Nov 03 2026 | २०८३ कार्तिक १८ गते

थाइल्यान्डको विद्यालयमा विद्यार्थीले गोली चलाउँदा शिक्षकको मृत्यु, ४ जना घाइते

थाइल्यान्डको विद्यालयमा विद्यार्थीले गोली चलाउँदा शिक्षकको मृत्यु, ४ जना घाइते

शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौँ । थाइल्यान्डको राजधानी बैंककको उत्तरतर्फ रहेको एक विद्यालयमा शुक्रबार एक विद्यार्थीले गोली चलाउँदा कम्तीमा एक शिक्षकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। गोली चलाउने विद्यार्थीले पछि आत्महत्या गरेको अधिकारीहरूले बताएका छन्।

    नोन्थाबुरी प्रान्तीय प्रहरी प्रमुख लेफ्टिनेन्ट कर्नेल डेच्रापी कोङ्दीले रोयटर्सलाई घटनामा भएको मानवीय क्षतिको पुष्टि गरेका छन् । उनका अनुसार घाइते हुनेमा एक शिक्षक र तीन विद्यार्थी रहेका छन् । गोली चलाउने व्यक्ति पनि सोही विद्यालयका विद्यार्थी रहेको प्रहरीले जनाएको छ।

    images

    घटना बैंककको बाहिरी क्षेत्रमा पर्ने नोन्थाबुरी प्रान्तको बाङ क्रुई जिल्लास्थित देब्सिरिन नोन्थाबुरी विद्यालयमा भएको हो।घटनापछि आपत्कालीन उद्धारकर्मीहरू विद्यालय पुगेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरूमा विद्यार्थीहरू विद्यालयबाट बाहिर निस्किरहेको र विद्यालय परिसरबाहिर एम्बुलेन्स तथा उद्धारकर्मीहरू परिचालन भएको देखिन्छ।

    एक तस्बिरमा एक व्यक्तिलाई एम्बुलेन्स बाहिर स्ट्रेचरमा राखिएको देखिएको छ भने अर्का घाइतेलाई स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन्।जिल्ला प्रशासनका अनुसार सन् २०२५ को शैक्षिक वर्षमा उक्त विद्यालयमा करिब ३,१०० विद्यार्थी र १४७ शिक्षक थिए।

    थाइल्यान्डमा विद्यालयमा गोली चलाइएको यो पछिल्लो घटना हो। यसअघि फेब्रुअरीमा दक्षिणी थाइल्यान्डको हात याई जिल्लास्थित एक विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा एक शिक्षकको मृत्यु भएको थियो भने एक विद्यार्थी घाइते भएका थिए।

    प्रहरीले शुक्रबारको घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । गोली चलाउनुको कारण र विद्यार्थीले हतियार कसरी प्राप्त गरे भन्ने विषयमा तत्काल विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार