Nov 04 2026 | २०८३ कार्तिक १९ गते

बेलहियाको होटलमा कल बाइपासको धन्दा, विभिन्न उपकरण र नगदसहित एक जना नियन्त्रणमा

बेलहियाको होटलमा कल बाइपासको धन्दा, विभिन्न उपकरण र नगदसहित एक जना नियन्त्रणमा

शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ। रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित बेलहिया बसपार्क इलाकामा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआइपी) कल बाइपास गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन्।लामो समयको निगरानीपछि बुधबार बेलुका प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

    जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले न्यु मुक्ति होटल एण्ड रेस्टुरेन्टको दोस्रो तलाको कोठा खानतलासी गर्दा उक्त अवैध कार्य भइरहेको फेला पारेको हो। पक्राउ पर्नेमा गोरखा चुमनुव्री गाउँपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ६२ वर्षका छिरिङ गुरुङ रहेका छन्। उनी सो होटलमा कोठा भाडामा लिई बसिरहेका थिए।

    images

    प्रहरीले गुरुङको कोठाबाट भीओआइपी कल बाइपासमा प्रयोग गरिएका दुई थान सिमकार्ड जडान हुने डिभाइस, एउटा वर्ल्डलिङ्क राउटर र एउटा वाइफाइ ६ प्लस राउटर बरामद गरेको छ। यसैगरी तीन थान विभिन्न कम्पनीका मोबाइल, १२ भोल्टको एसियन कम्पनीको ब्याट्री, एमेज कम्पनीको इन्भर्टर, एउटा मल्टिप्लक र ५६ थान भारतीय सिमकार्ड पनि बरामद भएको छ।

    यसैगरी ३८ थान एनसेल सिमकार्डको खोल, एउटा एनटीसी सिमकार्ड, तीन थान आरजे ४५ केवल, तीन थान चाइनिज सिमकार्ड र एउटा टेबल पङ्खा बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले गुरुङको साथबाट ११ हजार नेपाली रुपैयाँ, सात हजार भारतीय रुपैयाँ, बागमती प्रदेश ०२-०२७ प ९५९७ नम्बरको स्कुटर, नेपाली नागरिकता, भारतीय निर्वाचन कार्ड र नेपाली सवारी चालक अनुमतिपत्र समेत फेला पारेको छ।

    पक्राउ परेका गुरुङलाई रुपन्देही जिल्ला अदालतबाट दूरसञ्चार ऐन २०५३ को भीओआइपी कल बाइपाससम्बन्धी कसूरमा साउन १४ गते पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार