Nov 04 2026 | २०८३ कार्तिक १९ गते

लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'

लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'

सोमवार, श्रावण ११ २०८३
  • काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले प्रदेश सरकार गठनका लागि आवश्यकता अनुसार पहल गर्न निर्देशन दिएसँगै लुम्बिनी प्रदेशमा हलचल बढेको छ । एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच सत्ता गठबन्धन बनेसँगै कांग्रेसले आन्तरिक छलफल थालेको छ।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले केन्द्रबाट आएको पछिल्लो निर्देशनअनुसार प्रदेशमा छलफल तीव्र बनाइएको बताए।

    images

    चौधरीले सोमबार बिहान मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेटवार्ता गरेका छन् । यस्तै, उनले नेकपा संसदीय दलका नेता जोखबहादुर महरासँग पनि सम्पर्क गरेको रातोपाटीलाई बताए।

    कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको राजीनामाका विषयमा भने अझै ‘पर्ख र हेर’को अवस्था रहेको चौधरीले जानकारी दिए।

    ‘मुख्यमन्त्रीज्यूले अझै केही समय हेरौँ भन्नुभएको छ । त्यसैले हाम्रो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा बुझाउने विषयमा पनि केही समय पर्खने अवस्था छ,’ चौधरीले भने, ‘तर केन्द्रको अवस्था र अन्य प्रदेशको वातावरण हेर्दा साँझसम्म के हुन्छ भनेर भन्न सकिने अवस्था छैन।’

    कांग्रेसबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी पाँच मन्त्रीले संसदीय दलसमक्ष आइतबार नै सामूहिक राजीनामा बुझाएका थिए । कांग्रेस संसदीय दलकी मुख्य सचेतक जमुना ढकालका अनुसार मन्त्रीहरूले राजीनामा बुझाए पनि मुख्यमन्त्री आचार्य कपिलवस्तुमा पार्टीको कार्यक्रममा रहेकाले आइतबार  बुझाउन सकिएन।

    आज मुख्यमन्त्रीसँग फोनमा कुराकानी हुँदा अहिले नआउनु भनेपछि राजीनामा तत्कालका लागि 'होल्ड' गरिएको ढकालले रातोपाटीलाई बताइन्।

    लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरणमन्त्री देवकरण कलवार सहभागी छन्।

    कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री चेतनारायण आचार्यलाई दिएको विश्वासको मतसमेत कांग्रेसले फिर्ता लिने छ । त्यसपछि नयाँ गठबन्धन निर्माणका लागि बाटो खुल्नेछ।

    यद्यपि, मुख्यमन्त्री आचार्यलाई आफ्नै पार्टी नेकपा एमालेभित्रबाट समेत चुनौती देखिएको बताइएको छ। एमालेका एक सांसदका अनुसार पार्टीभित्रै केही नेताले मुख्यमन्त्री बन्नका लागि आ–आफ्नो ढंगले ‘लबिङ’ गरिरहेका छन्।

    पूर्वमुख्यमन्त्री लिला गिरी, पूर्वभौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकाल र पूर्वस्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले मुख्यमन्त्री पदका लागि आ–आफ्नो ढंगले लबिङ गरिरहेको चर्चा एमालेभित्र चलेको ती सांसदले बताए।लुम्बिनी प्रदेशमा सत्ता समीकरण फेरबदलसँगै एमालेभित्रको शक्ति सङ्घर्षसमेत सतहमा आउन थालेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार