काठमाडौँ । भेनेजुएलाको उत्तरी तटीय क्षेत्रमा शक्तिशाली दुईवटा भूकम्प गएको एक महिना बितिसकेको छ । तर हजारौँ परिवारका लागि त्रासदी अझै समाप्त भएको छैन । कतिपयले अझै आफ्ना हराइरहेका आफन्तको खोजी गरिरहेका छन् भने धेरैले आफ्ना प्रियजनको शवसमेत फेला पार्न सकेका छैनन् । त्यससँगै भवनहरू किन ढले, निर्माणमा लापरबाही भएको थियो कि थिएन भन्ने प्रश्न पनि पीडित समुदायले निरन्तर उठाइरहेका छन्।
४९ वर्षीय माछा मार्ने काम गर्ने भिक्टर काल्देरोनका लागि त्यो दिन जीवनकै सबैभन्दा पीडादायी बन्यो । उनी लगातार १८ दिनदेखि समुद्रमा माछा मारिरहेका बेला रेडियोमार्फत आफू बस्ने भवन भत्किएको खबर पाए । किनारमा फर्किएपछि उनले परिवारका २६ सदस्य गुमाइसकेको यथार्थ सामना गर्नुपर्यो।
उनले गुमाएकामध्ये दिदीबहिनी, उनीहरूका छोराछोरी र नातिनातिना, सौतेनी बुबा तथा नौ जना त काका–काकीका सन्तान थिए । मृतकहरूको उमेर दुई वर्षदेखि ७० वर्षभन्दा माथिसम्म थियो।
भिक्टर अझै पनि बेपत्ता आफन्तहरूको खोजीमा छन् । ‘सबै हराएकालाई फेला नपार्दासम्म म रोएको छैन,’ उनले भावुक हुँदै भने । अहिले उनी आफ्नी छोरी र नातिनीसँग अस्थायी पालमा बसिरहेका छन् । उनीहरू बस्ने सार्वजनिक आवासीय भवन पूर्ण रूपमा ध्वस्त भएको थियो।
सरकारी तथ्यांकअनुसार भूकम्पमा हालसम्म ५ हजार ३ सयभन्दा बढी मानिसको मृत्यु पुष्टि भएको छ भने १६ हजार ५ सयभन्दा बढी घाइते भएका छन् । सरकारले बेपत्ताको आधिकारिक संख्या सार्वजनिक नगरे पनि त्यो संख्या दशौँ हजारमा हुन सक्ने अनुमान गरिएको छ।
सबैभन्दा बढी क्षति पुगेको काराबायेडा क्षेत्रमा उद्धार कार्य अझै जारी छ । हालै भग्नावशेषबाट ११ वर्षीया बालिकासहित तीन जनाको शव निकालिएको थियो । एक महिनादेखि छोरीको खोजी गरिरहेका उनका बुबाले शव भेटिएपछि आफैलाई थाम्नै नसक्ने गरी रुन थाले । उद्धारकर्मीहरूले पनि केहीबेर काम रोकेर मौन प्रार्थना गरेका थिए।
उद्धार टोलीका सदस्य माजिन हेर्नान्डेजले यस्तो दृश्यले उद्धारकर्मीलाई समेत मानसिक रूपमा भत्काइदिने बताए । ‘परिवार, साथीभाइ र उद्धार टोली सबैका लागि यो आत्मा च्यातिने अनुभव हो,’ उनले भने।
भूकम्पपछि सहयोगका लागि पुगेका अधिकांश अन्तर्राष्ट्रिय उद्धार टोली आफ्ना देश फर्किसकेका छन् । त्यसपछि धेरै परिवार आफ्नै बलमा भग्नावशेष खोतल्दै आफन्त खोज्न बाध्य भएका छन्।
यस अवस्थाले सरकारप्रति जनआक्रोश पनि बढाएको छ । प्रभावितहरू मुख्यतः यस्ता प्रश्न उठाइरहेका छन्, १२ मध्ये १० वटा आवासीय भवन किन ढले ? भवनको डिजाइनमा कमजोरी थियो कि ? निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको थियो कि ? कतै लापरबाही त भएको थिएन?
यद्यपि सार्वजनिक निर्माणमन्त्री जुआन होसे रामिरेजले यी आरोप अस्वीकार गरेका छन् । उनका अनुसार भूकम्पको तीव्रता नै असाधारण थियो । ‘लगभग एकै समयमा फरक दिशाबाट आएका दुई शक्तिशाली भूकम्प कुनै पनि देशका लागि ठूलो चुनौती हुन्थे,’ उनले भने । उनका अनुसार सार्वजनिक मात्र होइन, निजी भवनहरू पनि समान रूपमा ध्वस्त भएकाले कुनै विशेष निर्माणलाई मात्र दोष दिन नमिल्ने दाबी गरे।
कटिया ला मार क्षेत्रमा अर्को एउटा मार्मिक कथा पनि देखियो । भूकम्प गएको आठ दिनपछि पार्किङ क्षेत्रमा थुनिएका सुरक्षा गार्ड हेर्नान गिललाई जीवितै उद्धार गरिएको थियो । त्यस घटनाले केही समय देशभर आशा जगाएको थियो।
तर अहिले त्यही भवनमा लौरा बारियोस आफ्नो ज्वाइँको शव खोजिरहेकी छन् । केही दिनअघि मात्र उनकी नन्द र तीन तथा १० वर्षका दुई बालबालिकाको शव एउटै कोठाबाट भेटिएको थियो । ‘बाल दिवस आयो, तर हाम्रो परिवारमा कुनै बच्चा बाँकी छैन,’ उनले आँसु झार्दै भनिन्।
उनले उद्धारमा ढिलाइ गरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरिन् । भग्नावशेष हटाउन प्रयोग भइरहेको भारी उपकरणसमेत अर्को स्थानमा लगिएपछि उनीहरू पुनः आफ्नै प्रयासमा खोजी गर्न बाध्य भएका छन्।
भूकम्पपीडितलाई खाना र पिउने पानी उपलब्ध गराउन विभिन्न मानवीय संस्थाहरू सक्रिय छन्।तर धेरै परिवार अझै सडक किनारमा टाँगिएका साधारण पालमै बसिरहेका छन्।
सरकारले हालसम्म २०० परिवारलाई नयाँ घर उपलब्ध गराएको जनाएको छ । तर वास्तविक आवश्यकता त्योभन्दा सय गुणा बढी हुन सक्ने अनुमान छ । विश्व बैंकका अनुसार यी दुई भूकम्पबाट करिब १९ अर्ब ६० करोड अमेरिकी डलर बराबरको क्षति भएको छ । पुनर्निर्माणमा वर्षौँ लाग्ने र अर्बौँ डलर लगानी आवश्यक पर्ने देखिएको छ।



