Nov 04 2026 | २०८३ कार्तिक १९ गते

दाह्रा काटिएपछि ‘ध्रुर्वे’ निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा निगरानी गर्दै उच्च सतर्कता

दाह्रा काटिएपछि ‘ध्रुर्वे’ निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा निगरानी गर्दै उच्च सतर्कता

सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ । बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती ध्रुर्वे दाह्रा काटिएपछि पनि निकुञ्ज भित्रै बस्ने गरेको छ । जनधनको क्षति पु¥याएपछि ध्रुर्वेलाई नियन्त्रणमा लिएर गत असार ३१ गते चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुखिभार पोष्ट नजिक दुईवटै दाह्रा काटिएको थियो ।

    सो हात्तीका शरीरमा नयाँ ‘रेडियो कलर’ जडान गरिएको थियो । निकुञ्जका संरक्षण अधिकृत प्रवीन पौडेलका अनुसार दाह्रा काटिएपछि ध्रुर्वे निकुञ्जभित्र नै बस्दै आएको छ । सो हात्ती आइतबार बिहान माडीको अमेलिया कृषि फर्म पुगेको स्थानीयवासीले जनाएका छन् । यो क्षेत्र निकुञ्जसँग जोडिएको रिउखोला आडमा पर्दछ । त्यसबाहेक बस्ती पसेर दुःख नदिएको जनाइएको छ । ध्रुर्वेको १०-१० मिनेटमा अनुगमन गरिएको छ ।

    images

    निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएको नेपाली सेनाको ‘अप्रेसन युनिट’ले सो हात्तीको १०-१० मिनेटको सूचना लिइरहेको छ । बस्ती नजिकको निकुञ्जको भागमा पुगेको समयमा निकटका बस्तीका बासिन्दालाई सो सूचना प्रवाह गर्ने गरिएको छ । संरक्षण अधिकृत पौडेलले भने, “कुनै पनि समयमा ध्रुर्वे बस्ती पस्न सक्ने भएकाले तयारी अवस्थामा रहेका छौँ । हात्तीलाई डार्ट गर्ने क्रममा चढाइएको औषधिले केही समय शिथिल बनाउने भएकाले पहिलाको जस्तो अवस्थामा अहिले ध्रुर्वे छैन । यसको भरोसा नहुने भएकाले निकुञ्ज प्रशासन चनाखो भएको छ ।”

    पच्चीस जना मानिसको ज्यान लिएको धुर्वे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेपछि उसको गतिविधिमा पनि कमी आएको हो । चौथो पटक ध्रुर्वेको दाह्रा काट्ने र रेडियो कलर जडान गर्ने काम गरिएको हो । हात्ती बस्ती पसेको सूचना आएमा तुरुन्तै मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय, स्थानीय टोल लगायतलाई सूचना दिने र सँगै निकुञ्ज सुरक्षा निकायको गस्ती स्थलगत पुगेर निकुञ्जतर्फ धपाउने गरी तयारी गरिएको उनले बताए। हात्तीले गत असार २० गते राति एकैपरिवारका दुई जनाको ज्यान लिएको थियो ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार पुनः यो किसिमको घटना हुन नदिन उच्च सतर्कता अपनाइएको छ । यो हात्तीलाई बथानबाट लखेटिएका कारण बस्ती आएको अनुमान गरिएको उहाँले बताउनुभयो । पहिले बथानमा रहँदा हिँड्ने माडीको धोवा, तमोरताल, खोरियामुहान र देउराली क्षेत्रमा अहिले पनि हात्ती जाने गरेको छ ।

    हात्तीले विसं २०७४ मा सेनानी लाई आक्रमण गरेर मारेको थियो । निकुञ्जमा सबैभन्दा बढी मान्छे मार्ने हात्तीका रुपमा परिचित ध्रुर्वेले विसं २०६८÷६९ ताका दैनिक जसो मान्छेको ज्यान लिन थालेपछि विसं २०६९ को पुस १ गते चितवनका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले हात्ती मार्न आदेश दिएको थियो । तर, यो हात्ती सेनाको गोलीबाट बच्दै आएको छ । ध्रुर्वे हात्ती २०६९ सालको कात्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै चार जनाको लगातार ज्यान लिएपछि मार्ने निर्णय गरिएको थियो । निकुञ्जमा रोनाल्डो, गोविन्दे, धुर्वे लगायतका मत्ता छन् । प्रमुख संरक्षण अधिकृत पुनका अनुसार निकुञ्जभित्र ४५ देखि ५० हात्ती छन् । यिनै हात्तीमध्येबाट निकुञ्ज भित्रका हात्तीलाई प्रजनन गराइन्छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार