काठमाडौँ । इरान समर्थित यमनका हुथी विद्रोहीहरूले लाल सागरमा दुईवटा साउदी तेल ट्याङ्करमाथि ड्रोन र क्षेप्यास्त्र प्रयोग गरेर आक्रमण गरेको दाबी गरेका छन् । उता अमेरिकाले इरानमाथि लगातार १२औँ रात पनि हवाई आक्रमण जारी राखेको छ, जसले पश्चिम एसियाको तनावलाई थप चर्काएको छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमणमा बुधबार दुई जनाको मृत्यु भएको छ । साथै, स्ट्रेट अफ होर्मुजमा बारुदी सुरुङ भएको मार्गमा भएको विस्फोटपछि एउटा तेल ट्याङ्करमा आगलागी भएको र अन्य दुई ट्याङ्करलाई अघि बढ्नबाट रोकिएको दाबी गरिएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुजमा कुनै जहाजमाथि आक्रमण गरेमा इरानको कुनै पुल वा विद्युत् केन्द्र ध्वस्त पार्ने चेतावनी दिएका थिए । उनले हुथीहरूले लालसागर अवरुद्ध गरेमा उनीहरूलाई पनि ‘कडा जवाफ’ दिने बताएका थिए । यदि पुष्टि भयो भने, साउदी अरबविरुद्ध हुथीहरूले घोषणा गरेको समुद्री नाकाबन्दीपछि भएको यो पहिलो आक्रमण हुनेछ।
हुथीहरूले एनसिलिया र लेला नाम गरेका दुई साउदी तेल ट्याङ्करलाई निशाना बनाएको दाबी गरेका छन् । यद्यपि, लेलामाथिको आक्रमण स्वतन्त्र रूपमा पुष्टि भएको छैन । हुथी सैन्य प्रवक्ता यह्या सारीले यी जहाजहरूले हुथीहरूको समुद्री नाकाबन्दी उल्लङ्घन गरेको आरोप लगाउँदै ड्रोन र मिसाइलद्वारा आक्रमण गरिएको बताए । ‘नाकाबन्दीको जवाफ नाकाबन्दी’ भन्ने रणनीति जारी रहने पनि उनले बताए।
साउदी सरकारी समाचार संस्था एसपीएले एनसिलिया लाल सागरमा यात्रा गरिरहेको बेला प्रहार भएको पुष्टि गरेको छ। आक्रमणमा परेर जहाजको अगाडिको भागमा आगलागी भए पनि सबै चालक दल सुरक्षित रहेको जनाइएको छ ।
बेलायतको समुद्री व्यापार सञ्चालन यूकेएमटीओले पनि साउदी तटबाट करिब १३० किलोमिटर टाढा एउटा अज्ञात प्रक्षेप्यास्त्रले तेल ट्याङ्करमा प्रहार गरेको र त्यसबाट आगलागी भएको तर कुनै मानवीय क्षति नभएको जनाएको छ।
अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले राष्ट्रपति ट्रम्पको निर्देशनमा इरानका सैन्य लक्ष्यहरूमाथि आक्रमण गरिएको जनाएको छ । आक्रमणमा समुद्री सैन्य क्षमता, मिसाइल र ड्रोन भण्डारण केन्द्र, तटीय निगरानी स्थल, हवाई प्रतिरक्षा प्रणालीलाई निशाना बनाएको बताइएको छ।
सेन्टकमका अनुसार यी कारबाहीहरू क्षेत्रीय जलमार्ग हुँदै यात्रा गर्ने व्यापारिक जहाजहरूको सुरक्षा सुनिश्चित गर्न गरिएको हो । उता, इरानी सरकारी सञ्चारमाध्यमले अमेरिकी आक्रमणमा दक्षिणी इरानमा दुई जनाको मृत्यु भएको बताइएको छ।
उसका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी)ले स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा बन्द भएको दाबी गरेको छ । तीनवटा तेल ट्याङ्करलाई उक्त जलमार्ग पार गर्नबाट रोकिएको र एउटा ट्याङ्करमा आगलागी भएको र अन्य दुई फर्किएको पनि भनिएको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाको आक्रमणको जवाफ ‘आँखाको बदलामा आँखा’ शैलीमा दिइने चेतावनी दिएका छन् । यसअघि ट्रम्पले हुथीहरूले बाब अल–मन्दब स्ट्रेट बन्द गरेमा उनीहरूविरुद्ध पनि कारबाही गर्ने बताएका थिए।
हुथीहरूले सोमबारदेखि साउदी जहाजहरूलाई लक्षित गर्दै बाब अल–मन्दब जलडमरूमध्यमा समुद्री नाकाबन्दी लागू गरेको घोषणा गरेका थिए।



