काठमाडौं । बीमा ऐन र धितोपत्र सम्बन्धी ऐन अन्तर्गतको कसूरमा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौं महानगरपालिका वडा नं. ७ सिफल बस्ने मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको हो।
नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी दीपक भट्ट समेत भएको मुद्दामा रिमाल फरार रहेका थिए। बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको अभियोग लागेका उनलाई सीआईबीको विशेष टोलीले सिफलबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका रिमाललाई आवश्यक कानूनी कारबाहीका लागि सोमबार काठमाडौं जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा. ले बिहीबार जानकारी दिए।



