Nov 04 2026 | २०८३ कार्तिक १९ गते

समाचार

कांग्रेस सांसदका स्वकीय सचिव बन्न के–के चाहिन्छ योग्यता ?

कांग्रेस सांसदका स्वकीय सचिव बन्न के–के चाहिन्छ योग्यता ?

मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले आफ्ना सङ्घीय सांसदहरू (प्रतिनिधिसभा र राष्ट्रियसभा) का स्वकीय सचिवहरूको नियुक्तिलाई व्यवस्थित र पारदर्शी बनाउन नयाँ कार्यविधि जारी गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले पारित गरेको ‘स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि, २०८३’ अनुसार अब सांसदका स्वकीय सचिव बन्न निश्चित शैक्षिक योग्यता, सीप र अनुभव अनिवार्य गरिएको छ ।

    कांग्रेसले सांसदहरूको संसदीय भूमिका, विधायिकी उत्तरदायित्व र जनतासँगको समन्वयलाई थप प्रभावकारी बनाउन दक्ष जनशक्ति छनोट गर्ने उद्देश्यले यो मापदण्ड ल्याएको हो ।

    images

    कार्यविधि अनुसार स्वकीय सचिव बन्नका लागि कुनै पनि विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । स्नातकमा कानून, राजनीति शास्त्र, अर्थशास्त्र, सार्वजनिक प्रशासन, पत्रकारिता, सूचना प्रविधि, आम सञ्चार, कृषि, इन्जिनियरिङ, स्वास्थ्य, र व्यवस्थापन पढेकालाई ग्राहयता दिनुपर्ने कार्यविधिमा उल्लेख छ । 

    स्वकीय सचिवका लागि आवेदन दिने व्यक्तिको उमेर कम्तीमा २१ वर्ष पूरा भएको हुनुपर्ने पनि मापदण्डमा उल्लेख छ । शैक्षिक योग्यतासँगै संसदीय प्रक्रियाका बारेमा आधारभूत जानकारी, प्रतिवेदन तयार पार्न सक्ने क्षमता, कम्प्युटर र डिजिटल उपकरणको प्रयोगमा दख्खल, सामाजिक सञ्जाल व्यवस्थापन र तथ्य जाँच गर्न सक्ने क्षमता भएकालाई सांसदहरूले स्वकीय सचिव राख्दा प्राथमिकता राख्नुपर्ने कार्यविधिमा उल्लेख छ । 

    कार्यविधिमा संसदीय वा नीतिगत अनुसन्धान गरेको, सार्वजनिक प्रशासन वा पत्रकारिता क्षेत्रमा काम गरेको, कानुनी अभ्यास वा नीति निर्माण प्रक्रिया बुझेको, स्थानीय वा प्रदेश सरकारसँग काम गरेको अनुभव भएको उल्लेख छ ।

    स्वकीय सचिव केवल प्रशासनिक सहयोगी मात्र नभई सांसदको प्रमुख सहकर्मी हुने भएकाले उनीहरूमा उच्च नैतिकता, इमानदारिता, गोपनीयता, अनुशासन र सकारात्मक सोच हुनुपर्नेछ । साथै, दबाबमा पनि संयमित भएर कार्यसम्पादन गर्न सक्ने क्षमता भएकालाई प्राथमिकतामा राख्नुपर्ने कार्यविधिमा उल्लेख छ । 

    सांसदको स्वकीय सचिव बन्न इच्छुक योग्य व्यक्तिले सम्बन्धित सांसदको सिफारिसमा संसदीय दलमा व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रहरू, ५०० शब्दमा नबढ्ने गरी आफ्नो प्रतिबद्धता पत्रसहित निवेदन दिनुपर्नेछ ।

    स्वकीय सचिवले सांसदलाई संसदीय कार्य .विधेयक अध्ययन, प्रश्न तयार गर्ने, शून्य समयको मस्यौदा तयार गर्ने), नीति अनुसन्धान, निर्वाचन क्षेत्रको जनगुनासो व्यवस्थापन, सञ्चार समन्वय (प्रेस नोट, वेबसाइट व्यवस्थापन) र कार्यालय व्यवस्थापनमा सहयोग गर्नुपर्ने उल्लेख छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार