काठमाडौँ । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा भेटिएका एक जना पुरुषको शव निकालिएको छ । प्रहरीले शव निकालेर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ।कीर्तिपुरको ट्याङ्लाफाँट स्थित चाँदनी चोकमा मंगलबार बिहान ११ बजेर २० मिनेटमा अचानक कारमा आगलागी भएको हो।
आगलागीमा परेर कार चालक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले बताए।आगलागी भएको बा.५ च ३०३८ नम्बरको कार नबिल बैंकबाट ऋण लिएर किस्तामा खरिद गरेको भेटिएको छ।
कार धनीको पहिचान भए पनि चालक र धनी एकै हुन कि होइनन् भन्नेबारे अनुसन्धान भइरहेको एसएसपी घिमिरेले जानकारी दिए । सेतो रङ्गको किया गाडी चाँदनी चोकमा आएर रोकिएको र सुरुमा गाडीभित्रबाट सानो आगो सल्केको देखिएको प्रत्यक्षदर्शीहरू बताउँछन् । अचानक आगो दन्किएपछि प्रहरी र स्थानीयले अग्निनियन्त्रक यन्त्रहरूको प्रयोग गरेर आगो निभाएका हुन् । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ।



