Nov 04 2026 | २०८३ कार्तिक १९ गते

जोखिमपूर्ण भिरालोमा निम्सदाइसहितका शव : ‘लङलाइन’ नचल्दा उद्धारमा ढिलाइ

जोखिमपूर्ण भिरालोमा निम्सदाइसहितका शव : ‘लङलाइन’ नचल्दा उद्धारमा ढिलाइ

मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौँ । कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित अन्य आरोहीको शव संकलनमा ढिलाइ भएको छ।  विश्व पर्वतारोहण इतिहासमै बेग्लै पहिचान बनाउन सफल निम्सदाइसहित अन्य आरोहीको मृत्यु भएको पुष्टि भइसके पनि शव संकलन हुन सकेको छैन।

    विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) को क्याम्प–३ भन्दा केही तल गएको भीषण हिमपहिरोमा परी निम्सदाइ र ६ नेपाली आरोहीसहित १० जनाले ज्यान गुमाएका थिए। आरोहीहरूको शवलाई आधार शिविर (बेस क्याम्प) सम्म ल्याउन प्रतिकूल मौसम, कठिन भौगोलिक बनावट र पाकिस्तानको विशिष्ट उद्धार प्रक्रियाका कारण ढिला भएको देखिन्छ।

    images
     
    • ‘लङलाइन’ प्रविधि चलाउन समस्या

    ब्रोड पिकको खोँचमा अड्किएका शवहरू निकाल्नका लागि मुख्य बाधक काराकोरम क्षेत्रको लगातार बिग्रिरहेको मौसम बनेको छ। हिमालको माथिल्लो क्षेत्रमा निरन्तर भइरहेको भारी हिमपात, तीव्र गतिको हावा र कम भिजिबिलिटीका कारण उद्धार उडानका लागि आधार मानिने ‘लङलाइन’ प्रविधि चलाउन समस्या रहेको सगरमाथा आरोही तथा चर्चित माउन्टेन गाइड पेम्बा शेर्पाले बताए ।’

    पाकिस्तानमा रहेको उद्धार टोली (मिङ्मा जीसहितको टोली) सँग निरन्तर संवादमा रहेका शेर्पाले रातोपाटीसँग भने, ‘स्कार्दुस्थित सैन्य क्याम्पबाट ब्रोड पिकका लागि उड्ने तय भएका पाकिस्तानी सेनाका हेलिकप्टरहरू मौसमको प्रतिकूलताका कारण पटक–पटक उडान रद्द गर्न बाध्य भएका छन्। हेलिकप्टरमा डोरी झुन्ड्याएर जोखिमपूर्ण स्थानबाट शव उठाउने यो आधुनिक प्रविधि उच्च हिमाली क्षेत्रमा तीव्र हावा चल्दा र बादलले हिमाल ढाक्दा चलाउन सकिँदैन। यसले ब्रोड पिकको उद्धारमा असर पारिरहेको छ।’

    nirmal purjaz

    • हेलिकप्टर प्रयोगमा असहजता

    शेर्पाले भने, ‘नेपालमा जस्तो पाकिस्तानमा सहज रूपमा निजी कम्पनीका उद्धार हेलिकप्टरहरू उपलब्ध छैनन्। त्यहाँ निजी हेलिकप्टर छैनन्, सबै सरकारी वा सेनाको हेलिकप्टर चलाउनुपर्ने बाध्यता छ। सेनाको हेलिकप्टर उडाउनका लागि कडा प्रशासनिक अनुमति र लामो प्रक्रिया पूरा गर्नुपर्छ, जसले गर्दा अनुकूल मौसमको छोटो समय पाउनासाथ तुरुन्तै उडान भर्न सकिँदैन। तर अहिले उपलब्ध हुँदा पनि चलाउन सकिएको छैन।’

    हेलिकप्टरमार्फत शव उठाउने प्रविधिका बारेमा शेर्पाले थपे, ‘लङलाइन भनेको हेलिकप्टरबाट डोरी झुन्ड्याएर शव निकाल्ने प्रविधि हो। त्यहाँ लङलाइन उडानको अनुमति त पाइयो, तर डोरी झुन्ड्याएर शव निकाल्ने काम नेपालमा जस्तो सहज छैन। एक त त्यहाँका पाइलटहरूमा यस्तो कार्यको पर्याप्त अनुभवको कमी देखियो, अर्कोतर्फ मौसमले पनि पटक्कै साथ दिएन। हावाको तीव्र गति र भौगोलिक विकटताका कारण उद्धारको हरेक कदममा अवरोध सिर्जना भइदियो।’

