काठमाडौँ। पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपति, उपकुलपति, सदस्य–सचिव, प्रज्ञा परिषद् सदस्य तथा प्रज्ञा सभा सदस्य नियुक्त गरेको छ।
नगरप्रमुख धनराज आचार्यले प्रतिष्ठानको कुलपतिमा सरस्वती लालचन ‘प्रतीक्षा’ (भाषा तथा साहित्य), उपकुलपतिमा तिलक पुर्जा पुनमगर (कला तथा साहित्य) र सदस्य–सचिवमा जीवन दाहाल (लोकगीत तथा संगीत) लाई नियुक्ति तथा जिम्मेवारी प्रदान गरेका हुन्
प्रज्ञा परिषद् सदस्यमा श्रीजंग गुरुङ (नृत्य), हरेराम जोजेजु (फाइन आर्ट/ललितकला), दिलीप गायक (संगीत तथा वाद्यवादन) र प्रमीला ताम्राकार तुलाचन (रङ्गमञ्च तथा अभिनय) नियुक्त भएका छन्।
त्यसैगरी, प्रज्ञासभा सदस्यमा कल्पना चिलवाल (साहित्य), कृष्णप्रसाद गौतम (संस्कृति), गमबहादुर परियार (नृत्य निर्देशन तथा कलाकार), ज्योति गुरुङ (फाइन आर्ट/ललितकला), नवराज अधिकारी (लेखनाथ साहित्य प्रतिष्ठान), प्रेमराज अधिकारी (लोकगीत तथा संगीत/गीतकार), भास्करध्वज श्रेष्ठ (संगीत तथा ब्यान्ड), रवीन्द्र माकाजु (साहित्य तथा इतिहास), रीता पाहारी (साहित्य तथा कला) र शिवहरि ढुङ्गाना (लोक तथा दोहोरी गीत–संगीत) मनोनयन भएका छन्।
नियुक्तिपछि आयोजित कार्यक्रममा नगरप्रमुख आचार्यले प्रतिष्ठानका गतिविधिमार्फत पोखरा महानगरपालिकाभित्रको साहित्य, कला, संस्कृति, भाषा तथा समग्र प्राज्ञिक क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । प्रतिष्ठानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पोखरा घरमा व्यवस्थित कार्यालय, आवश्यक कानुनी व्यवस्था र बजेटको समेत प्रबन्ध गरिएको उनले जानकारी दिए।
उपप्रमुख मञ्जुदेवी गुरुङले प्रतिष्ठानको सक्रियताले नगरको साहित्य, कला, भाषा, सिर्जना र संस्कृतिको विकासमा टेवा पुग्ने बताउँदै महानगरपालिकाले आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
नवनियुक्त कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’ले आफूहरूलाई प्रदान गरिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै पोखराको प्राज्ञिक क्षेत्रको विकास र श्रीवृद्धिका लागि समर्पित भएर काम गर्ने बताइन् । उनले पोखरा प्रज्ञा प्रतिष्ठानलाई देशकै नमुना प्राज्ञिक संस्थाका रूपमा स्थापित गर्ने विश्वाससमेत व्यक्त गरिन्।
पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ (दोस्रो संशोधन, २०८२) बमोजिम कुलपतिसहित अन्य पदाधिकारीको नियुक्ति तथा मनोनयन गरेको हो।



