Nov 04 2026 | २०८३ कार्तिक १९ गते

डेंगुको प्रकोप रोक्न वायु सेनाका ड्रोन प्रयोग गरिरहेछ श्रीलङ्का

डेंगुको प्रकोप रोक्न वायु सेनाका ड्रोन प्रयोग गरिरहेछ श्रीलङ्का

मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौँ । श्रीलङ्कामा झन्डै एक दशकयताकै सबैभन्दा ठुलो डेंगु प्रकोप फैलिएको छ । रोगको फैलावट नियन्त्रण गर्न सार्वजनिक स्वास्थ्य निकाय र अस्पतालहरूले वायुसेनाका ड्रोनसहित सशस्त्र बलको सहयोग लिन थालेका छन्।

    मनसुन वर्षापछि घरका छतमा जमेको पानी पत्ता लगाउन वायुसेनाले ड्रोन प्रयोग गरिरहेको छ । साथै सेना र प्रहरीका टोलीहरूले घर, निर्माणस्थल तथा विद्यालयको निरीक्षण गर्दै लामखुट्टेले फूल पार्ने स्थान नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन्।

    images

    यस वर्ष जनवरीदेखि हालसम्म डेंगुका कारण ५३ जनाको मृत्यु भएको छ भने ७६ हजार ४४ जना सङ्क्रमित भएका छन् । अत्यधिक सङ्क्रामक डेंगुको नयाँ प्रकारका कारण संक्रमितको संख्या सन् २०१७ मा देखिएको एक लाखभन्दा बढी सङ्क्रमित भएको प्रकोपको नजिक पुगेको छ । कोलम्बोबाट करिब ३५ किलोमिटर उत्तरमा रहेको नेगोम्बो क्षेत्र सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो।

    बिरामीको संख्या अत्यन्त तीव्र गतिमा बढेकाले अस्पतालहरूमा ठुलो दबाब परेको छ । उनका अनुसार जुनयता दुई महिनाभन्दा कम अवधिमा मात्रै नेगोम्बो जिल्ला अस्पतालमा करिब १ हजार ८०० डेंगुका बिरामी उपचारका लागि आएका छन्। गत वर्ष सोही अवधिमा यो संख्या करिब १,०५० थियो । तर जुलाईमा संक्रमितको संख्या ह्वात्तै बढ्यो।

    स्वास्थ्य अधिकारीहरूका अनुसार जुलाईको पहिलो दुई सातामै १८ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । जुन महिनामा मात्रै २१ हजार ५३७ जनामा सङ्क्रमण पुष्टि भएको थियो, जुन मे महिनाको तुलनामा दोब्बरभन्दा बढी हो । डेंगुका सामान्य लक्षणमा उच्च ज्वरो, शरीर दुख्ने र भोक नलाग्ने समस्या देखिन्छ । हालसम्म श्रीलंकाले डेंगुविरुद्धको खोप राष्ट्रिय रूपमा प्रयोगमा ल्याएको छैन।

    राष्ट्रिय डेंगु नियन्त्रण इकाइका कार्यवाहक महानिर्देशक कपिला कन्ननगाराका अनुसार करिब ७५ प्रतिशत सङ्क्रमितमा डेंगुको बढी घातक मानिने डीईएनभी–२ प्रकारको भाइरस भेटिएको छ, जसले सङ्क्रमण तीव्र रूपमा फैलाइरहेको छ । गत नोभेम्बरमा आएको शक्तिशाली चक्रवातका कारण श्रीलंकाको स्वास्थ्य पूर्वाधारमा ठुलो क्षति पुगेको थियो। त्यसपछि अहिलेको डेंगु प्रकोपले अस्पतालहरूमा थप दबाब सिर्जना गरेको छ । बिरामीको चाप व्यवस्थापन गर्न अस्पतालहरूले नयाँ शय्या थपेका छन्, केही वार्डलाई डेंगु उपचारका लागि छुट्याएका छन् र चिकित्सक तथा नर्सहरूको कार्यसमय पनि बढाइएको छ।

    सरकारले सबैभन्दा बढी प्रभावित क्षेत्रमा व्यापक सरसफाइ अभियान सञ्चालन गरिरहेको छ । वायुसेनाका ड्रोनहरूले छतमा जमेको पानी र अन्य जोखिमयुक्त क्षेत्र पहिचान गरिरहेका छन्। केही सरकारी अस्पतालमा बिरामीको निगरानीमा पनि ड्रोन प्रविधिको सहयोग लिइँदैछ । यस महिनामात्र करिब ११ हजार लामखुट्टे प्रजननस्थल नष्ट गरिएको छ भने त्यस्ता स्थान भेटिएका ४ हजारभन्दा बढी घर तथा भवनलाई जरिवाना गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    अस्पतालमा अत्यधिक भीड भएकाले चिकित्सकहरूले सामान्य लक्षण भएका बिरामीलाई घरमै आराम गरेर उपचार गर्न सुझाव दिएका छन् । २३ वर्षीया शालिनी आलोका परेराले आफूलाई प्लेटलेट्स धेरै नघटेकाले चिकित्सकले घरमै उपचार गर्न सल्लाह दिएको बताइन्। उनका अनुसार अस्पतालमा बिरामीको अत्यधिक चाप भएकाले घरमै बसेर उपचार गर्नु उचित ठानिएको हो।

    स्वास्थ्य अधिकारीहरूले डेंगुविरुद्धको खोप प्रयोग गर्ने विषयमा पनि विचार गरिरहेका छन् । तर विशेषज्ञहरूले भाइरसका धेरै प्रकार सक्रिय रहेकाले खोपको प्रभाव सीमित हुन सक्ने चेतावनी दिएका छन् । चिकित्सकहरूको अनुमानअनुसार अगस्टमा मनसुन कमजोर भएसँगै सङ्क्रमण केही घट्न सक्छ । तर नोभेम्बरमा दोस्रो वर्षे मनसुन सुरु भएपछि डेंगुको सङ्क्रमण फेरि बढ्न सक्ने चेतावनी दिइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार