Nov 04 2026 | २०८३ कार्तिक १९ गते

बाल सुधार गृहलाई सुधार र पुनःस्थापना केन्द्रका रूपमा विकास गर्छौँ : मन्त्री वादी

बाल सुधार गृहलाई सुधार र पुनःस्थापना केन्द्रका रूपमा विकास गर्छौँ : मन्त्री वादी

आइतवार, श्रावण ३ २०८३
  • काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले देशका विभिन्न भागमा रहेका बाल सुधार गृहहरूलाई सुधार, शिक्षा र पुनर्स्थापना केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

    आइतबार सिंहदरबारमा आयोजित प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री वादीले बाल सुधार गृहलाई केवल दण्ड दिने थलोका रूपमा मात्र राख्न नहुने बताइन् । मन्त्री वादीकाअनुसार हाल देशभर भक्तपुर, मोरङ, पर्सा, हेटौँडा, कास्की, रुपन्देही, बाँके (जयन्दु र नौबस्ता), डोटी र नुवाकोट गरी १० वटा बाल सुधार गृह सञ्चालनमा छन्।

    images

    ती सुधार गृहहरूको कुल क्षमता १ हजार ८५ रहेको भएपनि हाल १ हजार १९५ जना बालबालिका आश्रित छन् । केही समयअघिसम्म गैरसरकारी संस्था (युसेप नेपाल)ले व्यवस्थापन गर्दै आएका चारवटा सुधार गृहलाई गत वर्षको साउन १ गतेदेखि सरकारको पूर्ण नियन्त्रणमा ल्याइएको जानकारी पनि उनले दिइन् । उनकाअनुसार अधिकांश सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका हुनु, बालमैत्री भौतिक पूर्वाधारको अभाव हुनु र पर्याप्त सुरक्षा प्रवन्ध नहुनु मुख्य चुनौती रहेका छन् । बालबालिकाका लागि छुट्टाइएको खाद्यान्न र खर्च (दैनिक ८० रुपैयाँ र ७०० ग्राम चामल) कैदीबन्दी सरह नै रहेको र यसले बढ्दो उमेरका बालबालिकाको पोषण आवश्यकता पूरा नगर्ने उल्लेख गर्दै उनले रासन र पोषण खर्च वृद्धि गर्न गृह र अर्थ मन्त्रालयसँग समन्वय भइरहेको बताइन् । स्वास्थ्य उपचारका लागि सबै बालबालिकाको स्वास्थ्य बीमा गरिएको र प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मीको दरबन्दी थप गरिएको जानकारी गराइन्।

    बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम १८ वर्ष उमेर पुगेका व्यक्तिहरूलाई साना बालबालिकासँगै राख्दा सुरक्षा र संरक्षणमा समस्या देखिएको स्वीकार गर्दै मन्त्री वादीले नुवाकोट र बाँकेको नौबस्तामा १८ वर्षभन्दा माथिकाका लागि छुट्टै व्यवस्था गरिएको बताइन् । सुधार गृहभित्रको सुरक्षा व्यवस्थामा हतियार र बर्दीविनाका नेपाल प्रहरी खटाउने कानुनी व्यवस्था रहेको तर कहिलेकाहीँ आन्दोलन र झै–झगडा हुँदा सादा पोसाकका प्रहरीलाई बालबालिकाले नटेर्ने समस्या देखिएको उनको भनाइ छ । मुद्दाको फैसला हुन लामो समय लाग्दा र अदालती प्रक्रियाका लागि पर्याप्त सवारी साधन नहुँदा व्यवस्थापनमा कठिनाइ भएको उनले उल्लेख गरिन्।

    सरकारले बाल सुधार गृहको गुणस्तर सुधारलाई उच्च प्राथमिकतामा राखेको बताउँदै मन्त्री वादीले तनहुँको ढकालटारमा निर्माणाधीन सुधार गृह अन्तिम चरणमा पुगेको र कर्णाली प्रदेशमा नयाँ सुधार गृह स्थापनाका लागि बजेट विनियोजन गरिएको बताइन्। हाल चारवटा सुधार गृहमा मात्र विद्यालय सञ्चालनमा रहेकोमा अन्यत्र पनि शिक्षाको पहुँच विस्तार गरिने र बालबालिकालाई व्यावसायिक तथा एआई सम्बन्धी सीपमूलक तालिम दिइने बताइन् । बालबालिका सम्बन्धी ऐन, २०७५ लाई समयानुकुल परिमार्जन गर्न संशोधन प्रक्रिया अगाडि बढाइएको जानकारी दिइन्।भक्तपुर, कास्की र पर्साका सुधार गृहलाई नमूना केन्द्रका रूपमा विकास गर्न बजेट व्यवस्था गरिएको र भैरहवास्थित सुधार गृहमा रहेको अत्यधिक चाप कम गर्न जिल्ला समन्वय समितिको भवन हस्तान्तरणका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको पनि जानकारी दिइन्।

    मन्त्री वादीले संसदीय उपसमितिले दिएका सुझावहरूलाई मन्त्रालयले गम्भीरतापूर्वक लिने र चरणवद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार