Nov 04 2026 | २०८३ कार्तिक १९ गते

चालु आवलाई दूरसञ्चार रूपान्तरण वर्ष घोषणा, फाइभजी सुरुवातसँगै देशभर उच्च फोरजी सुनिश्चित गरिने

चालु आवलाई दूरसञ्चार रूपान्तरण वर्ष घोषणा, फाइभजी सुरुवातसँगै देशभर उच्च फोरजी सुनिश्चित गरिने

आइतवार, श्रावण १७ २०८३
  • काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार क्षेत्रको 'रूपान्तरणको वर्ष' घोषणा गरेको छ । यस क्षेत्रमा अभूतपूर्व सुधारका योजनाहरू अघि सार्दै सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले यस्तो घोषणा गरेका हुन् ।

    मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुक मार्फत चालु आर्थिक वर्षका लागि मन्त्रालयका प्रमुख लक्ष्यहरू सार्वजनिक गरेका छन् । जसको आधारमा यस वर्ष दूरसञ्चार क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याइने उनको दाबी छ ।

    images

    मन्त्री तिमिल्सिनाले यस वर्ष नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्ने गरी गुणस्तरीय र भरपर्दो सेवा तथा आधुनिक दूरसञ्चार पूर्वाधारको विकासमा जोड दिइने बताएका छन् । यस अभियानअन्तर्गत देशव्यापी रूपमा उच्च गुणस्तरको फोरजी सेवा सुनिश्चित गर्ने र नेपालमा लामो समयदेखि पर्खाइमा रहेको व्यावसायिक फाइभजी सेवाको औपचारिक सुरुआत गर्ने मन्त्रालयको मुख्य लक्ष्य रहेको छ ।

    प्रत्येक नागरिकलाई भरपर्दो दूरसञ्चार र इन्टरनेट पहुँच उपलब्ध गराउने उद्देश्यसहित मन्त्रालयले ग्राहकको अनुभव र सेवाको गुणस्तरमा मापनयोग्य सुधार ल्याउने प्रतिबद्धता समेत जनाएको छ ।

    यसका साथै, सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको समग्र रूपान्तरण गर्दै यसको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने महत्त्वपूर्ण योजना पनि मन्त्री तिमिल्सिनाले सार्वजनिक गरेका छन् । दूरसञ्चार क्षेत्रको प्रभावकारी नियमन र गुणस्तर अनुगमनलाई थप सुदृढ गर्ने तथा सार्वजनिक सञ्चार संस्थाहरूलाई सक्षम, व्यावसायिक र विश्वसनीय बनाउने मन्त्रालयको कार्ययोजनामा उल्लेख छ ।

    परिणाममुखी कार्यसम्पादनमार्फत उत्तरदायी र सुशासित दूरसञ्चार क्षेत्र निर्माण गर्ने प्रतिबद्धतासहित मन्त्री तिमिल्सिनाले सार्वजनिक गरेको यस योजनाले नेपालको समग्र सूचना प्रविधि, दूरसञ्चार र इन्टरनेट सेवाको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । मन्त्रालयले 'अभूतपूर्व सुधारको वर्ष' का रूपमा अघि बढाएको यो कदमले डिजिटल नेपाल निर्माणको महाअभियानलाई समेत सार्थक बनाउन मद्दत पुग्ने सहयोग पुर्‍याउनेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार