Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सडक सञ्जालमा जोडिँदै नार्पाभूमि, मर्स्याङ्दीमा बन्यो मोटरेवल पुल

सडक सञ्जालमा जोडिँदै नार्पाभूमि, मर्स्याङ्दीमा बन्यो मोटरेवल पुल

मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौं। गण्डकी प्रदेशमा सडक सञ्जालले नछोएका २ पालिका थिए । गोरखाको चुमनुब्री र मनाङको नार्पाभूमि । गाउँपालिकाको केन्द्रसम्म अझै सडक पुगिसकेको छैन । तर, चुमनुब्री पालिकामा भने सडक पुगिसकेको छ । नार्पाभूमिमा पनि सडक लैजान पालिकाले भरमग्दुर प्रयास गरिरहेको छ । गण्डकी सरकार गठन भएकै दिन यी दुई पालिकाको केन्द्रसम्म सडक पुर्‍याउने लक्ष्य राखिएको थियो।

    पर्याप्त बजेट नदिँदा प्रदेश सरकारको प्रयास सफल भएको छैन । तर, पालिकाले आफ्नो मेहनत छोडेन । अहिले नार्पाभूमि जाने बाटोमा पर्ने मर्स्याङ्दी नदीमाथि पुल निर्माण गरिएको छ । सदरमुकाम नजिकै रहेको कोतोमा पुलन बनेपछि अब नार्पाभूमिको सीमाना नजिकसम्म मोटरबाटो पुगेको छ । गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामाले सोमबार पुलको उद्घाटन गरे।

    images

    पुल निर्माणका लागि गाउँपालिकाले लामो समयदेखि विभिन्न निकायसँग पहल गर्दै आएको थियो । नार्पा भूमि गाउँपालिका र नारखोला हाइड्रो इनर्जी प्रालिको साझेदारीमा पुल निर्माण गरिएको हो । सम्झौताको ७ महिनामै पुल तयार गरिएको निर्माण कम्पनीले जनाएको छ । करिब ६ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको पुलको  लम्बाइ ५४.५ मिटर तथा चौडाइ ४ मिटर रहेको छ । पुल ५५ टन भारवहन क्षमताको छ। 

    वर्षौँदेखि मर्स्याङ्दी वारपार गर्न स्थानीयवासीले पैदल यात्रा, अस्थायी साधन तथा जोखिमपूर्ण बाटोको भर पर्नुपर्ने अवस्था थियो । विशेषगरी वर्षायाममा आवतजावत जोखिमपूर्ण बनेको थियो । पुल सञ्चालनमा आएपछि अब गाउँपालिका केन्द्र सडक सञ्जालसँग जोड्न सहयोग पुग्ने पालिका अध्यक्ष लामाले सुनाए । ‘यो हामी सबैको सपना हो। आज सपनाको एक सिँढी चढेका छौँ,’ उनले भने, ‘अब सडक निर्माणमा धमाधम काम गर्छौँ । छिटै केन्द्रसम्म मोटरबाटो पुग्छ भन्ने विश्वास छ।’

    पालिकाले आफ्नै बजेटमा विभिन्न खण्डबाट सडक निर्माणको काम पनि गरिरहेको छ । सडक बनाउनकै लागि आफ्नै डोजर खरिद गरिएको छ । पुल सञ्चालनमा आएपछि निर्माण सामग्री, खाद्यान्न, औषधि तथा अत्यावश्यक वस्तुको ढुवानी सहज हुने विश्वास छ । नार र फु गाउँ राजा महेन्द्रले सबैभन्दा पछि पत्ता लगाएका हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार