काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले निर्वाचन आयोगले आफूलाई ‘रेफ्री’ का रूपमा निष्पक्ष राख्नुपर्नेमा जोड दिएका छन्।
बुधबार प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाइका क्रममा आफ्नो धारणा राख्दै पूर्वमन्त्रीसमेत रहेका पुनले आयोग कतिपय अवस्थामा आफैँ ‘खेलाडी’ बन्न खोजेको भन्दै आलोचना गरे।
सांसद पुनले सूचना प्रविधिको तीव्र विकास र आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोगले निर्वाचन प्रणालीमा नयाँ चुनौती थपेको बताए। आगामी पाँच वर्षमा निर्वाचनको स्वरूप पूर्णतः परिवर्तन हुने उल्लेख गर्दै उनले निर्वाचनमा प्रविधिको प्रयोग बढाउन र विदेशमा रहेका तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने माग गरे।
मतदानका दिन सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प पारिँदा मतदाताको सहभागितामा कमी आएको तर्क गर्दै उनले सुरक्षा चुनौतीलाई ख्याल गर्दै यातायात सहज बनाउनुपर्ने सुझाव दिए। आफ्नो भनाइ राख्दै उनले भने, ‘अहिले डिपफेक र अल्गोरिदमको जमाना छ। हामी प्रचारमा नगए पनि हाम्रा नक्कली भिडियो र आवाजहरू प्रयोग हुन सक्छन्।’
यस्ता प्रविधिले निर्वाचनको विश्वसनीयतामा पार्ने प्रभावलाई सम्बोधन गर्न आयोगले विशेष तयारी गर्नुपर्नेमा उनले जोड दिए।
यस्तै, विदेशमा रहेका नागरिक र आन्तरिक लोकतन्त्रबारे बोल्दै उनले थपे, ‘निर्वाचन क्षेत्र बाहिर रहेका युवा र विदेशमा रहेका नेपालीलाई मतदान प्रक्रियामा जोड्न निर्वाचन आयोगले ठोस पहल गर्नैपर्छ। दलहरूको आन्तरिक लोकतन्त्रलाई व्यवस्थित बनाउन सहयोग गर्ने हो, तर आयोग आफैँ दलको विवादमा पक्षधर देखिनु हुँदैन।’ आयोगको निर्णय पूर्वानुमानयोग्य र पारदर्शी हुनुपर्ने धारणा उनले व्यक्त गरे।
विगतको प्रचार शैली सम्झिँदै पुनले भने, ‘विगतमा रेडियो नेपाल वा गोरखापत्रमा निश्चित स्थान दिइन्थ्यो। अब आयोगले नै डिजिटल माध्यमबाट उम्मेदवारको प्रचार गर्ने व्यवस्था मिलाए खर्च कम हुने र पहुँचमा समानता आउनेछ।’



