काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले नेपालमा आजसम्म धर्म र संस्कृतिका नाममा कहिल्यै युद्ध नभएको र हुन नदिइने बताएका छन्।
नेपालको बहुमूल्य विविधतालाई कसैको विभेद र विभाजनको हतियार बन्न नदिनुपर्ने समेत उनले बताए। बिहीबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सचेतक परियारले यस्तो बताएका हुन्।
उनले भने,‘म यस सम्मानित सदनमार्फत प्रस्ट भन्न चाहन्छु–हाम्रो यो ऐतिहासिक सहिष्णुतामाथि कसैले आँखा नलगाओस्! कुनै पनि बाह्य वा भित्री शक्तिले ‘प्रोजेक्ट डिजाइन’ गरेर हाम्रो सामाजिक सद्भाव बिगार्ने दुस्साहस नगरोस्। हामी हाम्रो बहुमूल्य विविधतालाई कसैको विभेद र विभाजनको हतियार बन्न दिने छैनौँ।’
सुनसरी लगायत देशका विभिन्न भागमा नागरिकहरूलाई संयमित रहन र भ्रामक हल्लाको पछि नलाग्न पनि उनले अपिल गरेका छन्।
साथै, सरकारले यस्ता सद्भाव भड्काउने तत्त्वहरू पहिचान गरी कडा कानुनी कारबाही गर्नुपर्ने बताए।‘भाइचारा, सद्भाव,सहिष्णुता र भगिनी सम्बन्धमा हाम्रो मोलिक अभ्यास अटल राख्ने कर्तव्य हाम्रै हो, हामी भाग्ने छैनाैँ,’ उनले भने।
पछिल्लो समय सुनसरीमा घटेका घटनाहरू र सामाजिक सद्भाव भड्काउने, सहिष्णुता निमोठ्ने किसिमका गतिविधिले आफूहरूलाई चिन्तित बनाएको समेत उनले बताए।



