Nov 04 2026 | २०८३ कार्तिक १९ गते

नागढुङ्गा सुरुङमार्ग सञ्चालन भयो, सिद्धबाबा सुरुङमार्ग निर्माणको काम कहाँ पुग्यो ?

नागढुङ्गा सुरुङमार्ग सञ्चालन भयो, सिद्धबाबा सुरुङमार्ग निर्माणको काम कहाँ पुग्यो ?

बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ। काठमाडौँको नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएसँगै सिद्धार्थ राजमार्गअन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङमार्गप्रति लुम्बिनी प्रदेशका नागरिकको चासो बढेको छ।

    बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्र वर्षा याममा पहिरो र ढुङ्गा खस्ने उच्च जोखिमका कारण यातायात पटक–पटक अवरुद्ध हुँदै आएको छ । यसले यात्रु र चालकलाई वर्षौंदेखि सास्ती दिँदै आएको छ । यो सुरुङमार्ग सञ्चालन भएपछि बुटवलबाट पाल्पा हुँदै गण्डकी प्रदेश जोड्ने प्रमुख सडक सुरक्षित, छिटो र निर्वाध आवागमनका लागि सार्थक हुने विश्वास गरिएको छ।

    images

    सिद्धबाबा सुरुङमार्गको २०८१ माघ १० गते ‘ब्रेकथ्रु’ भएको थियो । त्यसयता सुरुङभित्रका भौतिक संरचना निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । आयोजनाको हालसम्म भौतिक प्रगति करिब ७० प्रतिशत र वित्तीय प्रगति ६३ प्रतिशत पुगेको छ।

    आयोजना प्रमुख नवराज बास्तोलाका अनुसार ब्रेकथ्रुपछि सुरुङभित्रको भुइँ ढलान (इन्भर्ट), भित्तामा लाइनिङ, कल्भर्ट तथा अन्य संरचना निर्माणको काम तीव्र रूपमा भइरहेको छ। दुवैतर्फको नालीको आधार निर्माण, इन्भर्ट तथा तीन वटै बाइपासको काम पनि सँगसँगै अघि बढिरहेको बास्तोलाले बताए।

    परियोजनाकी इन्जिनियर निशा बेल्वासे सापकोटाका अनुसार सुरुङ सञ्चालनका लागि आवश्यक दुई वटा कन्ट्रोल टावर निर्माणको काम करिब आधा सम्पन्न भएको छ । बुटवलतर्फ आयोजनाको कार्यालय भवन पनि निर्माणाधीन छ।

    उनका अनुसार कन्ट्रोल भवनबाट सुरुङभित्रका सम्पूर्ण गतिविधि कम्प्युटर प्रणालीमार्फत निगरानी गरिनेछ। सुरुङमार्गभित्र दुर्घटना भए–नभएको, प्रदूषणको अवस्था, ध्वनिको मात्रा, हावाको बहावलगायतका सूचना कन्ट्रोल भवनमा आउने व्यवस्था मिलाइएको छ।

    हाल फायर हाइड्रेन्ट, लाइनिङ, विद्युत् तथा मेकानिकल प्रणाली, भेन्टिलेसन लगायतका काम भइरहेका छन् । सडक निर्माणको मुख्य काम कार्तिक अन्तिमसम्म सक्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ। त्यसपछि बाहिरी ढलान (स्लोप) संरक्षणसहित बाँकी संरचनागत काम अघि बढाइने छ।

    सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा पाएको हो । सम्झौताअनुसार आयोजनाको निर्माण कार्य २०८३ चैतभित्र सम्पन्न गर्ने लक्ष्य छ। हाल आयोजनास्थलमा दैनिक २०० भन्दा बढी कामदार परिचालन गरी निर्माण कार्य भइरहेको छ।

    उपकरण ल्याउन ढिलाइ, कूटनीतिक पहल सुरु

    सिद्धबाबा सुरुङमार्ग आयोजनाका लागि आवश्यक केही उपकरण चीनबाट नेपाल ल्याउने क्रममा केरुङ भन्सार नाकामा रोकिएका छन् । भन्सार प्रक्रिया लामो हुँदा उपकरण आयातमा ढिलाइ भएपछि नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पत्राचार गरी छिटो भन्सार पास गराउन पहल थालेको छ।

    आयोजनाको ठेक्का लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङभित्र आवश्यक पर्ने सुरक्षा प्रणाली, विद्युतीय वायरिङ, भेन्टिलेसन, अग्नि नियन्त्रण प्रणालीलगायतका उपकरण चीनबाट ल्याइरहेको छ । केही उपकरण आयोजनास्थलमा आइपुगे पनि अन्य आवश्यक सामग्री भने अझै केरुङ नाकामा रोकिएको परियोजनाले जनाएको छ।

    सिद्धबाबा सुरुङमार्ग परियोजनाका प्रमुख इन्जिनियर नवराज बास्तोलाका अनुसार केरुङ नाकामा भन्सार प्रक्रिया अपेक्षाकृत लामो हुने भएकाले उपकरण ढुवानीमा ढिलाइ भएको हो । आयोजनाको महत्त्वलाई ध्यानमा राख्दै ती उपकरण शीघ्र भन्सार पास गराउने उद्देश्यले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिएको उनले बताए

    इन्जिनियर बास्तोलाका अनुसार सुरुङ निर्माण सम्पन्न भएपछि पनि ठेकदार कम्पनीले पाँच वर्षसम्म सुरुङको मर्मत तथा सञ्चालन सहयोग गर्ने व्यवस्था सम्झौतामै समावेश गरिएको छ । सुरुङ सञ्चालनको प्रारम्भिक चरणमा देखिन सक्ने प्राविधिक समस्या तथा अन्य आवश्यक मर्मतलाई ध्यानमा राखेर पाँच वर्षको मर्मत अवधि राखिएको उनले स्पष्ट पारे।

    परियोजनाले सुरुङ निर्माणपछि दोभानतर्फको बाहिरी क्षेत्रमा समेत पहिरो र ढुङ्गा खस्ने जोखिम न्यूनीकरणका लागि विशेष संरचना निर्माण गर्ने योजना बनाएको छ । त्यसअन्तर्गत करिब ४० मिटर उचाइसम्म ढुङ्गा रोक्ने संरचना (रक सपोर्ट) निर्माण गरिनेछ भने माथिबाट खस्ने ढुङ्गाको गति कम गर्न रकनेट जडान गरिनेछ।

    परियोजनाकी इन्जिनियर निशा बेल्वासे सापकोटाका अनुसार सुरुङ सञ्चालनमा आएर सवारी आवागमन सुरु भएपछि बाहिरी क्षेत्रमा हुने पहिरो नियन्त्रण सम्बन्धी काम अघि बढाइनेछ । उनका अनुसार सुरुङभित्रको मुख्य निर्माण कार्यलाई प्राथमिकता दिएपछि बाहिरी सुरक्षा संरचना निर्माण गरिने योजना छ।

    सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र वर्षौंदेखि पहिरो र ढुङ्गा खस्ने जोखिमका कारण यात्रुका लागि सबैभन्दा संवेदनशील सडक खण्डका रूपमा चिनिँदै आएको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यस क्षेत्रको यात्रा सुरक्षित, भरपर्दो र सहज हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार