काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मोरङको विराटनगरस्थित ‘कोइराला निवास’को मर्मत तथा सम्भारका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट अस्वीकार गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई पत्र लेख्दै डा. कोइरालाले राज्यको सीमित स्रोत र साधन अभाव, वञ्चना र कष्टमा रहेका आम नागरिकको उत्थानमा खर्च हुनुपर्ने भन्दै उक्त रकम नैतिक रूपमा स्वीकार गर्न नसकिने बताएका हुन्।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मघर (कोइराला निवास) को मर्मतका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो। सो कार्यका लागि सरकारप्रति आभार प्रकट गर्दै डा.कोइरालाले अहिलेको परिस्थितिमा रकम फिर्ता गर्ने निर्णय लिएका हुन्।
डा.कोइरालाले पत्रमा लेखेका छन्, ‘राज्य सामु आम नागरिक जो वञ्चना, अभाव र अनेकन् कष्टमा छन्, त्यस्ता नागरिकको उत्थानका लागि उपलब्ध सीमित स्रोत र साधनको उपयोग होस् भन्दै विनम्रतापूर्वक उक्त रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ छु।’
उनले बीपी कोइरालाले जीवनभर नेपालीको गाँस, वास र कपासका लागि संघर्ष गरेको स्मरण गर्दै राज्यले विपन्न नागरिकको पक्षमा काम गर्नु नै बिपी र कोइराला निवासप्रति सच्चा श्रद्धाञ्जली र न्याय हुने उल्लेख गरेका छन्।
विराटनगर महानगरपालिका वडा नं. ७ मा रहेको यो ऐतिहासिक घर डा.शेखरका पिता कृष्णप्रसाद कोइरालाले एक शताब्दीअघि निर्माण गरेका थिए । नेपाली राजनीतिको ऐतिहासिक साक्षी र धरोहर मानिने यो घर गत वर्ष भदौ २४ गते ‘जेन्जी आन्दोलन’ का क्रममा जलाइएको थियो, जसका कारण यसको भौतिक स्वरूप नष्ट भएको छ।
कोइराला निवास केवल एउटा भवन मात्र नभई नेपाली जनताको भरोसा, विचार, संगठन र राष्ट्रियताको प्रतीकका रूपमा देशभर फैलिएको डा.कोइरालाले पत्रमा उल्लेख गरेका छन् । उनले ऐतिहासिक भौतिक संरचना नष्ट भए पनि यसको वैचारिक विरासत कायमै रहने विश्वास व्यक्त गरेका छन्।
सरकारले दिएको बजेट अस्वीकार गरेर डा.कोइरालाले राज्यको सम्पत्ति विलासिता वा निजी सम्पत्तिको मर्मतभन्दा जनहितमा प्रयोग हुनुपर्ने बताएका हुन्।




