काठमाडौँ। चिनियाँ प्रविधि कम्पनी अलिबाबाले सोमबार आफ्नो अहिलेसम्मकै ठुलो र सबैभन्दा सक्षम आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडल ‘क्वेन ३.८–म्याक्स’ सार्वजनिक गरेको छ।यो मोडल गत महिना प्रतिस्पर्धी कम्पनी मुनसट एआईले ल्याएको मोडलको आकारसँग मिल्दोजुल्दो छ।
विश्वभर ओपन-वेट एआई मोडलमा बलियो पकड बनाएका चिनियाँ प्रविधि कम्पनीहरू शक्तिशाली प्रणाली बनाउने प्रतिस्पर्धामा छन्। उनीहरू सञ्चालन खर्च धेरै महँगो नहुने गरी प्रविधि विकास गर्न लागिपरेका छन्।
‘क्वेन ३.८–म्याक्स’ मा २.४ ट्रिलियन पारामिटर रहेका छन्। पारामिटर भनेको मोडलले तथ्याङ्कबाट सिक्ने र उत्तरहरू तयार पार्न प्रयोग गर्ने प्राविधिक सूचक हो। मुनसटको ‘किमी के३’ मोडलमा २.८ ट्रिलियन पारामिटर छन्।
पारामिटरको सङ्ख्या धेरै हुँदैमा मोडल उत्कृष्ट हुन्छ भन्ने होइन, तर यसलाई उन्नत एआई प्रणाली पछाडिको कम्प्युटिङ क्षमता र तथ्याङ्कको मापनका रूपमा हेरिने गरिन्छ। डेभलपरहरू माझ आफ्ना मोडल लोकप्रिय बनाउन चिनियाँ कम्पनीहरू पारामिटरको सङ्ख्या सार्वजनिक गर्न उत्सुक देखिन्छन्। उनीहरूका मोडल प्रायः ओपन-वेट हुन्छन्, जसको अर्थ अन्य डेभलपरहरूले पनि ती प्रणाली डाउनलोड गरेर चलाउन वा परिमार्जन गर्न सक्छन्।
यसको विपरीत ओपनएआई, एन्थ्रोपिक र गुगलजस्ता कम्पनीहरूले आफ्ना क्लोज्ड-सोर्स मोडलका पारामिटर सङ्ख्या सार्वजनिक गर्दैनन्।
‘क्वेन ३.८–म्याक्स’ लाई एआई मोडलहरूको तुलना गर्ने प्लेटफर्म ‘एरिना डट एआई’ मा सार्वजनिक गरिएको थियो। त्यहाँ यो टेक्स्ट मोडलतर्फ तत्कालै सबैभन्दा उच्च र्यांकमा पर्ने चिनियाँ मोडल बनेको छ। यद्यपि यो एन्थ्रोपिक कम्पनीका क्लोड फेबल ५ र क्लाउडका अन्य मोडलहरूभन्दा अझै केही पछाडि नै छ।
तस्बिर र अन्य भिजुअल सामग्रीको विश्लेषण गर्ने एआई मोडलको विश्वव्यापी सूचीमा भने अलिबाबाको यो नयाँ मोडल दोस्रो स्थानमा परेको छ। यो केवल एन्थ्रोपिकको क्लोड फेबल ५ भन्दा पछाडि छ।
अलिबाबाको यो नयाँ मोडल र मुनसटको ‘किमी के३’ दुवैले टेक्स्ट, तस्बिर र भिडियो प्रक्रिया गर्न सक्छन्। यी मोडलले एकैपटकमा १० लाख टोकनसम्म प्रशोधन गर्न सक्ने क्षमता राख्छन्। टोकन धेरै हुनुको अर्थ मोडलले ठुला कानुनी फाइल, सफ्टवेयर कोड वा सयौँ पृष्ठका दस्तावेज एकैपटक लिन सक्छ।
अलिबाबाका अनुसार यो मोडलमा ‘मिक्सचर अफ एक्सपर्ट्स’ ढाँचा प्रयोग गरिएको छ। यसले प्रत्येक अनुरोधका लागि सिङ्गो मोडल सक्रिय बनाउनुको सट्टा विशेष भागहरूमा काम विभाजन गर्छ। एकपटकमा ९५ अर्ब पारामिटर मात्र प्रयोग हुने भएकाले यसले लागत र प्रतिक्रिया दिने समय घटाउँछ।
कम्पनीका अनुसार यो मोडलले १६ दिनमा एउटा सफ्टवेयर इन्जिनियरिङ परियोजना पूरा गरेको थियो। ‘क्वेन ३.८–म्याक्स’ मोडल आउँदो हप्ता अलिबाबा क्लाउडको मोडल स्टुडियो प्लेटफर्ममार्फत सार्वजनिक हुने तय भएको छ।



