Nov 03 2026 | २०८३ कार्तिक १८ गते

प्राथमिक पुँजीबजारलाई ३ चरणमा सुधार्न धितोपत्र बोर्डले बनायो ५ वर्षे ‘रोडम्याप’

प्राथमिक पुँजीबजारलाई ३ चरणमा सुधार्न धितोपत्र बोर्डले बनायो ५ वर्षे ‘रोडम्याप’

शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पुँजीबजारमा गुणात्मक विकास गर्ने उद्देश्यसहित ‘नेपालको प्राथमिक पुँजीबजार विकास सम्बन्धी श्वेतपत्र, २०८३’ सार्वजनिक गरेको छ।

    आर्थिक वर्ष २०८३/८४ को पुँजीबजार नीतिमा उल्लिखित नियामकीय सुधारलाई अघि बढाउने क्रममा बोर्डले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)सम्बन्धी व्यवस्थामा गुणस्तरीय सुधारका लागि दीर्घकालीन लक्ष्यसहित श्वेतपत्र ल्याएको हो।

    images

    श्वेतपत्रले नेपालको प्राथमिक पुँजीबजारको विद्यमान अवस्था, हालसम्म भएका नियामकीय कामकारबाही, कानुनी तथा संस्थागत सीमाहरू, बजारमा देखिएका समस्या तथा चुनौती र तिनका सम्भावित समाधान समेटेको छ।

    आगामी दशकमा प्राथमिक बजारको विकासका लागि आवश्यक रणनीति तथा अन्तर्राष्ट्रिय व्यवस्था र विभिन्न मुलुकका अनुभवसमेत समेट्दै बोर्डले नीतिगत, कानुनी, संस्थागत र कार्यान्वयनसम्बन्धी एकीकृत रूपरेखा प्रस्तुत गरेको छ।

    बोर्डको लक्ष्य प्राथमिक बजारलाई पारदर्शी, निष्पक्ष, प्रतिस्पर्धी, दक्ष, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रिय असल अभ्यासअनुकूल बनाउनु रहेको छ। श्वेतपत्रले प्राथमिक बजार सुधारलाई आईपीओ प्रणालीमा मात्र सीमित नराखी राष्ट्रिय पुँजी निर्माण र निजी क्षेत्रको प्रतिस्पर्धात्मक विकासमार्फत समग्र आर्थिक रूपान्तरणको रणनीतिक आधारका रूपमा अघि सारेको छ।

    पाँच वर्षमा तीन चरणको सुधार

    श्वेतपत्रले प्राथमिक पुँजीबजारको दीर्घकालीन विकासका लागि तीन चरणमा सुधारको कार्ययोजना अघि सारेको छ।पहिलो चरणमा एक वर्षभित्र नीतिगत तथा कानुनी सुधार गर्ने लक्ष्य राखिएको छ। यसअन्तर्गत सम्बन्धित ऐन तथा नियमावली संशोधन, बुक बिल्डिङ प्रणालीको समीक्षा लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ।

    दोस्रो चरणमा एकदेखि दुई वर्षभित्र संस्थागत तथा प्रविधिगत सुदृढीकरण गर्ने योजना छ। यसका लागि डिजिटल आईपीओ प्लेटफर्म, विद्युतीय ग्राहक पहिचान अर्थात् ई–केवाईसी, नियामकीय प्रविधि (च्भनत्भअज) तथा सुपटेक (क्गउत्भअज) जस्ता प्रविधिमा आधारित प्रणालीको विकास र प्रयोगलाई अघि बढाइनेछ।

    तेस्रो चरणमा दुईदेखि पाँच वर्षभित्र प्राथमिक बजारलाई उन्नत र बजारमुखी बनाउने लक्ष्य राखिएको छ। यस चरणमा पूर्ण रूपमा बजारमा आधारित मूल्य निर्धारण प्रणाली विकास गर्नुका साथै योग्य संस्थागत लगानीकर्ता तथा एंकर लगानीकर्ताको प्रवेशलाई सहज बनाउने योजना अघि सारिएको छ।

    यसबाट प्राथमिक निष्काशनमा मूल्य निर्धारणको प्रक्रियालाई बजारको माग, आपूर्ति तथा संस्थागत लगानीकर्ताको सहभागितासँग थप जोड्दै बजारलाई क्रमशः बढी प्रतिस्पर्धी र व्यावसायिक बनाउने अपेक्षा गरिएको छ।

    बुक बिल्डिङदेखि बजारआधारित मूल्य निर्धारणसम्म

    नेपालको प्राथमिक बजारमा कम्पनीको सेयर मूल्य निर्धारणलाई थप वैज्ञानिक, पारदर्शी र बजारमा आधारित बनाउन बुक बिल्डिङलगायतका विद्यमान प्रणालीको प्रभावकारिता पुनरावलोकन गर्ने विषय श्वेतपत्रमा समेटिएको छ।

    दीर्घकालीन रूपमा पूर्ण बजारआधारित मूल्य निर्धारण प्रणाली विकास गर्न बजारको गहिराइ, संस्थागत लगानीकर्ताको सहभागिता र नियामकीय क्षमता विस्तारलाई महत्वपूर्ण पूर्वसर्तका रूपमा हेरिएको छ। संस्थागत लगानीकर्ताको सहभागिता बढ्दा प्राथमिक निष्काशनमा मागको पहिचान, मूल्य निर्धारण र लगानीकर्ताको संरचनामा थप व्यावसायिकता आउने बोर्डको अपेक्षा छ।

    यसले प्राथमिक बजारलाई खुद्रा लगानीकर्तामा मात्र निर्भर रहने अवस्थाबाट क्रमशः विविध प्रकारका तथा संस्थागत लगानीकर्ताको सहभागिता रहेको बजारका रूपमा विकास गर्न सहयोग पुग्ने बोर्डको विश्वास छ।

    श्वेतपत्रले प्राथमिक सार्वजनिक निष्काशनमा संलग्न संस्थाहरूको जिम्मेवारी र जवाफदेहितालाई समेत स्पष्ट बनाउने लक्ष्य लिएको छ। विशेषगरी निष्काशन तथा बिक्री प्रबन्धक, लेखापरीक्षक र क्रेडिट रेटिङ संस्थाहरूको ‘ड्यु डिलिजेन्स’ सम्बन्धी दायित्वलाई स्पष्ट गर्दै उनीहरूलाई थप प्रभावकारी र उत्तरदायी बनाउने व्यवस्था अघि सारिएको छ।

    कम्पनीको वित्तीय अवस्था, व्यावसायिक सम्भावना, जोखिम तथा अन्य महत्वपूर्ण विवरणको यथार्थ परीक्षण गरी लगानीकर्तासमक्ष विश्वसनीय सूचना प्रवाह गराउनु प्राथमिक बजारको महत्वपूर्ण पक्ष भएकाले सम्बन्धित संस्थाहरूको जिम्मेवारी थप स्पष्ट बनाउन खोजिएको हो।यसबाट प्राथमिक बजारमा निष्काशन हुने धितोपत्रको गुणस्तर तथा लगानीकर्ताले प्राप्त गर्ने सूचनाको विश्वसनीयता बढ्ने बोर्डको अपेक्षा छ।

    डिजिटल आईपीओ र ई–केवाईसीमा जोड

    प्राथमिक बजार सुधारमा प्रविधिको प्रयोगलाई बोर्डले महत्त्वपूर्ण आधारका रूपमा अघि सारेको छ।डिजिटल आईपीओ प्लेटफर्म, ई–केवाईसी, रेगटेक र सपटेकको प्रयोगमार्फत सार्वजनिक निष्काशन प्रक्रिया थप सरल, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

    प्रविधिको प्रयोग विस्तार हुँदा निष्काशन प्रक्रियामा लाग्ने समय र लागत घटाउनुका साथै लगानीकर्ताको पहुँच विस्तार गर्न सकिने बोर्डको विश्वास छ। यसले प्राथमिक बजारमा हुने आवेदन, प्रमाणीकरण, निष्काशन तथा नियामकीय अनुगमनलाई समेत थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

    लगानीकर्ता सहभागिता र वित्तीय साक्षरतामा जोड

    श्वेतपत्रले प्राथमिक बजारमा लगानीकर्ताको सहभागिता तथा वित्तीय साक्षरता अभिवृद्धिलाई समेत प्राथमिकतामा राखेको छ।प्राथमिक बजारका विभिन्न उपकरण तथा लगानीका अवसरबारे लगानीकर्तालाई पर्याप्त जानकारी उपलब्ध गराउने, बजारप्रतिको विश्वास बढाउने तथा नयाँ वित्तीय उपकरणको विकास गर्ने दिशामा श्वेतपत्रले मार्गदर्शन गर्ने बोर्डको विश्वास छ।

    प्राथमिक बजारमा हुने सुधारपछि लगानीकर्ताले निष्काशन हुने धितोपत्रबारे थप विश्वसनीय सूचना प्राप्त गर्न सक्ने र लगानीसम्बन्धी निर्णयलाई थप सूचनामूलक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    आर्थिक रूपान्तरणको आधार बनाउने लक्ष्य

    बोर्डले प्राथमिक बजार सुधारलाई केवल आईपीओ प्रणालीको प्राविधिक सुधारका रूपमा नहेरी राष्ट्रिय पुँजी निर्माण, निजी क्षेत्रको प्रतिस्पर्धात्मक विकास र दीर्घकालीन पुँजी परिचालनसँग जोडेको छ।प्राथमिक बजारबाट दीर्घकालीन पुँजी परिचालन बढाउन सके निजी क्षेत्रको विस्तार, उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि र समग्र आर्थिक विकासमा योगदान पुग्ने बोर्डको विश्वास छ।

    त्यसैले श्वेतपत्रलाई नेपालको समग्र आर्थिक रूपान्तरणका लागि रणनीतिक आधारपत्रका रूपमा कार्यान्वयन गर्ने दृष्टिकोण बोर्डले अघि सारेको छ।बोर्डले प्रस्तावित सुधारहरूलाई चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने जनाएको छ। त्यसका लागि आगामी दिनमा सरोकारवालासँग निरन्तर परामर्श गर्दै आवश्यक नीतिगत, कानुनी, प्रक्रियागत तथा प्रविधिगत सुधार अघि बढाइने भनिएको छ।

    बोर्डका अनुसार श्वेतपत्र कार्यान्वयन भएपछि प्राथमिक बजारका उपकरणको विकास तथा विविधीकरणसँगै लगानीकर्ताको सहभागिता र वित्तीय साक्षरता बढ्नेछ। दीर्घकालीन रूपमा प्राथमिक बजारको गुणात्मक सुधारमार्फत राष्ट्रिय पुँजी परिचालन बढाई नेपालको आर्थिक विकास तथा रूपान्तरणमा योगदान पु¥याउने बोर्डको अपेक्षा छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार