काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खानी तथा भूगर्भ विभागमा कार्यरत जियोलोजिष्ट गौतम प्रसाद खनालसँग १५ दिनभित्र सफाइ पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ । लामो समयदेखि बिना सूचना कार्यालयमा अनुपस्थित रहेपछि मन्त्रालयले उनीविरुद्ध विभागीय कारबाही प्रक्रिया अगाडि बढाउँदै स्पष्टीकरण माग गरेको हो।
नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूहका रा.प. तृतीय (प्राविधिक) पदमा कार्यरत जियोलोजिष्ट खनाल (कर्मचारी संकेत नं. २०१२९४) मिति २०८२ साउन ९ गतेदेखि हालसम्म बिना सूचना लगातार अनुपस्थित रहँदै आएका छन्।
मन्त्रालयको साउन १४ गतेको सचिवस्तरीय निर्णय अनुसार साउन १६ गते सार्वजनिक सूचना जारी गर्दै निजामती सेवा ऐन, २०४९ को दफा ६६ बमोजिम १५ दिनको म्याद दिइएको छ । सूचनामा खनाललाई के–कति कारणले लगातार ९० दिनभन्दा बढी अनुपस्थित हुनुपरेको हो, सोको स्पष्ट कारण र प्रमाणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र मन्त्रालयमा सफाइ पेस गर्न निर्देशन दिइएको छ।
तोकिएको म्यादभित्र सन्तोषजनक सफाइ पेस नगरेमा निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (छ) को कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने चेतावनीसमेत मन्त्रालयले दिएको छ।



