काठमाडौँ। नेपाल प्रहरीले तीन महिनाको अवधिमा देशभरबाट ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ।प्रहरीले गत वैशाख १ गतेदेखि असार मसान्तसम्मको अवधिमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौँ उपत्यकाबाट ५ सय ११ जना, कोशी प्रदेशबाट ७ सय १३ जना, मधेश प्रदेशबाट २ सय ५५ जना, बागमती प्रदेशबाट ४ सय २८ जना, गण्डकी प्रदेशबाट १ सय ८९ जना, लुम्बिनी प्रदेशबाट ५ सय ११ जना, कर्णाली प्रदेशबाट १ सय २१ जना, सुदूरपश्चिम प्रदेशबाट ४ सय ५७ जना र लागूऔषध नियन्त्रण ब्युरोबाट १ सय ३१ जना रहेका छन्।
सो अवधिमा प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषधसमेत बरामद गरेको छ। प्रहरीले ८ हजार ६ सय ३२ किलो ६ सय ८३ ग्राम ६ सय ९१ मिलिग्राम गाँजा, ३१ किलो १ सय ६८ ग्राम ६ सय ७१ मिलिग्राम चरेस, ५ किलो ७ सय ९२ ग्राम १ सय २० मिलिग्राम कोकिन, ११ किलो ८ सय ९४ ग्राम १ सय ६५ मिलिग्राम हेरोइन, १ सय २७ किलो १ सय ६० ग्राम १ सय ३७ मिलिग्राम अफिम र २१ किलो ६ सय ४६ ग्राम पोलेन बरामद गरेको छ।
यस्तै ९ लाख ७६ हजार ६ सय २६ ट्याब्लेट ट्रामाडोल, १९ हजार १ सय १० ट्याब्लेट नाइट्राभेट, ३३ हजार ३ सय ९ ट्याब्लेट स्पास्मो, ९ हजार ५ सय ५३ एम्पुल डाइजेपाम, १६ हजार ६ सय ५४ एम्पुल फेनारगन र ८ हजार १ सय ३० एम्पुल बुप्रेनोर्फिन बरामद गरिएको प्रहरीले जनाएको छ।
लागूऔषध कारोबारलगायत आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी खरो रूपमा प्रस्तुत भइरहेको छ। सबै प्रहरी कार्यालयहरूले यस्ता गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखेर कार्य गरिरहेका छन्। प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागूऔषधको उत्पादन, ओसारपसार र प्रयोगबाट पर्ने नकारात्मक असरबारे विभिन्न जनचेतनामूलक कार्यक्रमहरूसमेत सञ्चालन गर्दै आएको छ।



