काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ । उनी शनिबार नै भारत जाने तयारी भए पनि आइतबारका लागि सारिएको थियो । तर उनी आइतबार पनि भारत नजाने भएका छन्।
भारतको नयाँदिल्लीमा पार्टीको जनसम्पर्क समितिको अधिवेशन आयोजना गरिएको छ । सो कार्यक्रममा थापालाई प्रमुख अतिथिको रुपमा बोलाइएको थियो । थापा कार्यक्रममा जान तयार पनि भएका थिए । तर उनले अन्तिम समयमा भारत नजाने निर्णय गरे।
कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति थापाको भारत भ्रमणको कार्यक्रम स्थगित भएको अनलाइनखबरलाई बताए।त्यसको कारणबारे भने उनले स्पष्ट जवाफ दिएनन्।
अनलाइनखबरको जिज्ञासामा चालिसेले भने, ‘नितान्त आन्तरिक र प्राविधिक कारणले गर्दा सभापतिज्यूले भारत भ्रमण स्थगित गर्नु भएको हो ।’ उनको भारत भ्रमणको नयाँ मिति पनि तय नभएको उनले बताए।
भारत भ्रमण स्थगित गर्नुको कारण औपचारिक रुपमा कांग्रेसले बताएको छैन । तर आन्तरिक विवाद मुख्य कारण भएको स्रोत बताउँछ । विदेश महाधिवेशनबाट गगन थापा सभापति चुनिएदेखि संस्थापन र इतर पक्षबीच आन्तरिक विवाद तीव्र छ । विवादकै बीचमा थापा र इतर पक्षको नेतृत्व गर्दै आएका पूर्णबहादुर खड्का पक्षले देशव्यापी अभियान सन्चालन गर्दै आएका छन्।



