Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रुसी सेनामा नेपालीलाई भर्ना बन्द, एक महिनामा १ सय ३८ नेपाली स्वदेश फिर्ता

रुसी सेनामा नेपालीलाई भर्ना बन्द, एक महिनामा १ सय ३८ नेपाली स्वदेश फिर्ता

बुधवार, आषाढ २६ २०८१
  • काठमाडौं । रुसी सेनामा नेपालीलाई भर्ना बन्द गरिएको छ । रुसी सेनाको भर्ना सम्बन्धी निकायका उपप्रमुखले मस्को स्थित नेपाली राजदूतलाई बोलाएर नेपालीहरुको भर्ती पूर्ण रुपमा रोकिएको र भर्ती भएका नेपालीहरुलाई क्रमशः बिदा दिन थालिएको जानकारी गराएसँगै दर्जनौँ नेपालीहरु रुसी सेनाबाट बिदा भएर स्वदेश फिर्ता फर्कीएका हुन् ।

    २२ फेब्रुअरी २०२२ (१० फागुन २०७८) मा युक्रेनमाथि आक्रमण गरेको रुसले २०२२ सेप्टेम्बरदेखि नेपाली लगाएत विदेशी नागरिकहरुलाई सेनामा भर्ती लिन थालेको थियो। युद्धको समयमा भर्ती हुँदा आकर्षक तलब–भत्ता प्राप्त हुने भएपछि रुसमा पढ्न गएका कतिपय नेपाली विद्यार्थीहरु २०२३ मे महिनादेखि भर्ती हुन थालेका थिए। आकर्षक तलबका कारण पछि कतिपय नेपालीहरु स्वेच्छाले भर्ती हुन रुस पुगे। कतिलाई मानव तस्करहरुले रुस पु¥याए।

    images

    युक्रेनी आक्रमणमा गोरखाका सन्दीप थपलिया मारिएको घटना सार्वजनिक भएसँगै रुसी सेनामा नेपालीहरुको आवद्धता रहेको आधिकारिक तबरमा पुष्टि हुन पुगेको थियो। त्यसपछि मस्कोस्थित नेपाली राजदूतावास र काठमाडौँबाट परराष्ट्र मन्त्रालयले दुई पक्षीय सम्झौतामार्फत् परम्परागत रुपमा भर्ती स्वीकृत भएबाहेकका मुलुकका सेनामा भर्ती नहुन आह्वान गरेका थिए। १ डिसेम्बर २०२३ (१५ मंसिर २०८०) मा नेपालले कूटनीतिक नोटमार्फत् रुसी सेनामा नेपालीहरुको भर्ती रोक्न, युद्धमा घाइते नेपालीहरुको उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरेको थियो।

    मस्कोस्थित नेपाली राजदूतावास स्रोतका अनुसार जेठ दोस्रो हप्तायता १ सय ३८ नेपालीहरु रुसी सेनाबाट स्वदेश फिर्ता भएको बताइएको छ ।  परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मस्कोस्थित नेपाली राजदूतावासको माध्यमबाट स्वदेश फर्कने नेपालीहरुको संख्या १ सय ३८ पुगेको हो। दूतावासको माध्यम प्रयोग नगरी अन्य केही नेपालीहरु पनि रुसी सेनाबाट फिर्ता भइसकेका छन्। 

    मस्कोस्थित नेपाली राजदूतावास स्रोतका अनुसार, स्वदेश फिर्तीका लागि तीनजना नेपालीहरु दूतावासको सम्पर्कमा छन्। उनीहरुलाई राजदूतावासले आश्रयको व्यवस्था गरेको छ। स्वदेश फर्कन रुसी सेनाले स्वीकृति दिएपछि दूतावासको सम्पर्कमा पुगेका उनीहरुमा लमजुङ दुधपोखरीका नवराज गुरुङ लगायत छन्। 

    स्रोतका अनुसार आफ्नो सेनामा रहँदा युक्रेनसँगको युद्धमा मारिएका ६ जना नेपालीहरुको परिवारलाई क्षतिपूर्तिको प्रक्रियासमेत सुरु गरेको छ। उनीहरुमा सुरुवातमा मारिएका गोर्खाका सन्दीप थपलिया, पोखराका देवान राई लगायत छन्। रुसी सेनामा भर्ती भएका दर्जनौँ नेपालीको ज्यान गइसकेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार