काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा निर्मल पुर्जासहितको टोली हिमपहिरोमा परेको सूचना ११ घण्टापछि मात्रै पाएको विषयमा आलोचना सुरू भएको छ। उनीहरूको आपतकालीन उद्धार पनि नभएको आरोप लगाइएको छ।
आरोहणको अवधिमा सामान्यतः बेस क्याम्पमा रहेका कर्मचारीहरूसँग निरन्तर सम्पर्कमा रहने गरिन्छ। तर, उनीहरू हिमपहिरोमा परेको कुरा किन थाहा हुन नसकेको विषयमा सामाजिक सञ्जालमा प्रश्न उठेको हो। एक्स अकाउन्ट लुनरमा यस विषयको विस्तृत विवरण राखिएको छ। यस ह्यान्डलले नेशनल जियोग्राफीलाई उद्धृत गर्दै सूचनाहरू समावेश गरेको छ।
नेशनल जियोग्राफीका अनुसार जुलाई १९ देखि २२ सम्म ब्रोड पिकमा डोरी राख्ने काम सकिएको थियो। ३० जुलाईमा पुर्जाको उपकरण (गार्मिन ट्रयाकर)ले बिहानको ५:३३ मिनेटमा ६,१६६ मिटर (क्याम्प-२) नजिकै पुगेको देखाएको थियो। ओमानकी आरोही अल हार्थीको उपकरणले पनि लगभग उस्तै ठाउँमा पुगेको देखाएको थियो।
निर्मल ७:३० मिनेटमा ६,४३० मिटर पुगेका थिए। ९ बजे ६,६६० मिटर माथि पुगे। उनीसँग ९ बजे सम्पर्क भएको थियो। त्यसपछि भने उनको उपकरण बन्द भएको थियो।
तर, ९:२० देखि ९:३० बीचमा हिमपहिरो आएको भनिएको छ। क्याम्प २ र ३ को बीचमा हिमपहिरो आएको र उनको उपकरण ठाडो सीधै करिब दुई हजार फीट तल झरेको टेलिमेट्री (स्थान सम्बन्धी तथ्यांक)मा देखिन्छ।
लगातार ११ घण्टा बढी उपकरणले अलार्म बजाउँदा पनि बेसक्याम्पबाट कुनै प्रतिक्रिया नभएको आरोप लगाइएको छ। पाकिस्तानको द अल्पाइन क्लबले १० बजेमात्रै हिमपहिरो आएको थाहा पाएको जानकारी दिएको छ। अल्पाइन क्लबकी प्रवक्ता नैला कियानीले भनेकी छन्, ‘राति १० बजेमात्रै घटनाको बारेमा जानकारी पायौं। त्यसपछि प्रशासनलाई जानकारी दियौं। यस घटनाले हामी स्तब्ध भयौं।’ निर्मलको शव ५,७०० मिटर तल भेटिएको पनि बताइएको छ।
आरोहणको सक्रिय समयमा समेत ११ घण्टासम्म कुनै आधिकारिक जानकारी वा प्रतिक्रिया प्राप्त भएन। यस्तो जोखिमको क्षेत्रमा जाँदा प्रत्येक घण्टा रेडियोमार्फत निरन्तर सम्पर्क गर्ने अभ्यास सामान्य भए पनि यति लामो समयसम्म सम्पर्क नहुँदा सम्बन्धित पक्षहरू किन मौन बस्यो भन्ने प्रश्नको उत्तर माग गरिएको छ।
त्यस्तै हिमपहिरोमा पर्नेहरूको उद्धार टूर सञ्चालकको अनुरोधपछि मात्रै (२३ घण्टापछि) भएको भन्दै आलोचना भएको छ। घटना भएको दिन उद्धारका लागि जानसक्ने अवस्था भए पनि भोलिपल्ट मात्रै गएको भनिएको छ।
ब्रोड पिकमा २२ जुलाईदेखि भारी हिमपात सुरु भए पनि निर्मालको टिम २५ जुलाईमा बेसक्याम्पबाट हिंडेको थियो। हिमनदी विज्ञ, रिजनभक्त कायस्थले भर्खरै परेको हलुका हिउँ भएको समयमा हिमपहिरोको जोखिम उच्च हुने बताए।
एक जना हिमाल आरोही तथा लेखकले जुलाई १५ आरोहण सम्पन्न गरेर फर्किने समय भए पनि यस वर्ष ढिलासम्म अनुमति दिएकोमा अनौठो लागेको प्रतिक्रिया दिए। पाकिस्तानमा मनसुनको प्रभाव नेपालमा जस्तो नहुने भएकाले अनुमति दिएको हुनसक्ने बताए।
पाकिस्तानमा जुनदेखि अगस्टमा मौसम स्थिर हुने भएकाले हिमाल चढ्न अनुमति दिने गरिन्छ। अन्य समयमा अत्यधिक चिसोका कारण हिमाल आरोहण सम्भव हुँदैन।
‘हिउँ परेको सातदेखि महिना दिनसम्म उच्च जोखिम’
हिमाल आरोहण सुरु गर्नुभन्दा पहिला हिउँको अवस्था बुझ्नु अत्यन्त जरुरी रहेको काठमाडौ विश्वविद्यालयका प्रोफेसर तथा हिमनदी विज्ञ रिजनक्त कायस्थले बताए। कायस्थका अनुसार हिउँ परेको सातदेखि महिना दिनसम्म मात्रै भएकाले त्यस्तो समयमा हिमपहिरोको अत्यन्त जोखिम हुन्छ।
‘हिउँको एक माथि अर्को तह बनेको हुन्छ। पुरानो हिउँको थुप्रोमा थपिएको नयाँ तह कमसल र हलुको हुन्छ। त्यस्तो हिउँ धेरै दिन टिक्दैन, कायस्थले भने, ‘त्यस्तो अवस्थामा हिमपहिरो गइरहन्छ। हिमालमा हिमपहिरो निरन्तर गइरहेकै हुन्छ।’
मौसमजस्तो हिमपहिरोको बारेमा पूर्वानुमान गर्न नसकिने उनको भनाइ छ। तर, भौगोलिक अवस्था र हिउँ परेको समयले त्यसको अनुमान भने गर्न सकिने उनले बताए।
जमिन ३० देखि ४५ डिग्रीको भिरालो छ भने त्यस्तो ठाउँमा हिउँ धेरै समय टिक्दैन। बगेर गइहाल्छ। तर, समथर ठाउँमा जमेको हिउँ लामो समयसम्म टिकिरहन्छ। जोखिम पनि कम हुन्छ। जति भिरालो त्यति धेरै जोखिम हुन्छ। हिमाल आरोहणमा जाँदा त्यहाँको भौगोलिक र हिउँको अवस्था बुझ्न अत्यन्तै महत्वपूर्ण हुन्छ,' उनले भने।
कायस्थका अनुसार एकदमै भिरालो र भर्खरै हिउँ परेको छ भने आरोहण नगरेकै राम्रो हुन्छ। हिमपहिरोको क्षति, यसको गति, मात्रा र कति माथिबाट झर्यो भन्नेमा आधारित हुने उनको भनाइ छ।
'भीरालोमा हिमपहिरोको गति तीब्र हुन्छ। हिउँको मात्रा पनि धेरै भएको खण्डमा नराम्ररी क्षति पुर्याउँछ। सन् २०१४ को सगरमाथाको खुम्बु क्षेत्रमा गएको हिमपहिरो त्यस्तै क्षति गर्ने खालको थियो। त्यतिबेला हिउँको साथै बरफ पनि झरेकाले उक्त हिमपहिरोले झन् तीब्र क्षति गरेको थियो,' उनले भने। त्यतिबेला १४ जना आरोहीहरूले ज्यान गुमाएका थिए।



