नो एकेडेमिक क्रेडिट बैंक खातामा राख्न पाउने छन् । प्रत्येक विद्यार्थीलाई डिजिटल रूपमा व्यक्तिगत एकेडेमिक बैङ्क खाता खोल्ने सुविधा हुनेछ।

    ‘खाता खोल्न विद्यार्थीले आफ्नो व्यक्तिगत विवरण, शैक्षिक प्रमाणपत्र र मान्यता प्राप्त उच्च शैक्षिक संस्थाबाट आर्जन गरेको क्रेडिट विवरण र कागजातहरू पेस गर्नु पर्नेछ,’ निर्देशिकामा भनिएको छ।

    एकेडेमिक क्रेडिट बैङ्कमा सञ्चय गरेको क्रेडिट विद्यार्थीको अनुरोधमा कुनै एक उच्च शैक्षिक संस्थाबाट नेपालको अर्को कुनै उच्च शैक्षिक संस्था वा एकै शैक्षिक संस्थाभित्र ट्रान्सफर गर्न मिल्छ।

    ‘विद्यार्थीले कुनै पनि मुलुकको कानुनबमोजिम स्थापना भएको विश्वविद्यालयमा आर्जन गरेको क्रेडिटलाई सञ्चय गरी भविष्यमा आफ्नो आवश्यकताअनुसार ट्रान्सफर र उपयोग गर्न सक्ने गरी क्रेडिट बैङ्कमा जम्मा गर्न सक्छन्,’ सहायक निर्देशक भट्टराईले भने । एकेडेमिक क्रेडिट बैंकले विद्यार्थीको क्रेडिट प्रमाणीकरण, सञ्चय तथा ट्रान्सफर गर्नेछ ।

    ट्रान्सफरको अवधि स्नातकको ७ वर्ष, स्नातकोत्तरमा ५ वर्ष

    क्रेडिट ट्रान्सफर गर्न विद्यार्थीले आयोगमा निवेदन दिनु पर्छ । विद्यार्थीले अध्ययन गर्न चाहेको विश्वविद्यालयले उक्त क्रेडिट उपयोग गर्ने सुनिश्चित भएपछि विद्यार्थीले निवेदन दिनु पर्ने हुन्छ।

    ‘विद्यार्थीले निवेदन दिएलगत्तै आयोगले क्रेडिट जम्मा गर्दैन । सम्बन्धित विदेशी विश्वविद्यालयबाट विद्यार्थीले कति क्रेडिट आर्जन गरेको हो भन्ने आधिकारिक विवरण आउनु पर्छ । त्यसको आधारमा मात्र क्रेडिट बैंकमा सुरक्षित गरिन्छ,’ भट्टराईले भने।

    क्रेडिट बैंकमा जम्मा गरेको आधारमा विश्वविद्यालयलाई आयोगले क्रेडिट ट्रान्सफरको विवरण उपलब्ध गराउने छ । सम्बन्धित विश्वविद्यालयसँग विषयवस्तु नमिलेसम्म क्रेडिट स्वीकार हुँदैन । ‘तर अहिले नमिल्ने अवस्था छैन । धेरै कार्यक्रमहरू सञ्चालनमा रहेकाले कुनै न कुनैमा मिल्ने आधार भेटिन्छ,’ भट्टराईले भने।

    विद्यार्थीले एकेडेमिक क्रेडिट बैंकमा जम्मा गरेको क्रेडिट स्नातक तहको हकमा ७ वर्ष र स्नातकोत्तर तहको हकमा ५ वर्षभित्र मात्र ट्रान्सफर र उपयोग गर्न मिल्नेछ । तोकिएको उक्त समयपछि भने क्रेडिट ट्रान्सफर हुने छैन ।

    विद्यार्थीले आर्जन गरेको क्रेडिट विश्वविद्यालयको पाठ्यक्रम तथा विषयको समानताअनुसार एक वा सो भन्दा बढी उपाधिका लागि उपयोग गर्न सक्नेछ।

    ‘अन्तरविधागत विषयको क्रेडिट विधागत/विषयगत रूपमा समानता भए/नभएको यकिन गरी सम्बन्धित विश्वविद्यालयको प्राज्ञिक परिषद् वा सम्बन्धित निकायको स्वीकृतिमा मात्र ट्रान्सफर गर्न सकिने छ,’ निर्देशिकामा भनिएको छ । सेमेस्टर वर्ष पूरा नभएको क्रेडिट भने ट्रान्सफर हुने छैन । क्रेडिट ट्रान्सफर गर्न सेमेस्टर पूरा भएको हुनु पर्छ।

    ट्रान्सफर गरिएको क्रेडिट उपयोग गर्ने/नगर्नेसम्बन्धी निर्णय सम्बन्धित विश्वविद्यालमा रहने छ । ‘आयोगले सहजीकरण गर्ने हो । सम्बन्धित विश्वविद्यालयले क्रेडिट स्वीकार गर्ने निर्णय गर्‍यो भने बैंकमा सुरक्षित रहेका क्रेडिट विश्वविद्यालयमा ट्रान्सफर गरिदिन्छौँ,’ भट्टराईले भने।

    क्रेडिट ट्रान्सफरको अधिकतम सीमा विद्यार्थीले अध्ययन गर्न चाहेको सम्बन्धित पाठ्यक्रमको ५० प्रतिशतभन्दा बढी हुने छैन । क्रेडिट ट्रान्सफरबाट प्राप्त भएको क्रेडिटसम्बन्धी विवरण शैक्षिक प्रमाणपत्र (ट्रान्सक्रिप्ट) मा अनिवार्य उल्लेख गर्नुपर्ने हुन्छ । यो निर्देशिका सबै विश्वविद्यालयका लागि हो।

    ‘भारतको एउटा घटनापछि यो विषय उठ्यो । विद्यार्थीको मृत्यु भएपछि विद्यार्थी नेपाल आउन चाहेका थिए । त्यसपछि त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालयले आ–आफ्नो तहबाट क्रेडिट ट्रान्सफरको सूचना जारी गरेका थिए । तर राष्ट्रिय नीति आवश्यक रहेकाले आयोगले निर्देशिका जारी गरेको हो,’ भट्टराईले भने।

    हाल नेपालका कतिय विश्वविद्यालयले क्रेडिट ट्रान्सफर गरिरहेका छन् । तर सबैलाई एकरूपता बनाउन आयोगले निर्देशिका बनाएको हो।

    कहिलेबाट लागु हुन्छ ?

    आयोगका अनुसार निर्देशिका लागु भइसकेको छ । ‘कार्यान्वयनका लागि आवश्यक आन्तरिक प्रक्रिया बनाउन बाँकी छ । सफ्टवेयर, एप विकास तथा अन्य प्राविधिक तयारी गर्नु पर्नेछ,’ भट्टराईले भने । आयोगका पदाधिकारी रिक्त भएकाले काम अघि बढ्न सकेको थिएन । आयोगमा पदाधिकारी नियुक्ति भएकाले अब प्रक्रिया सुरु गरिने उनले बताए । ‘निर्देशिका तयार भइसकेकाले यही आर्थिक वर्षभित्र कार्यान्वयन सुरु गर्ने लक्ष्य छ,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार