Nov 04 2026 | २०८३ कार्तिक १९ गते

बोलिभियाका पूर्वराष्ट्रपति इभो मोरालेज विरुद्ध नयाँ पक्राउ पुर्जी, मोरालेज आन्दोलनमा अडिग

बोलिभियाका पूर्वराष्ट्रपति इभो मोरालेज विरुद्ध नयाँ पक्राउ पुर्जी, मोरालेज आन्दोलनमा अडिग

बिहिवार, श्रावण १४ २०८३
  • काठमाडैँ। बोलिभियाको एउटा अदालतले पूर्वराष्ट्रपति इभो मोरालेजविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।सान्ता क्रुज जिल्ला अभियोजन कार्यालयका अनुसार मोरालेजमाथि ‘राज्यको सुरक्षा र सार्वभौमसत्ताविरुद्ध सशस्त्र विद्रोह, आतंकवाद तथा यातायातका साधनहरूको सुरक्षामाथि आक्रमण’ गरेको आरोपमा अनुसन्धान भइरहेको छ।

    मोरालेजले आर्थिक संकट, बढ्दो महंगी तथा दक्षिणपन्थी राष्ट्रपति रोड्रिगो पाजको मितव्ययिताका योजनाविरुद्ध जुन महिनामा किसान र ट्रक चालकहरूले गरेको प्रदर्शनलाई समर्थन गरेका थिए।

    images

    आफूमाथिका आरोपबारे सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै मोरालेजले भने, ‘उनीहरूले हामीलाई तर्साउन सक्ने छैनन्।’

    सरकारले आफूलाई निशाना बनाउनुको उद्देश्य ‘बोलिभियाले भोगिरहेको वास्तविक संकट, गहिरिँदो आर्थिक र सामाजिक संकट...जनतालाई त्यागेको र भ्रष्टाचारलाई संरक्षण गर्ने एउटा मोडललाई लुकाउनु’ रहेको मोरालेजले बताए।

    बोलिभियाका पहिलो आदिवासी राष्ट्रपति मोरालेज विपन्न समुदायबाट उठेर तीन कार्यकाल राष्ट्रपति बनेका थिए । उनी ल्याटिन अमेरिकामा सबैभन्दा लामो समय शासन गर्ने नेतामध्ये एक हुन्।

    उनी सन् २००६ देखि २०१९ सम्म सत्तामा रहे । सन् २०१९ मा चुनावमा धाँधली भएको दाबीबीच उत्पन्न विवादका कारण उनलाई पदबाट राजीनामा दिन बाध्य पारिएको थियो।

    सुरुमा उनले सत्ता छाड्न अस्वीकार गरेका थिए । अन्ततः उनले पद छाड्नुपर्‍यो । उनको बहिर्गमनले झन्डै १४ वर्षको आर्थिक प्रगति र गरिबी न्यूनीकरणसँगै राजनीतिक कठोरता अपनाएको आरोप समेत लाग्यो।

    त्यसपछि उनी मेक्सिको निर्वासनमा गए र पछि अर्जेन्टिना पुगे । उनका राजनीतिक सहयोगी लुइस आर्से राष्ट्रपति निर्वाचित भएपछि उनी एक वर्षपछि बोलिभिया फर्किए।

    सन् २०२४ को अन्त्यतिर मोरालेजमाथि एक नाबालिगलाई यौन शोषणका लागि ओसारपसार गरेको र १५ वर्षीया किशोरीसँग कानुनी रूपमा बलात्कार गरेको आरोप सार्वजनिक भयो । ती किशोरी गर्भवती भएकी थिइन् ।
    सन् २०२५ को सुरुआतसम्ममा मोरालेजका समर्थकहरूले ती आरोपको विरोध गर्दै सडक अवरुद्ध गरेर देशलाई ठप्प पारे । मोरालेजले आरोप अस्वीकार गरेका छन् । उनले अदालतमा हुने सुनुवाइमा उपस्थित हुनसमेत अस्वीकार गर्दै आएका छन्।

    मे महिनामा बोलिभियाको आर्थिक संकटलाई लिएर अशान्ति बढिरहेका बेला मोरालेजलाई अदालतको अवहेलना गरेको ठहर गरिएको थियो । त्यसपछि बलात्कारसम्बन्धी आरोपमा उनलाई पक्राउ गर्न पुनः पक्राउ पुर्जी जारी गरिएको थियो।

    उनका समर्थकहरूले उनलाई पक्राउ गरिए ‘देशलाई अस्तब्यस्त पार्ने’ चेतावनी दिएका थिए । त्यतिबेला प्रदर्शनका कारण सडकहरू बन्द भएका थिए र सरकारले केही क्षेत्रमा खाद्यान्न पुर्‍याउन हवाईमार्गको प्रयोग गर्नुपरेको थियो।

    जुनमा राष्ट्रपति पाजले संकटकाल घोषणा गरेपछि प्रदर्शनहरू केही मत्थर भए। त्यसपछि मोरालेजको प्रदर्शनमा संलग्नताबारे परेको आपराधिक उजुरीका आधारमा नयाँ अनुसन्धान सुरु भयो।नागरिक समूह ‘कोमिते प्रो सान्ता क्रुज’ले दर्ता गरेको र पछि गृह मन्त्रालयले अघि बढाएको उक्त उजुरीमा मोरालेजका समर्थकहरूले देशभर ५३ दिनसम्म यातायात अवरुद्ध गरेर ‘खाद्यान्न, इन्धन र औषधिको अभाव सिर्जना गरेको’ आरोप लगाइएको छ।

    जर्मन समाचार संस्था डीपीएका अनुसार बुधबार दर्ता गरिएका आरोपहरू स्थानीय सञ्चारमाध्यमले प्रकाशित गरेको एउटा दस्तावेजमा उल्लेख छन्।

    पक्राउ आदेशमा प्रहरीले मोरालेजलाई नियन्त्रणमा लिएर विशेष भ्रष्टाचारविरोधी इकाइमा उपस्थित गराउन निर्देशन दिइएको छ।

    नयाँ आरोपबारे प्रतिक्रिया दिँदै मोरालेजले भने, ‘हामी सधैँझैँ जनतासँगै रहेर संघर्ष जारी राख्नेछौँ । बोलिभियाले फरक बाटो पाउनुपर्छ भन्ने हामी विश्वास राख्छौं । त्यो गरिमा, सार्वभौमसत्ता, सामाजिक न्याय र सबैका लागि आशाको पुनःस्थापनाको बाटो हो।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार