काठमाडौँ। अमेरिकाको टेक्सास राज्यको अस्टिन सहरमा १७ वर्षीय अश्वेत किशोर एन्थोनिल विलियम्स द्वितीय प्रहरीको गोलीबाट मृत्यु भएपछि तनावग्रस्त बनेको छ । सो घटनापछि प्रहरीको जबाफदेहिता र मानसिक स्वास्थ्य सङ्कट व्यवस्थापनबारे राष्ट्रिय बहस चर्किएको छ।
अस्टिन प्रहरीका अनुसार घटनाअघि गरिएको ९११ आपत्कालीन फोन कलमा पार्किङ क्षेत्रमा एक युवकसँग हतियार हुनसक्ने सूचना दिइएको थियो । अनुसन्धानबाट उक्त फोन विलियम्सकै मोबाइलबाट गरिएको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरी घटनास्थलमा पुग्दा विलियम्सलाई हात माथि उठाउन आदेश दिएको थियो । प्रहरीद्वारा सार्वजनिक गरिएको बडी क्यामेरा भिडियोअनुसार उनले सुरुमा आफ्नो कम्मरतर्फ हात लगेका थिए र त्यसपछि दुवै हात अगाडि सारेका थिए
प्रहरीले त्यो हाउभाउलाई हतियार ताकेजस्तो ठानेर उनीमाथि गोली चलाएका थिए । घटनापछि गरिएको जाँचमा विलियम्ससँग कुनै हतियार नभएको र उनको कम्मरमा पानीको बोतल मात्र रहेको पुष्टि भएको छ।
अस्टिन प्रहरी प्रमुख लिसा डेभिसले प्रारम्भिक अनुसन्धानका आधारमा यो घटना प्रहरीलाई आफूलाई गोली चलाउन उक्साउने उद्देश्यको हुनसक्ने सम्भावना रहेको बताएकी छन् । यद्यपि, उनले अनुसन्धान अझै जारी रहेको र अन्तिम निष्कर्ष ननिस्किएको स्पष्ट पारेकी छन्।
प्रहरीका अनुसार ९११ कलका क्रममा मानसिक स्वास्थ्य सेवा आवश्यक छ कि भनेर सोधिएको थियो, तर कल गर्ने व्यक्तिले प्रहरी नै पठाउन अनुरोध गरेका थिए । कल बिचमै काटिएकाले थप जानकारी लिन नसकिएको प्रहरीले जनाएको छ।
गोली चलाउने तीनै प्रहरी अधिकारीलाई नियमित प्रक्रिया अनुसार प्रशासनिक बिदामा राखिएको छ । घटनाको अनुसन्धान अस्टिन प्रहरी, ट्राभिस काउन्टी जिल्ला सरकारी वकिलको कार्यालय तथा प्रहरीको आन्तरिक अनुसन्धान इकाईले गरिरहेका छन्।
यस घटनापछि समुदायमा व्यापक आक्रोश फैलिएको छ । घटनास्थलमा स्थानीय बासिन्दाले फूल, मैनबत्ती र श्रद्धाञ्जली अर्पण गरेका छन् भने पारदर्शी अनुसन्धान र संलग्न प्रहरीमाथि आवश्यक कारबाहीको माग गर्दै प्रदर्शनसमेत भएका छन्।
अस्टिन नगर परिषद्की सदस्य नताशा हार्पर–म्याडिसनले यो घटनाले सङ्कटमा परेका व्यक्ति र परिवारका लागि समयमै मानसिक स्वास्थ्य तथा व्यवहारसम्बन्धी सेवा उपलब्ध गराउनु कति आवश्यक छ भन्ने कुरा स्मरण गराएको बताएकी छन्।
यसैबिच, केही नगर परिषद् सदस्यहरूले पनि घटनाको पारदर्शी र निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन् । साथै, अमेरिकाका विभिन्न सहरमा मानसिक स्वास्थ्यसम्बन्धी गैरहिंसात्मक घटनामा प्रहरीको सट्टा विशेष तालिमप्राप्त नागरिक टोली परिचालन गर्ने अभ्यासलाई थप विस्तार गर्नुपर्ने बहस पनि पुनः सुरु भएको छ।



