Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सिंहदरबारदेखि कप्तानगञ्जसम्म प्रधानमन्त्री र गृहमन्त्रीको खोजी

सिंहदरबारदेखि कप्तानगञ्जसम्म प्रधानमन्त्री र गृहमन्त्रीको खोजी

बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा साउन १० गते भएको हिंसात्मक घटनापछि मुलुकको अधिकांश भाग अशान्त छ।

    घटनापछि सरकारले छानबिन समिति गठन गरेर कर्फ्यू लगाए पनि सुनसरीसहित मधेसका अन्य जिल्लाहरूमा अझै प्रदर्शन रोकिएको छैन । सुनसरी घटनाको बाछिटा मधेसका अन्य जिल्लामा पनि देखिँदै आएको छ । सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरे पनि उक्त समितिप्रति सुनसरीवासी आश्वस्त हुन सकेका छैनन्, जसका कारण स्थिति सामान्य हुनुको साटो थप तनावग्रस्त बन्दै गएको छ।

    images

    सुनसरीका देवानगञ्ज र कप्तानगञ्जवासीले प्रधानमन्त्री वा गृहमन्त्री घटनास्थलमा आएर स्थानीयका कुरा सुनिदिए मात्र पनि आफूहरू आश्वस्त हुने बताइरहेका छन् । विभिन्न राजनीतिक दलले शान्ति र सद्भावका लागि आ(आफ्नो ठाउँबाट पहल त गरिरहेका छन्, तर नागरिकका मुख्य अभिभावक मानिने प्रधानमन्त्री वा गृहमन्त्रीले स्थिति अवलोकन गरी सुरक्षाको प्रत्याभूति दिलाएमा यस्ता घटना पुनः दोहोरिने थिएनन् भन्ने सुनसरीवासीको बुझाइ छ।

    तर, घटना भएको पाँच दिन बितिसक्दा पनि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ घटनास्थलमा पुग्ने, वस्तुस्थिति बुझ्ने र स्थानीयलाई आश्वस्त पार्ने त परै जाओस्, समस्या समाधानका लागि राजनीतिक दलहरूसँग संवाद गर्न र सामान्य भिडियो सन्देशसमेत जारी गर्न चाहिरहेका छैनन् । प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङको यही कार्यशैलीलाई लिएर व्यापक आलोचना भइरहेको छ । अर्थात्, विगत चार दिनयता सिंहदरबारदेखि सुनसरीको कप्तानगञ्जसम्म प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङको व्यापक खोजी भइरहेको छ।

    'यो रोस्ट्रमबाट खासगरी प्रधानमन्त्री बालेन शाहज्यूलाई भन्न चाहन्छु, नेपालमा विगतका धेरै अनुभवहरूबाट गुज्रिएका नेता, बुद्धिजीवी र विज्ञहरूको विशाल पंक्ति छ । ठुला–ठुला अप्ठेरा स्थितिलाई निकास दिने हैसियत राख्ने नेताहरूको पंक्ति छ,' नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भने, 'उनीहरूको अनुभव लिँदै सहकार्य र संवाद गर्न प्रधानमन्त्रीलाई के कुराले रोकेको छ ? मलाई अनौठो लाग्छ।'

    उनले देशको संकटपूर्ण घडीमा समेत सरकार हराएको भन्दै प्रधानमन्त्रीले संवाद र सहकार्यप्रति बेवास्ता गरेकोमा गुनासो गरे । प्रधानमन्त्रीको कार्यशैलीले मुलुकमा देखापरेका यावत् समस्या समाधान नहुने भन्दै उनले थप प्रश्न गरे, 'प्रधानमन्त्रीलाई आफ्नै अहंकारले रोकेको हो कि ? म मात्र पर्याप्त छु, अरू चाहिँदैन भन्ने लागेको हो कि ? यदि त्यसो हो भने यो दुर्भाग्य हो।'

    त्यसो त प्रचण्डले मात्र होइन, प्रतिनिधि सभा बैठकमा अन्य सांसदहरूले समेत देशमा हिंसा भड्किने अवस्था आउँदा पनि प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ नदिएको भन्दै 'सरकार कहाँ छ' भनेर प्रश्न गरे । झन्डै दुई साताको स्थगनपछि बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङमध्ये कोही न कोही उपस्थित भई पछिल्ला घटनाक्रमबारे नागरिकलाई संसद्मार्फत आश्वस्त पार्छन् भन्ने धेरैको अनुमान थियो । तर त्यसविपरीत प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङ संसद् बैठकमा उपस्थित भएनन् । बरु, प्रधानमन्त्री बालेन शाहले बिहीबार संसद् बैठक सुरु हुने। समयकै छेको पारेर राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाए।

    बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद वासना थापाले एउटा नेपाली युवाको मृत्यु हुँदा सरकार र प्रधानमन्त्रीको संवेदनशीलतामाथि प्रश्न उठाइन् । 'तपाईंले लगाएको कालो चस्माबाट मृत्यु र पीडाको रङ पनि फरक फरक देखिन्छ र ?' प्रधानमन्त्री शाहलाई थापाले सोधिन्, 'सम्माननीय प्रधानमन्त्रीज्यू, नेतृत्व केवल प्रशासन चलाउने विषय होइन । नेतृत्व भनेको संकटका बेला राष्ट्रको मनोबल सम्हाल्ने दायित्व पनि हो।'

    समाज डर, तनाव र अविश्वासबाट गुज्रिरहेका बेला प्रधानमन्त्रीको मौनता आफैँमा एउटा गलत सन्देश बन्ने भन्दै उनले प्रधानमन्त्रीको मौनता तोडिनुपर्ने र गृहमन्त्री सुधन गुरुङ मुलुकका पछिल्ला घटनाक्रमप्रति संवेदनशील हुनुपर्ने बताइन्।नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सुनसरीको देवानगञ्ज गोलीकाण्ड र त्यसबाट उत्पन्न तनावमा सरकारको भूमिकामाथि प्रश्न उठाइन्।

    अर्यालले सरकार शान्ति सुरक्षा र दङ्गा नियन्त्रणमा भन्दा पनि आफैँ त्रास सिर्जना गर्नतिर लागेको आरोप लगाउँदै सरोकारवाला, धार्मिक अभियन्तालगायतलाई धैर्यधारण गर्न तथा उत्तेजना, आवेग र प्रतिशोध नलिन आग्रह गर्दै संयमता र शान्ति कायम राख्न आह्वान गरिन्।

    देशमा अशान्ति फैलिरहँदा प्रधानमन्त्री गुमनाम बनेको भन्दै उनले प्रधानमन्त्री पद सिंहदरबारमा सजाउनका लागि मात्र नबनाइएकाले जनतालाई दुःख पर्दा नेतृत्व देखिनुपर्ने र सुनिनुपर्ने बताइन् । 'जनतालाई दुःख पर्दा नेतृत्व देखिनुपर्छ । जनताको सुरक्षा र मुलुकलाई सुदृढ बनाउन सरकारलाई सहयोग गर्न हामी तयार छौँ । सरकार सोही ढङ्गले प्रस्तुत होस्,' अर्यालको भनाइ थियो।

    संसद्को विपक्षी दल श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संकटको घडीमा सरकार बेखबर भएर बस्ने नभई बाहिर निस्किएर सूचना सङ्कलन, जनतासँग संवाद र शान्ति सुरक्षा कायम गर्न सक्रिय हुनुपर्ने बताए ।
    सांसद राईले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको भन्दै देश र जनतालाई 'टुहुरो' बनाउने शैली स्वीकार्य नहुने स्पष्ट पारे । 'यसरी अभिभावकविहीन बनेर देश चलाउन पाइँदैन । देश र जनतालाई यसरी टुहुरो बनाउन पाइँदैन,' सांसद राईले भने, 'त्यसैले सरकार कि त अघि सर्नुपऱ्यो, कि त सक्दिनँ भनेर हात उठाउनुपऱ्यो।'

    राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले सुनसरी घटनाबारे सांसद र आम नागरिकले सत्यतथ्य जान्न पाउनुपर्ने बताइन् । 'प्रधानमन्त्रीज्यूले आफ्नो फेसबुकमार्फत प्रहरीबाट गोली चलेको स्वीकार गर्नुभएको छ । यदि प्रहरीले नै गोली चलाएको हो भने त्यसको आदेश कसले दियो ?' सांसद ओलीले प्रश्न गरिन्, 'यदि गोली सरकारको नालबाट चलेको हो भने त्यहाँ किन हिन्दू धर्मावलम्बीहरू मात्र घाइते भए ? गोली वास्तवमा कसले चलाएको हो?'

    बिहीबारको प्रतिनिधि सभा बैठकमा मात्र होइन, बुधबार रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्री र गृहमन्त्रीको खोजी भएको थियो । सर्वदलीय बैठकमा दलका नेताहरूले सुनसरी घटना भएको तीन दिन बितिसक्दा पनि यथार्थ विवरण बाहिर नल्याएको र सुरक्षाकर्मीमार्फत अत्यधिक बल प्रयोग गरी तनाव बढाउन भूमिका खेलेको भन्दै प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङको आलोचना गरेका थिए।

    बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति गगन थापाले मुलुक गम्भीर परिस्थितिमा हुँदासमेत प्रधानमन्त्री शाहमा ठालु प्रवृत्ति देखिएको टिप्पणी गरेका थिए।

    सभापति थापा मात्र होइन, नेकपाका संयोजक प्रचण्ड, एमाले महासचिव शङ्कर पोखरेल र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले समस्या समाधानका लागि प्रधानमन्त्रीले अग्रसरता देखाएर संयुक्त पहल गर्नुपर्नेमा उनी गुमनाम बनेको भन्दै आलोचना गरेका थिए । साथै, उनीहरूले सेना परिचालन गरेर सरकार दमनमा उत्रिएको आरोप लगाउँदै राजनीतिक संवाद र छलफलबाटै समस्याको समाधान खोज्न अग्रसरता लिन सरकारलाई सुझाव दिएका थिए।

    कप्तानगञ्ज घटनापछि चार दिनमा के–के भयो ?

    साउन १४ गते 

    १. सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक ।

    २. राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद ९डिपी० अर्यालको भेटवार्ता ।

    साउन १३ गते

    १. रास्वपा सभापति रवि लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान, सद्भाव कायम राख्न अपिल।

    २. राष्ट्रपति रामचन्द्र पौडेलसँग रास्वपा सभापति रवि लामिछाने र कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको भेटवार्ता।

    ३. सुरक्षा समितिको बैठकमा सुरक्षा अङ्गका प्रमुखहरूबाट सुरक्षा अवस्थाबारे ब्रिफिङ, राजनीतिक तहबाटै समाधान खोज्न सुझाव।

    साउन १२ गते

    १. प्रधानमन्त्री बालेन्द्र बालेनद्वारा मध्यरातमा सामाजिक सञ्जालमा स्टेटस लेख्दै देवानगञ्जमा भएको घटनाबारे संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न सबैमा आग्रह।

    साउन ११ गते

    १. गृहमन्त्रीस्तरीय निर्णयबाट कप्तानगञ्ज घटना छानबिनका लागि सहसचिवको नेतृत्वमा समिति गठन।

    २. सीडीओसहित सुरक्षा निकायका प्रमुखहरूको जिम्मेवारी हेरफेर।

    दुई जनाको मृत्यु

    सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको झडप र गोलीकाण्डमा परी बिहीबारसम्म दुई जनाको मृत्यु भएको छ। गोली लागेर घाइते भएका २७ वर्षीय जयप्रकाश मेहताको बिहीबार मृत्यु भएको हो भने अर्का घाइते ओमप्रकाश मेहताको आइतबार राति नै उपचारका क्रममा मृत्यु भएको थियो । मृतकहरूको शव आफन्तले बुझ्न मानेका छैनन्।

    कसरी खोज्ने निकास ?

    प्रधानमन्त्री बालेन्द्र शाह धेरै नबोल्ने स्वभावका हुन् । तर आवश्यक पर्दा उनले संवाद र छलफललाई तीव्रता दिँदै समस्या समाधानका लागि पहलकदमी लिनुपर्थ्यो । संकटका बेला उनी सिंहदरबार र बालुवाटारमा सीमित हुँदा उनको क्षमतामाथि नै प्रश्न उठ्नु स्वाभाविक हो । तथापि, अझै पनि समय बाँकी रहेकाले उनले यसमा अग्रसरता लिन आवश्यक छ।

    उता, गृहमन्त्री सुधन गुरुङ सानातिना घटनामा समेत आफैँ उपस्थित भएर अनुगमन गर्न हिँड्थे । कहिले सीमा त कहिले राजमार्ग छेउका साना होटेलमा पुगेर आफैँ छापा मार्ने गुरुङले देशमा यति गम्भीर घटना हुँदासमेत नबोली र पीडितसमक्ष नपुगी समस्या समाधानको पहल गर्न रुचि देखाएका छैनन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार