Nov 04 2026 | २०८३ कार्तिक १९ गते

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापनमा अन्योल, समय सकिए पनि समिति अनिर्णित

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापनमा अन्योल, समय सकिए पनि समिति अनिर्णित

सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ। नेपाली कांग्रेसको आन्तरिक विवादका कारण क्रियाशील सदस्यता व्यवस्थापन कार्य अन्योलमा परेको छ । महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित क्रियाशील सदस्यता व्यवस्थापन समितिले तोकेको समयसीमा समाप्त भइसक्दा पनि थप निर्णय लिन नसक्दा समिति ‘अनिर्णयको बन्दी’ बनेको हो।

    यसअघि साउन ११ गते विज्ञप्ति जारी गर्दै समितिले साउन १४ गतेभित्र वडा समितिले क्रियाशील सदस्यता स्वीकृत गरिसक्नुपर्ने समयसीमा तोकेको थियो । साउन १८ गते भइसक्दा पनि न म्याद थपिएको कुनै सूचना आएको छ, न त सदस्यता स्वीकृतिको प्रक्रिया सकिएको घोषणा नै गरिएको छ।

    images

    समितिका सदस्य एवं सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार साउन १४ गतेसम्मको म्यादपछि कुनै नयाँ निर्णय हुन सकेको छैन । ‘पार्टीभित्र क्रियाशील सदस्यतालाई लिएर केही राजनीतिक विवाद छ । यो राजनीतिक विषय भएकाले अन्तिम समयसम्म पनि सबैलाई सहभागी गराएर १५औँ महाधिवेशन अन्तर्गतका अधिवेशनहरू सम्पन्न गर्ने लक्ष्य छ । त्यसैले अहिले नै बन्द नगरिएको हो,’ चौधरीले भने।

    कांग्रेसभित्रको यो विवादको जरो गत पुस मसान्तमा भएको विशेष महाधिवेशनसँग जोडिएको छ।तत्कालीन केन्द्रीय समितिको असहमति र विवादका बिच सम्पन्न विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको थियो।

    यद्यपि, १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका नेताहरूले विशेष महाधिवेशनलाई मान्यता दिए पनि त्यो महाधिवेशनपछि बनेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले गरेको क्रियाशील सदस्यता डिजिटली अध्यावधिक गर्नै पर्ने निर्णयलाई मानेका छैनन् । उनीहरूले आफू निकटका कार्यकर्ताहरूको सदस्यता नवीकरण पुस मसान्तभित्रै भइसकेको दाबी गर्दै डिजिटली अध्यावधिकलाई अनिवार्य गर्न नहुने बताइरहेका छन् । अनिवार्य गर्ने भए केन्द्रीय कार्यालयबाट स्वतः गरिनुपर्ने उनीहरूको तर्क छ।

    विशेष महाधिवेशनपछि बनेको नयाँ केन्द्रीय समितिले क्रियाशील सदस्यतालाई ‘डिजिटली अध्यावधिक’ अनिवार्य रूपमा गर्नुपर्ने  निर्णय गरेको थियो । तर, देउवा र कोइराला समूहले यो प्रक्रियालाई अस्वीकार गरेपछि विवाद बढ्दै गइरहेको छ।

    समितिले ठोस निर्णय लिन नसक्दा तल्लो तहका कार्यकर्ता र वडा समितिहरूमा पनि अन्योल बढेको छ । राजनीतिक सहमति नभई समितिले प्रक्रिया अगाडि बढाउन नसक्ने भएपछि कांग्रेसको आगामी महाधिवेशनको कार्यतालिकासमेत प्रभावित हुने सम्भावना बढेको छ । कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । त्यसमा देउवा, कोइराला समूह सहमत छैन।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार