Oct 28 2026 | २०८३ कार्तिक १२ गते

जापानको चिबामा पनि खुल्यो नेपाली स्कुल

जापानको चिबामा पनि खुल्यो नेपाली स्कुल

मंगलवार, बैशाख ४ २०८१
  • टोकियो । जापानमा बस्ने नेपालीहरुको आवश्‍यकता र चाहनालाई लक्षित गर्दै जापानको चिबा क्षेत्रमा नयाँ नेपाली स्कुल खोलिएको छ। जापान नेपालीहरुको प्रमुख वैदेशिक गन्तव्यमध्ये एक भएसँगै त्यहीँ पढाइ, काम र व्यवसाय गरेर जीवन नै बिताउने नेपालीहरुको संख्या बढेको छ।

    उनीहरुका सन्तानहरुलाई नेपाली भाषा र संस्कृतिसँग नजिक राख्दै अन्तराष्ट्रियस्तरको शिक्षा दिने उद्देश्यले उक्त स्कुल खोलिएको स्कुलका निर्देशक डिलाराम खरेलले जानकारी दिए। जापानमा आएर स्थापित नेपाली व्यवसायी खरेलको नेतृत्वमा चिब प्रिफेक्चर, साकुरा सिटीमा नाबेयमा-चो ८०-२ मा  गोर्खा पिक इन्टरनेशनल स्कुल खुल्न लागेको हो। जसको गत सरस्वती पूजा (श्रीपञ्चमी)देखि शुभ अक्षराम्भ भइसकेको छ।

    images

    आगामी अप्रिलमा औपचारिक रुपमा नियमित पठन-पाठन थालिने स्कुलका निर्देशक खरेलले जानकारी दिएका छन्। उनका अनुसार हाललाई नर्सरीदेखि कक्षा ३ सम्म पठनपाठन हुनेछ। हरेक वर्ष एक तहको पढाइ थप गर्दै कक्षा १२ सम्म पुर्‍याइने उनले बताए।

    त्यो क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुले आफ्‍ना सन्तान पढाउन समस्या भएको बताएपछि आफूहरुले स्कुल खोलेको निर्देशक खरेल बताउँछन्। उनले भने,  ‘जापानमा भइरहने नेपालीहरुका जमघटमा केइसेइ साकुरा क्षेत्रमा नेपाली स्कुल भएमा आफ्ना सन्तान पढाउन पाउने थियौं भन्ने कुरा त्यहाँ बस्ने नेपालीहरुबाट सुनिरह्यौं। आफ्नै समुदायका लागि र नेपाली भाषा र संस्कृतिका लागि काम गर्ने अवसरका रुपमा हामीले यसलाई लियौं। शिक्षा बच्चाको भविष्य हो। उनीहरुमा नेपालीपन कायम राख्दै विश्वस्तरीय जनशक्ति बनाउने लक्ष्य हामीले लिएका छौं।’

    गोर्खा पिक स्कुलको आगामी अप्रिलको ३ तारिख बुधबार उद्घाटन गर्ने तयारी गरिएको स्कुलकी प्रिन्सिपल दुर्गा पौडेलले जानकारी गराइन्। स्कुलमा नेपाली, अंग्रेजीका साथै जापानीज भाषासमेत पढाइ हुने उनले बताइन्। प्रिन्सिपल पौडेलले थपिन्,  ‘तीनवटा भाषामा दक्ष बनाउने हाम्रो लक्ष्य छ। विश्वस्तरका लागि अंग्रेजी, मातृभूमि र भाषा बिर्सिन नदिन नेपाली र बसोबास गरिरहेको ठाउँका लागि जापानिज भाषा सिकाउनेछौं। शिक्षासँगै भाषा, संस्कृति, संस्कार परम्परासँग पनि बच्चाहरुलाई जोड्नेछौं।’

    उच्च गुणस्तरीय शिक्षाका लागि शैक्षिक सल्लाहकारका रुपमा काठमाडौंमा युनिभर्सिटीका एसिस्टेन्ट फ्रोफेसर डा सिद्धार्थ ढुंगानालाई राखिएको छ। बच्चाको स्वास्थ्यमा आउने समस्याको तुरुन्तै प्राथमिकता उपचार र सल्लाहका लागि बालरोग विशेषज्ञ डा नारायणबहादुर बस्नेत (पीएचएडी, युनिभर्सिटी अफ टोकियो) स्वास्थ्य सल्लाहकार रहेका छन्। डा बस्नेतसँग सुझाव र सल्लाह लिएर स्कुलमै कार्यरत नर्स त्रजिना जतिले बालबालिकाको स्वास्थ्य हेरचाहन गर्नेछिन्। हाल जापानमा रहेकी उनले नर्सिङमा स्नातक गरेर नेपालका अस्पतालमा १२ वर्ष काम गरिसकेकी छिन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार