Nov 03 2026 | २०८३ कार्तिक १८ गते

३२ औँ विश्व आदिवासी दिवसको तयारी पूरा

३२ औँ विश्व आदिवासी दिवसको तयारी पूरा

बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघले ३२ औँ विश्व आदिवासी दिवसको तयारी पूरा भएको जानकारी दिएको छ। महासंघले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको जानकारी गराएको हो।संयुक्त राष्ट्रसंघको घोषणा बमोजिम प्रत्येक वर्ष अगस्ट ९ तारिखमा विश्वभर आदिवासी दिवस मनाउने गरिन्छ।

    महासंघले यस वर्षको आदिवासी दिवस ‘प्राप्त अधिकार रक्षा आजको आवश्यकता! पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता!!’ भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको महासंघका महासचिव विमल सारु मगरले जानकारी दिए। संविधानले परिकल्पना गरेको समावेशी लोकतन्त्र, सामाजिक न्याय तथा समान अवसरको मर्मअनुसार आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु हालको आवश्यकता रहेको उनले बताए।

    images

    उनका अनुसार विश्व आदिवासी दिवसको अवसरमा साउन २४ गते देशभरका आदिवासी तथा जनजातिहरू आफ्नो मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, लोकगीत तथा परम्परागत नृत्यसहित काठमाडौँको भृकुटीमण्डपमा सहभागी हुनेछन्। भृकुटीमण्डपबाट र्यालीसहित भद्रकाली, सहिदगेट, सुन्धारा, वीर अस्पताल लगायतका मुख्य सडकको परिक्रमा गरी टुँडिखेलस्थित खुला मञ्चमा पुगेर मूल समारोहमा परिणत हुनेछ।

    मूल समारोहको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्ने कार्यक्रम रहेको छ। मूल समारोहमा आदिवासी जनजातिहरूको मौलिक सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिने महासचिव मगरले जानकारी दिए। यस्तै मौलिक रैथाने परिकार, परम्परागत खाद्य संस्कृति, हस्तकला र स्थानीय उत्पादन लगायतको बिक्रीवितरणसहितको प्रदर्शनी हुने उनले बताए। कार्यक्रममा विज्ञहरूसँग आदिवासी जनजातिका सवाल, अधिकार, भाषा, संस्कृति र पहिचान लगायतका विषयमा प्यानल छलफल समेत हुने महासंघले जनाएको छ।

    महासंघले मूल समारोहका साथै सप्ताहव्यापी रूपमा विविध कार्यक्रम आयोजना गर्ने जनाएको छ। आदिवासी जनजातिहरूको भाषा, संस्कृति, सभ्यता, इतिहास, परम्परागत ज्ञान, भूमि तथा प्राकृतिक स्रोतसँगको सम्बन्ध संरक्षण गर्नु राष्ट्रको साझा दायित्व भएको महासंघले बताएको छ।

    महासंघले संविधानमा व्यवस्था भएका समानुपातिक समावेशी प्रतिनिधित्व, सामाजिक न्याय, समान अवसर, मातृभाषाको संरक्षण, सांस्कृतिक अधिकार, पहिचान तथा आदिवासी जनजातिहरूको सम्मानजनक सहभागिताको पूर्ण कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार