काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत र विपन्न समुदायको उत्थानका लागि प्रदेश सरकारले विशेष प्राथमिकताका साथ काम गरिरहेको बताएका छन्।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताए। मुख्यमन्त्री बानियाँले नेपालको लोकतान्त्रिक आन्दोलन र संघीय गणतन्त्र प्राप्तिको संघर्षमा आदिवासी जनजाति समुदायको ठुलो बलिदान रहेको चर्चा गरे।
उनले नेपाली कांग्रेसको इतिहासमा लौह पुरुष गणेशमान सिंह,भीमबहादुर तामाङ र बखानसिंह गुरुङ जस्ता योद्धाको योगदान स्मरणीय रहेको बताउँदै कांग्रेस सधैँ जनजातिको अस्तित्व र पहिचानको पक्षमा लड्ने पार्टी भएको दाबी गरे।
विपन्न र सीमान्तकृत समुदायका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच पुर्याउन बागमती प्रदेश सरकारले प्रभावकारी कदम चालेको मुख्यमन्त्री बानियाँले जानकारी दिए। उनकाअनुसार चेपाङ, बोटे र जिरेल जस्ता अति पिछडिएका समुदायका विद्यार्थीलाई डाक्टर, इन्जिनियर तथा पशु चिकित्सक (भेटेरिनरी) पढाउन सरकारले पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको छ।
आगामी दिनमा यो संख्या अझै बढाइने र प्रवेश परीक्षामा नाम निकालेर पनि आर्थिक अभावमा ‘पेयबल’ कोटामा पढ्न नसक्ने जनजातिका छोराछोरीको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । बागमती प्रदेश सरकारले आदिवासी जनजातिको भाषिक अधिकारलाई सुनिश्चित गर्दै नेपाल भाषा (नेवारी) र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याइसकेको उनले उल्लेख गरे।
यस्तै, आदिवासी जनजाति महासंघको भवन निर्माणका लागि सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको र बाँकी आवश्यक बजेट पनि उपलब्ध गराउने आश्वासन उनले दिए । नेपाली कांग्रेसका संस्थापक नेताहरूको आदर्श स्मरण गर्दै मुख्यमन्त्री बानियाँले धर्म व्यक्तिको व्यक्तिगत आस्थाको विषय भएको र राज्यले सबै धर्मप्रति सहभाव राख्नुपर्ने बताए।



