Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सामाजिक सद्‌भाव र राष्ट्रिय एकता कायम राख्न मुख्यमन्त्री बानियाँको निर्देशन

सामाजिक सद्‌भाव र राष्ट्रिय एकता कायम राख्न मुख्यमन्त्री बानियाँको निर्देशन

शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामाजिक सद्‌भाव र राष्ट्रिय एकता कायम राख्न सरोकारवाला निकायलाई प्रभावकारी रूपमा व्यवस्थापनमा जुट्न निर्देशन दिएका छन्।

    सुनसरीमा भएको घटना र त्यसपश्चात् उत्पन्न परिस्थितिको समीक्षा गर्दै बागमती प्रदेश सुरक्षा समितिको शुक्रबार सम्पन्न भर्चुअल बैठकमा सामाजिक सद्‌भाव र राष्ट्रिय एकता कायम गर्न व्यवस्थापकीय पक्ष चुस्तदुरुस्त राख्न निर्देशन दिएका हुन्।

    images

    छलफललाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले छिमेकी प्रदेशहरूमा उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै बागमती प्रदेशमा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा संयन्त्रलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।

    ‘सुनसरीको घटना र त्यसपछि उत्पन्न परिस्थिति अन्य प्रदेशमा समेत फैलिन सक्ने जोखिम देखिएको छ । यस्तो अवस्थामा सबै सुरक्षा निकाय र सरोकारवालाबिच प्रभावकारी समन्वय गरी सामाजिक सद्‌भाव र राष्ट्रिय एकताको भावलाई कायम राख्न सबै पक्ष चनाखो भएर लाग्नु होला । व्यवस्थापकीय रूपमा कुनै पनि कमीकमजोरी हुन भएन’ उनले भने।

    प्रदेशमा सामाजिक सद्भाव खलबलिन नदिन राजनीतिक दलका प्रमुख र धार्मिक सङ्घ संस्थाका नेतृत्वसँग सरकारले निरन्तर संवाद गरिरहेको उनले बताए।

    मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यतामा बसेको उक्त बैठकले प्रदेशको समग्र सुरक्षा अवस्था र भावी रणनीतिका बारेमा विस्तृत छलफल गरेको छ । बैठकमा विशेषगरी सुनसरी घटनापछि कोसी र मधेस प्रदेशमा फैलिएको हिंसात्मक गतिविधि र त्यसले बागमती प्रदेशमा पार्न सक्ने प्रभावका बारेमा गम्भीर समीक्षा गरिएको थियो।

    बैठकमा बागमती प्रदेशस्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरुले वर्तमान सुरक्षा अवस्था र सम्भावित चुनौतीलाई सामना गर्ने भावी रणनीतिका बारेमा जानकारी गराएका थिए । उनीहरूले सुरक्षा संयन्त्र उच्च तयारीको अवस्थामा रहेको र प्रदेशमा शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताएका थिए।

    भर्चुअल बैठकमा बागमती प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री शिवराज अधिकारी, प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारी, प्रदेश सचिव कृष्णबहादुर शाही लगायत सुरक्षा निकायका प्रदेश प्रमुखहरूको सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार