काठमाडौँ । मोरक्कोका राजा मोहम्मद छैटौँले राजगद्दी आरोहण गरेको २७ औँ वार्षिकोत्सव (राष्ट्रिय दिवस) को अवसरमा नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूतको कार्यालयले आइतबार विशेष समारोह तथा विविध कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको शुभारम्भ आइतबार बिहान महावाणिज्यदूतको कार्यालय थापाथली, काठमाडौंमा झण्डोत्तोलन समारोहको आयोजना गरियो।
समारोहमा प्रमुख अतिथि नेपालका लागि मोरक्को अधिराज्यका राजदूत मोहम्मद मलिकी र नेपालका लागि मोरक्को अधिराज्यका महावाणिज्यदूत मेघा चौधरीले राष्ट्रिय झण्डा फहराउँदै कार्यक्रमको शुभारम्भ गरे । सोही अवसरमा मोरक्को अधिराज्य र नेपालको राष्ट्रिय गान प्रस्तुत गरियो।
कार्यक्रममा परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, व्यवसायी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
सो अवसरमा महावाणिज्यदूत मेघा चौधरीले राजा मोहम्मद छैटौँप्रति हार्दिक शुभकामना व्यक्त गर्दै उनको सुस्वास्थ्य, दीर्घायु तथा मोरक्को अधिराज्यमा निरन्तर शान्ति, समृद्धि र उन्नतिको कामना गरिन् । उनले नेपाल र मोरक्कोबीच रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदान–प्रदानका माध्यमबाट अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरिन्।
मोरक्कोले हरेक वर्ष जुलाई ३० लाई वर्तमान राजा मोहम्मद छैटौँले राजगद्दी आरोहण गरेको दिनको सम्झनामा राष्ट्रिय दिवसका रूपमा राष्ट्रिय महत्वका साथ मनाउने गर्दछ । यो दिवसलाई मोरक्कोको राष्ट्रिय एकता, स्थायित्व र विकासप्रतिको प्रतिबद्धताको प्रतीक मानिन्छ।
सो अवसरमा नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूतको कार्यालयद्वारा विशेष प्रदर्शनी तथा विशेष समारोह पनि आयोजना गरिएको छ।
मोरक्कोको समृद्ध सांस्कृतिक सम्पदा, इतिहास तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो । ललितपुरको द प्लाजामा हुने प्रदर्शनी आज (आइतबार) साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा अवलोकनका लागि प्रवेश शुल्क लाग्नेछैन

प्रदर्शनीमा मोरक्कन परिकार, परम्परागत माटोका सामग्री (पोटरी), मोरक्कन शैलीको सजावट, पर्यटनसम्बन्धी जानकारी तथा ट्राभल डेस्क रहेका छन्।
मोरक्कोको संस्कृति, कला र पर्यटनलाई नेपालीमाझ परिचित गराउन र दुई देशबीचको सांस्कृतिक तथा जनस्तरीय सम्बन्धलाई सुदृढ बनाउन कार्यक्रमको आयोजना गरिएको नेपालका लागि मोरक्को अधिराज्यका अवैतनिक महावाणिज्यदूत मेघा चौधरीले जानकारी दिइन्।
‘यो प्रदर्शनी मोरक्कोको कला, संस्कृति र पर्यटनलाई नेपालीमाझ परिचित गराउने थलो मात्र नभएर नेपाल र मोरक्कोबीचको द्विपक्षीय सम्बन्ध, सहकार्य, व्यापार तथा पर्यटकीय आदानप्रदानलाई थप मजबुत बनाउनेछ भन्ने विश्वास लिएको छु,’ महावाणिज्यदूत मेघा चौधरीले भनिन्।
यसैगरी, आइतबार साँझ मोरक्को र नेपालको पर्यटन तथा संस्कृतिका विषयमा विशेष संवाद कार्यक्रम तथा विशेष समारोहको पनि आयोजना गरिएको छ । सो अवसरमा मोरक्को कला, संस्कृति झल्किने विशेष डकुमेन्ट्री प्रस्तुत गरिनेछ।

बीएलसी ग्लोबल होल्डिङ्ग्स प्रालिकी सह–अध्यक्षसमेत रहेकी मेघा चौधरी गत फागुनमा नेपालका लागि मोरक्को अधिराज्यको अवैतनिक महावाणिज्यदूतमा नियुक्त भएकी थिइन्।
महावाणिज्यदूतमा नियुक्त भएदेखि उनले दुई देशबीचको कूटनीतिक सम्बन्ध, संस्कृति, पर्यटन तथा व्यापार विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन्।
महावाणिज्यदूत मेघा चौधरीकै पहलमा नेपाल र मोरक्को अधिराज्यबीचको आवागमनलाई सहज बनाउन भिसा आवेदन प्रक्रियामा सुधार गरिएको छ।
नेपालीहरूले नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूतको कार्यालयबाट सिफारिस पत्र लिएर भिसा आउटसोर्सिङ एजेन्सी भीएफएस ग्लोबलमार्फत भिसाका लागि आवेदन दिन र भिसा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।यो व्यवस्थाले भिसा प्रक्रियाका लागि नेपालीहरू भारत जानु नपर्ने व्यवस्था मिलाइएको छ।



