काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा सुरक्षामन्त्री शरतसिंह भण्डारीले आफ्नो अघिल्लो कार्यकालमा निर्णय भएर थन्किएका योजनाहरुलाई अघि बढाउने बताएका छन् । सिंहदरबारमा पदभार ग्रहण गरेपछि आफूले अघि बढाएका जायज एजेन्डाहरूलाई निरन्तरता दिने उनले बताएका हुन् ।
दक्षिण कोरियामा इ–सेभन भिसामा कामदार पठाउने, इजरायल र जापानमा म्यानपावर कम्पनीमार्फत पनि कामदार पठाउन पाउने कार्यविधि मन्त्री भण्डारीले आफ्नो कार्यकालमा जारी गरेका थिए । यसैगरी पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि (पहिलो संशोधन)सहित वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि अंग्रेजी भाषा अनिवार्य गर्ने निर्णय, वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने (पहिलो संशोधन) कार्यविधि २०८० लगायतका कार्यविधि उनको कार्यकालमा जारी भएको थियो तर त्यसपछि आएका श्रममन्त्री डोल प्रसाद अर्यालले ती कार्यविधि तत्कालका लागि रोकेका थिए ।
मन्त्री भण्डारीले प्रत्येक पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रलाई ‘रोजगार हब’ बनाउन सकेको अवस्थामा लक्ष्य प्राप्त गर्न सकिने उल्लेख गर्दै आफ्नो कार्यकालमा जारी भएको कार्यविधि खारेज गरिएकोमा असन्तुष्टि जनाए । उनले ‘नाटक’ र ‘स्टन्ट’ मा विश्वास नगर्ने बताए । मन्त्री भण्डारीले सबै सरोकारवालासँग छलफल गरी सबैलाई विश्वासमा लिएर समस्याको समाधान गर्ने पनि बताए ।
०३२ सालमा ने.वि.संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका ६९ वर्षीय भण्डारी अहिलेसम्म १३ पटक मन्त्री बनिसकेका छन् ।



