Nov 04 2026 | २०८३ कार्तिक १९ गते

बुर्लाकोटीको प्रश्न : १६ वर्षमै मतदानको अधिकार र नागरिकताकै आधारमा भोट हाल्ने व्यवस्था गर्न सकिन्छ ?

बुर्लाकोटीको प्रश्न : १६ वर्षमै मतदानको अधिकार र नागरिकताकै आधारमा भोट हाल्ने व्यवस्था गर्न सकिन्छ ?

बुधवार, श्रावण १३ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कवीन्द्र बुर्लाकोटीले १६ वर्ष उमेर पुगेका युवाहरूलाई मतदानको अधिकार दिनुपर्ने र नागरिकता वा राष्ट्रिय परिचयपत्र भएकै आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाउनुपर्ने प्रस्ताव गरेका छन्।

    प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको कार्य योजनामाथि संसदीय सुनुवाइ समितिमा भएको छलफलमा बोल्दै उनले निर्वाचन प्रणालीमा आमूल परिवर्तनको खाँचो रहेको औँल्याए।

    images

    सांसद बुर्लाकोटीले नागरिकता र राष्ट्रिय परिचयपत्र भइसकेपछि पनि मतदाता नामावलीमा नाम नभएकै कारण नागरिक मतदानबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए।

    ‘नागरिकता र राष्ट्रिय परिचयपत्र भइसकेपछि मतदाता नामावलीमा नाम छैन भन्नुको अब अर्थ छैन,’ उनले भने–  ‘यी परिचयपत्रका आधारमा सिधै मतदान गर्ने व्यवस्था मिलाउन तपाईँसँग के योजना छ?’

    उनले मतदान गर्ने उमेर हदलाई घटाउनुपर्ने धारणा राख्दै १६ वर्ष पुगेका युवाहरूलाई मतदानको प्रक्रियामा सहभागी गराउन कानुन संशोधनका लागि पहल गर्न प्रस्तावित प्रमुख आयुक्तलाई आग्रह गरे।

    निर्वाचन आचारसंहिता पालनाका क्रममा आयोगले पक्षपात गर्ने गरेको भन्दै बुर्लाकोटीले गम्भीर प्रश्न उठाए । उनले भने–‘उम्मेदवारी र प्रचार–प्रसारका क्रममा ठुला शक्तिले जे गरे पनि आयोगले नदेखेजस्तो गर्ने तर साना दललाई भने कडाइ गर्ने गरिएको देखिन्छ। तपाईं आएपछि सबैलाई बराबर व्यवहार गर्न के गर्नुहुन्छ?’

    निर्वाचन आयोगले दलहरूलाई मर्जरका लागि दबाब दिन नहुने उनको तर्क थियो। ‘राजनीतिक दलहरू आफैँ मर्ज हुन्छन् भने त्यो उनीहरूको खुसीको कुरा हो, तर आयोगले दबाब दिने वा अनिवार्य गर्ने काम गर्नुहुँदैन,’उनले भने।

    मतदानका दिन सार्वजनिक सवारी चल्न नदिँदा मतदातालाई समस्या पर्ने गरेको उल्लेख गर्दै उनले विकल्प पेस गरे। बुर्लाकोटीले निर्वाचनको दिन सरकारले नै निःशुल्क यातायातको व्यवस्था गर्नुपर्ने वा एक पालिकाबाट अर्को पालिकामा चल्न नदिने गरी स्थानीय रूपमा यातायात सहज बनाउनुपर्ने सुझाव दिए।

    उनले विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिने विषयमा आयोग कत्तिको सकारात्मक छ भनी उनले चासो राखे । अहिलेसम्म मतदातालाई निर्वाचनमा सहभागी हुन उत्साहित बनाउने ठोस योजना नदेखिएको भन्दै उनले नयाँ मेकानिजम खोज्न सुझाव दिए।

    प्रदेश र स्थानीय तहको निर्वाचनलाई कम चुनौतीपूर्ण र बढी व्यवस्थित बनाउन ठोस कार्ययोजना माग गरे। निर्वाचन प्रक्रियामा समुदायलाई प्रत्यक्ष जोड्ने संयन्त्र विकास गर्नुपर्नेमा उनको जोड थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार