Nov 04 2026 | २०८३ कार्तिक १९ गते

बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता

बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता

मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौँ । पूर्वी अफगानिस्तानमा सोमबार परेको भीषण वर्षापछि आएको आकस्मिक बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । यस घटनामा सयभन्दा बढी व्यक्ति बेपत्ता भएको तालिबान सरकारले पुष्टि गरेको हो । नुरिस्तान प्रान्तको राजधानी पारुन सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । शहरका मेयरसमेत बेपत्ता भएका छन् भने ८० भन्दा बढी स्थानीय बासिन्दा घाइते भएका छन्।

    तालिबान अधिकारीहरूले यस घटनाबाट मानवीय तथा आर्थिक दुवै क्षेत्रमा ठुलो क्षति हुने अनुमान गरेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा घर, पसल तथा नगरपालिकाका भवनहरू गम्भीर रूपमा क्षतिग्रस्त भएको देखिन्छ । अफगानिस्तान जलवायु परिवर्तन र प्राकृतिक विपद्को चरम असर झेल्ने विश्वकै सबैभन्दा जोखिमयुक्त देशहरूमध्ये एक हो । यो वर्षेनी आँधी, बाढी तथा खडेरीको चपेटामा पर्ने गरेको छ।

    images

    स्थानीय गैरसरकारी संस्था श्पोलका प्रमुख आशिकुल्लाह सफीका अनुसार हालैको बाढीले पारुन नगरपालिकाको भवन पूर्ण रूपमा ध्वस्त पारेको छ । उनका अनुसार उद्धार उपकरणको अभावका बीच स्थानीय बासिन्दाहरू आफैँ भग्नावशेषमा हराइरहेका मानिसहरूको खोजी गरिरहेका छन्। बाढीले ठुलो परिमाणमा ढुंगाहरू शहरभरि बगाएर ल्याएको छ, जसले उद्धार कार्यलाई थप कठिन बनाएको छ।

    तालिबानको मौसम विभागले आगामी बुधबारसम्म अफगानिस्तानका ३४ मध्ये १० वटा प्रान्तमा भारी वर्षा र थप बाढी आउन सक्ने चेतावनी दिएको छ । अधिकारीहरूले नदी किनार तथा बाढीको उच्च जोखिम भएका क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेका छन् । यसअघि गत अप्रिलमा उत्तरी अफगानिस्तानमा आएको भीषण वर्षा र बाढीका कारण कम्तीमा १५० जनाको मृत्यु भएको थियो । तर, विश्व खाद्य कार्यक्रमले मृतकको संख्या ३०० भन्दा बढी पुगेको जनाएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार