काठमाडौँ । प्रहरीले आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको नक्कली उत्पादन गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली तेलको गोदाममा छापा मारेर ठुलो परिमाणमा तेल पनि बरामद गरेको छ।
काठमाडौँको कलङ्की, बागबजार र ललितपुरको टीकाथलीमा छापा मारेर नक्कली तेल र प्याकिङ कभर बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । पक्राउ पर्नेमा प्युठान घर भएका रामप्रसाद पोखरेल, ताप्लेजुङको खेवाङ घर भएका आइतमान ताम्लिङ लिम्बु र उनका भाइ बुद्धिमान ताम्लिङ लिम्बुसहित ५ जना छन्।
दुखाई निको हुने भन्दै मसाज गर्न आयुर्वेदिक तेल प्रयोग गरिन्छ । प्रहरीले नक्कली सिल्भर वार्म थेरापी तेल र जाइफल मिश्रित तेल पनि बरामद गरेको छ । आरोपीहरूमाथि कालोबजारी र उपभोक्ता संरक्षण ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको एसएसपी खड्काले जानकारी दिए।
अनुसन्धान कार्यालयको टोलीले बागबजारबाट छाप्दै गरेको अवस्थामा नक्कली तेलमा प्रयोग गरिने करिब ५० हजार पिस कभर बरामद गरेको छ।



