काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट पारित गर्न असहयोग भएपछि सत्ता साझेदार दल नेकपा एमालेका मन्त्रीलाई बर्खास्त गरे । अर्कोतिर नेपाली कांग्रेसका कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँगको सहकार्यमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरे।
यी दुई घटनाले बाँकी पाँच प्रदेशका साथै केन्द्रमा पनि हलचल भयो । यी दुई प्रदेशमा भएका पछिल्लो राजनीतिक घटनाले सरकारको भविष्यमाथि प्रश्न उठाएकोमात्र होइन, आवश्यकता अनुसार प्रदेशले आत्मनिर्णय गर्न सक्छ भन्ने उदाहरण पनि स्थापित गर्न खोजेको छ।
एक वर्षको हाराहारीमा प्रदेश सभाको कार्यकाल बाँकी रहँदा प्रदेश सरकार फेरबदल गर्नु कति उचित हो भन्ने प्रश्न आफ्नो ठाउँमा छँदैछ, प्रदेशको सरकारबारे पहिलो निर्णय प्रदेश तहबाटै हुन्छ भन्ने सन्देश सुदूरपश्चिम र कर्णाली प्रदेशले दिन खोजेका छन्।
०८१ असारमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाबिच भएको सात बुँदे सहमतिको जगमा कांग्रेस–एमाले गठबन्धन बनेको थियो । सोही आधारमा सङ्घीय सरकार र सबै प्रदेशका सरकार गठन भएका थिए । गत वर्ष भदौको जेनजी आन्दोलनले ओली नेतृत्वको सङ्घीय सरकार ढल्यो । यद्यपि सोही गठबन्धन अनुसार प्रदेश सरकार कायम थिए।
यसबिचमा नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत देउवालाई पाखा लगाउँदै गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिसकेको छ । कांग्रेसको नयाँ नेतृत्वले प्रदेश तहमा कायम गठबन्धन र त्यसको भविष्यबारे औपचारिक रूपमा केही भनिसकेको थिएन । यो अवस्थामा सुदूरपश्चिम र कर्णालीमा नेपाली कांग्रेसले नै एमालेसँगको गठबन्धन तोड्ने निर्णय भयो । गठबन्धन तोडेको विषयमा पनि कांग्रेस नेतृत्वले औपचारिक रूपमा कुनै प्रतिक्रिया जनाएको छैन।
झट्ट हेर्दा नेपाली कांग्रेसले सङ्घीयताको मर्म अनुसार प्रदेशलाई आत्मनिर्णयको अधिकार दिएजस्तो देखिन्छ । यद्यपि प्रदेशको सत्ता समीकरणका सम्बन्धमा कांग्रेस नेतृत्व भूमिकाविहीन भने छैन।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सोमबार पत्रकार सम्मेलनमा प्रदेश सरकारमा देखिएको हलचलबारे धारणा राख्ने क्रममा प्रदेशहरू प्रतिपक्षविहीन हुन नहुने प्रस्ट पारे । उनको यो भनाइ नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच प्रदेश सरकार गठनका सन्दर्भमा सहकार्यका लागि छलफल भइरहेको समाचार बाहिर आइरहेकै समयमा सार्वजनिक भएको हो।
जबकि कर्णाली प्रदेशमा नेकपाले नै नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन प्रस्तावसहित मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्तावमा आफ्ना सांसदको हस्ताक्षर गराइसकेको छ । शाही नेपाली कांग्रेसमा संस्थापन इतर समूहका नेता हुन् । त्यसैले उनको सत्तारोहणका लागि कांग्रेसको वर्तमान नेतृत्व सहज देखिएको छैन।
अर्कोतिर सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह पनि एमालेका मन्त्रीलाई बर्खास्त गर्नुअघि काठमाडौँ आएका थिए । सुदूरपश्चिमको बजेटबारे सत्ता गठबन्धनभित्र देखिएको विवाद सुल्झाउन पार्टीको केन्द्रले आवश्यक सहयोग नगरेपछि उनी एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्न बाध्य भएको कतिपयको बुझाइ छ।
यही अवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य पनि सत्ता जोगाउनका लागि सहयोग माग्न केन्द्र नै आए । यद्यपि सोमबार रातोपाटीसँग कुरा गर्दै उनले आफूले कुनै नेतासँग भेटघाट नगरेको बताए।
अल्पमतमा परिसकेका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल पनि केन्द्रबाटै कुनै चमत्कार भइहाल्छ कि भन्ने आशमा राजीनामा नदिइ बसेका छन्।
बागमती सरकारबाट फिर्ता हुने तयारीमा रहेको नेकपा एमाले अन्तिम समयमा आएर रोकिएको छ । एमालेले पनि पार्टीको केन्द्रबाट आएको निर्देशन अनुसार राजीनामा दिने निर्णयलाई केही दिनका लागि ‘होल्ड’ गरेको नेताहरू बताउँछन् । कोशी प्रदेशमा पनि सोही अवस्था छ।
प्रदेश सरकार गठनका लागि संविधानको धारा १६८ मा उपधारा १, २, ३ देखि ५ मा व्यवस्था छ । एकल बहुमतको सरकार, गठबन्धन सरकार, प्रदेश सभामा सबैभन्दा ठुलो दलको सरकार र प्रदेश सभामा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्य नेतृत्वको सरकार गठनका लागि यी उपधारामा व्यवस्था छ।
सङ्घीयता अनुसार सबै दलको प्रादेशिक संगठनात्मक संरचना पनि छ । यद्यपि, कुनै पनि पार्टीको प्रदेश कमिटीले आफ्नो प्रदेशमा हुने सत्ता हेरफेर, मन्त्रीमा सिफारिस लगायतमा अधिकार प्रयोग गर्ने अवस्था छैन।
सत्ता हेरफेर र मन्त्री नियुक्तिजस्ता सवालमा सबैजसो पार्टीको केन्द्रीय नेतृत्व नै तात्ने गरेको छ । अझ रोचक पक्ष त यो छ कि, प्रदेश सरकारलाई सङ्घीय सरकारले अधिकार दिएन भनेर गनगन गर्ने नेताहरू समेत प्रदेश सरकार फेरबदल र मन्त्री नियुक्तमा आफ्नै पार्टी नेतृत्वबाट अधिकार पाउन नसकी खुम्चिएको अवस्थामा छन्।
गठबन्धन सम्बन्धी निर्णय केन्द्रमै गर्ने र सोही अनुसार सबै प्रदेश सरकारलाई अस्थिरतामा धकेल्ने अभ्यास हुँदै आएको छ, जबकि कतिपय प्रदेशमा साविककै गठबन्धनमा कुनै खटपट नदेखिएको नै किन नहोस् !



