Nov 04 2026 | २०८३ कार्तिक १९ गते

अवरोधका समयमा यस सुरुङमार्गको अपरिहार्यता थप पुष्टि भएको छ : डा. अकिहिको

अवरोधका समयमा यस सुरुङमार्गको अपरिहार्यता थप पुष्टि भएको छ : डा. अकिहिको

सोमवार, श्रावण ११ २०८३
  • काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्गको रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक समुद्घाटनसँगै मुलुकको सडक यातायात क्षेत्रमा नयाँ युगको सुरुवात भएको छ।

    सोमबार आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले यस आयोजनालाई नेपाल र जापानबीचको प्रगाढ सम्बन्ध र सहयोगको महत्त्वपूर्ण उपलब्धि भएको बताए।

    images

    सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा खण्ड पार गर्न लाग्ने समय अब ५ देखि ७ मिनेटमा सीमित भएको छ। यस पूर्वाधारले सवारी चाप न्यूनीकरण, सडक सुरक्षामा सुधार र यातायात दक्षता अभिवृद्धि गर्नेछ। यसबाट मुलुकको आर्थिक गतिविधि र नागरिकको दैनिक जनजीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

    दुई वर्षअघि भएको कीर्तिमानी वर्षा र त्यसले निम्त्याएको अवरोधका समयमा यस सुरुङमार्गको अपरिहार्यता थप पुष्टि भएको अध्यक्ष तानाकाले उल्लेख गरे। निर्माणकै चरणमा रहे पनि विपद्को समयमा यस करिडोरले सम्पर्क मार्गको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो। ‘यसले सङ्कटका समयमा आपत्कालीन सेवा र अत्यावश्यक वस्तुहरूको ढुवानीका लागि लचिलो पूर्वाधारको महत्त्वलाई पुनः स्थापित गरेको छ,’ उनले भने, ‘यो एक भरपर्दो पूर्वाधार साबित भएको छ।’

    हिमालय क्षेत्रको कठिन भू-गर्भीय बनावटका कारण आयोजना निर्माणका क्रममा विभिन्न प्राविधिक चुनौतीहरू सामना गर्नुपरेको उनले बताए। उत्खननका क्रममा पटक-पटक भएको पहिरो, चट्टानको विरूपण र जमिनको तीव्र दबाब जस्ता समस्याहरूलाई जापानी प्रविधि र नेपाली जनशक्तिको साझा प्रयासबाट समाधान गरिएको थियो। यस आयोजनामा ९८ प्रतिशत जनशक्ति नेपाली इन्जिनियर र कामदारहरू रहेका थिए। उनीहरूले जापानी विज्ञहरूसँगको सहकार्यमा प्रविधि र सीप हस्तान्तरणको उदाहरणीय कार्य गरेको अध्यक्ष अकिहिकोको भनाइ छ।

    नेपाल र जापानबीचको दौत्य सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा सम्पन्न यस आयोजनाले दुई देशबीचको आपसी विश्वास र सहकार्यलाई नयाँ उचाइमा पुर्‍याएको छ। यसै सफलतालाई जग मानेर आगामी दिनमा सुरुङमार्गको योजना, निर्माण, सञ्चालन र मर्मतसम्भारमा नेपालको क्षमता अभिवृद्धि गर्न दुई देशबीच नयाँ प्राविधिक सहयोग कार्यक्रम समेत सुरु हुने भएको छ।

    जाइकाले नेपालको दिगो विकासका लागि एक भरपर्दो साझेदारको रूपमा आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। यो सुरुङमार्गले नेपालको सुरक्षित आवागमन, दिगो आर्थिक वृद्धि र राष्ट्रिय उत्थानशीलतामा युगौँसम्म योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार