काठमाडौँ । सुनसरीको देवानगञ्ज घटनामा मृत्यु भएका परिवारहरूले शव बुझ्न अस्वीकार गरेका छन्।सरकारका गृहमन्त्री सुधन गुरुङसँग औपचारिक सहमति भइसकेपछि पनि देवानगञ्ज –३ कप्तानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाको शव बुझ्न परिवार र आफन्तले अस्वीकार गरेका हुन्।
गृहमन्त्री सुधन गुरुङसँग भएको सहमतिमा शुक्रबार अपराह्न शव बुझ्ने उल्लेख छ । उनीहरुले शव बुझेपछि पोस्टमार्टम गरेर आजै अन्त्येष्टि गर्ने बताइएको थियो । सहमति पत्रमा दुवै मृतकको अन्त्येष्टि शुक्रवार दिउँसो २ बजे गरिने उल्लेख गरिएको छ।
आफन्तले भने दबाबमा आफूहरूलाई सहमतिपत्रमा हस्ताक्षर गराएको र सहमति कार्यान्वयनको सुनिश्चितता नभएकोले शव नबुझेको बताएका छन्।
केहि स्थानीयले गृहमन्त्रीको दबाबमा मृतकका परिवारलाई सहमति गराइएको भन्ने आरोप लगाएका छन् । स्थानीयको विरोधकै कारण शव बुझ्न विराटनगर आएका परिवारका सदस्य र आफन्त पुनः देवानगञ्ज फर्किएका हुन्।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शव बुझ्ने कुरामा केहि समस्या देखिएको बताउँदै प्रहरीले समन्वय गरेर मिलाउने प्रयास गरिरहेको जानकारी दिए।
गत आइतबार राति देवानगञ्ज गाउँपालिका कप्तानगन्जमा दुई समुदायका बिचमा भएको विवादका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा स्थानीय ओमप्रकाश मेहताको सोही राति मृत्यु भएको थियो । यस्तै गोली लागेर घाइते भएका जयप्रकाश मेहताको बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो।
दुवै मृतकको शव हाल विराटनगरस्थित न्युरो अस्पतालको शव गृहमा राखिएको छ । सरकार र मृतक पक्षबिच बिहीबार राति सहमति भएपनि परिवारले शव नबुझ्ने अडान लिएपछि पोस्टमार्टम प्रक्रियासमेत हुन सकेको छैन।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा देवानगञ्ज गाउँपालिकाको कार्यालयमा भएको छलफलपछि गृहमन्त्रीले नै हस्ताक्षर गरेको सहमतिपत्र तयार भएको थियो । सहमतिपत्र बोकेर गुरुङ आफै मृतक परिवारको घरमा पुगेर हस्ताक्षर गराएका थिए । बुधबारदेखि सुनसरीको अवस्था क्रमशः सामान्य बन्दै गएको छ । तर, कफ्र्यु अझै हटेको छैन।



