काठमाडौँ । बागमती सरकारबाट नेकपा एमाले तत्काल राजीनामा नदिने निष्कर्षमा पुगेको छ । काठमाडौँको कोटेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले बागमती सरकारबाट अलग हुने विषयमा पार्टीको स्पष्ट निर्देशन कुर्ने निष्कर्ष निकालेको हो।
बैठकमा सहभागी बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलले पार्टीको माथिल्लो तहबाट स्पष्ट निर्देशन नआएसम्म आफूहरूले सरकार नछाड्ने बताए । हालैका राजनीतिक घटनाक्रम र मन्त्रीहरूको राजीनामाबारे बाहिर आएका चर्चा हल्ला मात्र भएकाले पार्टीको निर्देशन कुर्ने उनको भनाइ छ।
मन्त्री पौडेलका अनुसार बागमती सरकारका बारेमा वर्तमान गठबन्धनमा नै रहेर अघि बढ्ने एमालेको निष्कर्ष रहेको छ । एमालेका मन्त्रीहरूले अहिले नै राजीनामा दिने कुनै तयारी नरहेको उनको भनाइ छ । मन्त्री पौडेलले संसदीय दल र पार्टी केन्द्रको आधिकारिक निर्णय नै मुख्य हुने बताए।
‘पार्टीको माथिल्लो निकायबाट अहिलेसम्म कुनै निर्देशन आएको छैन । निर्देशन आएपछि जे भनिएको छ, त्यही गरिनेछ । सञ्चारमाध्यममा आएका राजीनामाका समाचारहरू केवल हल्ला मात्र भएको र पार्टी केन्द्रबाट आधिकारिक निर्णय आएको छैन’ उनले भने, ‘पार्टी सचिव महेश बस्नेत समेत सहभागी बैठकमा पार्टीले कुनै निर्णय पठाएको छैन । निर्देशन पनि आएको छैन । हामी अहिले नै राजीनामा दिँदैनौँ।’
वर्तमान सत्ता गठबन्धनको बारे अहिले नै निष्कर्षमा पुग्न नसकिने उनले बताए । उनका अनुसार, हाल नेपाली कांग्रेससँगको गठबन्धन कायमै छ र नयाँ ढङ्गले अगाडि बढ्ने विषयमा माथिल्लो तहमा छलफल भइरहेको भए पनि ठोस निर्णय भएको छैन । पछिल्लो समय मन्त्रालयहरूको जिम्मेवारी र बिना विभागीय मन्त्रीहरूका विषयमा भइरहेको आलोचनाका सम्बन्धमा पनि माथिल्लो तहमा छलफल भइरहेको र यसको टुङ्गो एक–दुई दिनभित्रै लाग्ने उनले बताए ।
मन्त्री पौडेलले पार्टीको निर्देशनको प्रतीक्षामा रहेको र निर्देशन आए लगत्तै आवश्यक कदम चालिने उनले बताए । तत्कालका लागि सरकारका काम कारबाहीमा नै केन्द्रित रहने उनको भनाइ छ।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार एमाले बागमतीको संसदीय दलको बैठकले बदलिँदो राजनीति परिस्थितिमा पार्टी केन्द्र र अन्य दलहरूसँग छलफल र संवादबाट अघि बढ्ने निष्कर्ष निकालेको छ । हरेक समय नयाँ परिस्थिति आइरहेकाले तत्काल सरकार छाड्ने विषयमा निर्णय नभएको उनको भनाइ छ । सरकार छाड्ने वा रहने भन्ने विषयमा अन्य दलहरूसँगको संवादपछि मात्र अघि बढ्ने उनले बताए।



