काठमाडौँ । नेपाली कांग्रेसका सांसद युवराज शर्माले स्थापित राजनीतिक दल र नेतृत्वलाई बिर्सिएर अचानक उदाएका शक्तिहरूबाट मुलुकको रूपान्तरण सम्भव नहुने बताएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले बिपी कोइराला, गणेशमान सिंह र पुष्पलाल जस्ता नेताहरूले त्याग गरेर निर्माण गरेको लोकतान्त्रिक जगलाई नजर अन्दाज गर्न नमिल्ने बताए।
सांसद शर्माले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट उदाएका नयाँ राजनीतिक दल र नेतृत्वप्रति लक्षित गर्दै भने–‘अकस्मात् धुरन्धर बनेर उदाएकाहरूको परीक्षण नागरिकले मतदानमार्फत गरिसकेका छन्। त्यसको प्रारम्भिक नतिजा देखिइसकेको छ, अन्तिम नतिजा हेर्न केही समय कुर्नैपर्छ।’ शर्माले इतिहास र त्यागको जग नभएका शक्तिहरूले दिगो परिवर्तन ल्याउन नसक्ने दाबी गरे।
सांसद शर्माले वर्तमान सरकारले लोकतान्त्रिक विधि र कानुनी प्रक्रियालाई मिचेर निर्णय गर्ने गरेको आरोप लगाए।सरकारका कतिपय निर्णयहरू अदालतबाट बदर हुनुले सरकारको असफलता पुष्टि गर्ने उनको तर्क थियो।‘हिजोकै जस्तो लोकतान्त्रिक विधि मिच्ने कार्य भइरहेको छ, जसका कारण सरकारले पटक–पटक न्यायालयबाट थप्पड खाइरहेको छ,’ उनले भने।
सांसद शर्माले राजनीतिक दलका नेताहरूमा देखिएको धार्मिक चासोको समेत आलोचना गरे । ‘जब कांग्रेसका नेताले घरभित्र गरेको पूजा सार्वजनिक गर्छन् र कम्युनिस्ट नेताले पशुपतिनाथमा सवा लाखको पूजा गर्छन्, तब म विचलित हुन्छु,’ उनले भने।
सरकारले सुशासन र जनजीविकाका सवालमा काम गर्न नसकेको भन्दै उनले राहदानी विभागको भीड, किसानले मल र उब्जनीको मूल्य नपाएको अवस्था र बढ्दो महँगीबारे सरकारको ध्यानाकर्षण गराए । नेपाल ‘सम्पत्ति शुद्धीकरण’को ग्रे–लिस्टमा पर्नु र सङ्गठित अपराधका आरोपीलाई उन्मुक्ति दिने प्रयास हुनुले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धमिलिएको उनको भनाइ थियो।



