काठमाडौं । नेपालमा नीतिगत अस्थिरताले समग्र अर्थतन्त्रमा ठूलो र नकारात्मक असर पार्ने गरेको एक अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले हालै प्रकाशित गरेको एक कार्यपत्रले यस्तो देखाएको हो।
'म्याक्रोइकोनोमिक इफेक्ट्स अफ इकोनोमिक पोलिसी अनसर्टेन्टी: एभिडेन्स फ्रम नेपाल' नामक उक्त कार्यपत्रले बारम्बार परिवर्तन भइरहने सरकारी नीति, बजेट र मौद्रिक नीतिको अन्यौलताले अर्थतन्त्रमा प्रभाव पारेको अध्ययनको निष्कर्ष छ।
राष्ट्र बैंकका अनुसन्धाताहरू वीरेन्द्र बहादुर बुढा, रोहन ब्यन्जनकार र स्वस्तिक नेपालले सन् २०११ देखि हालसम्मको अवधिलाई समेटेर नेपालमा नीतिगत अनिश्चितताको मापन गरेका थिए । अध्ययनले नीतिगत अस्थिरता वा अनिश्चितता बढ्दा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी), सेयर बजार, निजी क्षेत्रमा जाने कर्जा र आयातमा भारी गिरावट आउने निष्कर्ष निकालेको छ।
कसरी मापन भयो अनिश्चितता ?
अध्ययनकर्ताहरूले नीतिगत अनिश्चितता मापन गर्न गुगल ट्रेन्ड्सको नवीन विधिको प्रयोग गरेका छन्। जब अर्थतन्त्रमा कुनै नीतिगत परिवर्तन हुने हल्ला चल्छ वा संकट आउँछ, तब आम मानिस, लगानीकर्ता र व्यवसायीहरूले इन्टरनेटमा त्यसबारे बढी सर्च गर्न थाल्छन्।
अध्ययनमा अर्थतन्त्र, बजेट, मौद्रिक नीति, कर, ब्याजदर जस्ता ५६ वटा (विस्तारित रूपमा २०१ वटासम्म) आर्थिक शब्दहरूको गुगल सर्च भोल्युमलाई आधार मानेर गुगल ट्रेन्ड्स अनसर्टेन्टी इन्डेक्स (जीयूआई) तयार पारिएको थियो। मानिसहरूले यी विषयमा जति धेरै इन्टरनेटमा खोजी गर्छन्, अर्थतन्त्रमा उति नै धेरै अनिश्चितता छाएको मानिन्छ।
अध्ययनले नेपालमा विशेषगरी सरकारले बजेट र राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति सार्वजनिक गर्ने समयमा सबैभन्दा धेरै आर्थिक नीतिगत अनिश्चितता बढ्ने गरेको देखाएको छ । यसबाहेक सन् २०२२ अप्रिलमा नेपालको विदेशी मुद्रा सञ्चिति ऐतिहासिक रूपमा घट्दा पनि उच्च अनिश्चितता देखिएको थियो।
समग्र अर्थतन्त्रमा अनिश्चितताको असर
कार्यपत्रले नीतिगत अनिश्चितता बढेको खण्डमा समग्र अर्थतन्त्र खुम्चिने अवस्था सिर्जना हुने निष्कर्ष निकालेको छ । यसले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पार्ने प्रभावका बारेमा समेत कार्यपत्रमा उल्लेख गरिएको छ।
१. सेयर बजारमा तत्कालै कडा झड्का
नीतिगत अनिश्चितताको सबैभन्दा छिटो र प्रत्यक्ष असर नेपालको सेयर बजार (नेप्से) मा पर्ने गरेको अध्ययनले देखाएको छ।जब बजारमा कुनै आर्थिक नीति परिवर्तनको हल्ला वा अनिश्चितता सिर्जना हुन्छ, पुँजी बजारका लगानीकर्ताहरू आत्तिने वा पर्ख र हेरको अवस्थामा पुग्छन् । गुगल इन्डेक्समा अनिश्चितताको स्तर एक विन्दुले बढ्दा नेप्से सूचक तत्कालै करिब ५ प्रतिशतले घट्ने र यसको उच्चतम असर पर्दा सूचक १० प्रतिशतसम्मले ओरालो लाग्ने गरेको तथ्यांकले देखाएको छ।
यसले नेपाली पुँजी बजारका लगानीकर्ताहरू नीतिगत झट्काप्रति अत्यन्तै संवेदनशील रहेको पुष्टि गर्छ । यद्यपि, छोटो समयको गिरावटपछि बजारले फेरि पुरानै लय समात्ने गरेको पनि अध्ययनमा उल्लेख छ।
२. आर्थिक वृद्धिमा संकुचन
नीतिगत अस्थिरताले तत्कालै भन्दा पनि केही समयपछि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा नकारात्मक असर पार्छ । नीतिगत अन्योलताको झड्का लागेको दोस्रो त्रैमासदेखि जीडीपी खुम्चिन थाल्छ र चौथो त्रैमाससम्म यसको असर रहिरहन्छ।अनिश्चितता बढ्दा अर्थतन्त्रको विस्तार अधिकतम २ प्रतिशतसम्मले घट्ने निष्कर्ष निकालिएको छ । मानिसहरूले खर्च गर्न डराउने र उत्पादकहरूले उत्पादन कटौती गर्ने हुनाले समग्र माग घट्न गई आर्थिक वृद्धि सुस्त हुन्छ।
३. निजी क्षेत्रतर्फको कर्जा प्रवाहमा कमी
नीति नियम कस्तो आउने हो वा भइरहेको नीति कतिन्जेल टिक्ने हो भन्ने यकिन नहुँदा व्यवसायीहरूले नयाँ लगानीका योजनाहरू स्थगित गर्छन्।जसका कारण बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जाको माग घट्छ।
अध्ययनअनुसार अनिश्चितता बढेको तेस्रोदेखि छैटौं त्रैमाससम्म कर्जा प्रवाहमा सुस्तता आउँछ । यस्तो अवस्थामा निजी क्षेत्रको वास्तविक कर्जा करिब ५ प्रतिशतले घट्ने गरेको पाइएको छ।
४. आयातमा भारी गिरावट
अर्थतन्त्रमा नीतिगत अनिश्चितता छाउँदा उपभोक्ताको मनोबल खस्किन्छ।मानिसहरूले विलासिताका र अन्य वस्तुहरूको उपभोग घटाउँछन् भने व्यवसायीले पनि स्टक राख्न चाहँदैनन्।यसको सोझो असर वैदेशिक व्यापारमा पर्छ।अनिश्चितताको पारो बढ्दा नेपालको वास्तविक आयात १५ प्रतिशतसम्मले ओरालो लाग्ने अध्ययनको निष्कर्ष छ।
५. मूल्यवृद्धिमा भने नगन्य असर
आर्थिक मन्दी, जीडीपीमा गिरावट र बजारमा मागको कमी आए पनि नीतिगत अनिश्चितताले उपभोक्ता मूल्य सूचकांक अर्थात् मूल्यवृद्धिमा भने खासै ठूलो र तथ्यांकीय रूपमा महत्त्वपूर्ण असर नपार्ने अध्ययनले देखाएको छ।



