काठमाडौंका विभिन्न होल्डिङ्ग सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीहरुलाई जग्गा वितरणको प्रक्रिया शुरु भएको छ । कहीँ–कतै जग्गा नभेटिएकालाई सरकारले उनीहरुकै गृहजिल्लामा जग्गा वितरण गर्न लागेको हो । पहिलो चरणमा २९ जनालाई जग्गा बाँडिदैछ ।
रेडक्रस तालिम केन्द्र, राधास्वामी सत्संग, खानेपानी तालिम केन्द्रमा आश्रय लिइरहेका ती २९ जनालाई तत्कालै आफ्नो पालिका जान भन्दै भूमि व्यवस्था समाधान समितिले सूचना जारी गरेको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुकुम्बासीहरुको जग्गा खोजतलास गरेको थियो ।
मन्त्रालयले जग्गा नभेटिएका सुकुम्बासीहरुको विवरण असार २९ गते समितिलाई पठाएको हो । समितिले उनीहरुलाई जग्गा उपलब्ध गराउनका निम्ति सम्बन्धित जिल्ला समिति र पालिकामा पत्राचार गरिसकेको छ । समितिले ती सुकुम्बासीलाई तुरुन्तै पालिका पुगेर सम्पर्क गर्न सूचित गराएको छ ।