    • जोखिमपूर्ण भिरालोमा अड्किए शव

    भौगोलिक दृष्टिले पनि शवहरू अड्किएका स्थानहरू अत्यन्तै जोखिमपूर्ण र खतरनाक ठाउँमा छन्। बिना अक्सिजन विश्वका १४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमालको सफल आरोहण गरिसकेका आईएफएमजीए प्रमाणित गाइड मिङ्मा जी (मिङ्मा ग्याल्जे शेर्पा) का अनुसार अधिकांश शवहरू कङ्कोर्डियातर्फ ५,००० मिटरको उचाइमा रहेको अत्यन्तै जोखिमपूर्ण भिरालो (रिस्की स्लोप) मा अड्किएका छन्।

    उद्धारका लागि पाकिस्तानमै रहेका मिङ्मा जीका अनुसार ५,००० मिटरको उचाइमा अड्किएका शवहरूमा निर्मल पुर्जा ‘निम्सदाइ’, चिनियाँ आरोही वाङ जोङ र नेपालका निमा शेर्पा रहेका छन्। यसअघि मिङ्मा जीको टोलीले नै ५,७०० मिटरको उचाइबाट चारवटा शव तानेर तल्लो भागसम्म ल्याएको थियो। 

    जसमध्ये किली पेम्बा शेर्पा (किलु) र ग्यालु शेर्पाको शवलाई अहिले हिमालको तल्लो स्थानको सुरक्षित क्षेत्रमा राखिएको छ। तर ५,००० मिटरको उचाइमा रहेका शवहरूलाई हिमपहिरोको निरन्तरको जोखिम र भिरालो भूगोलका कारण तल झार्न सकिएको छैन।

    • निम्सदाइलाई पर्खिंदै मिङ्मा जीको एक्लो टोली

    ब्रोड पिकमा गएको भयानक हिमपहिरोपछि उत्पन्न उच्च जोखिम र खराब मौसमका कारण अन्तर्राष्ट्रिय स्तरका धेरैजसो उद्धार टोलीहरू र व्यावसायिक एजेन्सीहरू फर्किसकेका छन्। तर पनि मिङ्मा जीको नेतृत्वमा रहेको नेपाली शेर्पा र स्थानीय पाकिस्तानी आरोहीहरूको टोली भने अझै घटनास्थलमै डटेर बसेको छ।

    परिस्थितिबारे जानकारी दिँदै मिङ्मा जीले भनेका छन्, ‘अन्य उद्धार टोलीहरू जोखिमका कारण फर्किसकेका छन्, यहाँ अहिले मेरो टोली मात्र बाँकी छ। तर पनि आरोहीका परिवारको पीडालाई सम्बोधन गर्दै हामीले प्रयास छाडेका छैनौँ। हेलिकप्टर उडान सम्भव नभए पैदल मार्गबाट भए पनि शव सङ्कलन गर्छौँ।’

    अल्पाइन क्लब अफ पाकिस्तानले पनि उद्धार अभियानबारे आधिकारिक वक्तव्य जारी गर्दै नेपाली शेर्पाहरूको अद्वितीय साहसको सम्मान गरेको छ। अल्पाइन क्लब अफ पाकिस्तानका अधिकारीहरूले भनेका छन्, ‘अत्यन्तै खराब मौसम र हिमपहिरोको तीव्र जोखिमका बिच पनि नेपाली शेर्पाहरू र पाकिस्तानी आरोहीहरूले आफ्नो ज्यान जोखिममा राखेर जुन साहस देखाइरहेका छन्, त्यो पर्वतारोहण इतिहासमा मानवीयताको सर्वोत्कृष्ट र अनुकरणीय उदाहरण हो। उनीहरूले आफ्ना सहकर्मी आरोहीहरूप्रति देखाएको यो समर्पणले हिमाली भ्रातृत्वको मर्मलाई जीवन्त राखेको छ।’

    • २ शव ब्रोड पिकको बेसक्याम्पमा

    अल्पाइन क्लब अफ पाकिस्तानको पछिल्लो विवरणअनुसार उद्धार टोलीहरूले अहिलेसम्म चार जना आरोहीहरूको शव पहिचान गरिसकेका छन्। जसमध्ये दुईवटा शव ब्रोड पिकको आधार शिविरसम्म पुर्‍याइएको छ भने तीनवटा शव अझै ५,००० मिटरको जोखिमपूर्ण भिरालोमै रोकिएका छन्। अर्का एक आरोहीको शव भने गहिरो खोँचमा अड्किएको छ, जहाँसम्म पुग्न हालको अवस्थामा असम्भव देखिन्छ। यसबाहेक पाकिस्तानी आरोही सोहैल सखी र अमेरिकी आरोही म्यालोरी गाइस अझै बेपत्ता छन्, जसको खोजी कार्य पनि मौसमका कारण प्रभावित भइरहेको छ।

    पाकिस्तानी सेना, अल्पाइन क्लब अफ पाकिस्तान र स्थानीय प्रशासनले हेलिकप्टरमार्फत उद्धारका लागि वातावरण मिलाउन प्रयास गरिरहेको भए पनि आकाश खुल्न नसक्दा ग्राउन्ड टिम कै भर पर्नुपर्ने बाध्यता छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार