काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टको कम्पनीबाट नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवापुत्र जयवीर देउवाको लगानी रहेको कम्पनीमा झन्डै साढे २ करोड रकम गएको पाइएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार विष्णु पौडेलसहित १४ जना व्यक्ति तथा कम्पनीविरुद्ध विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा यस्तो उल्लेख गरिएको हो । यो विषयमा थप छानबिन भइरहेको विभागको अभियोगपत्रमा उल्लेख छ।
अभियोग पत्रमा जयवीरको लगानी रहेको स्कालर इन्टरनेशनल र डिजी हट नामक दुई कम्पनीमा २ करोड ६० लाख रुपैयाँ भुक्तान दिएको पाइएको भनिएको छ।
‘प्रतिवादी दीपक भट्टले कसुरबाट प्राप्त रकम भुक्तानी गरेको हुनसक्ने देखिँदा त्यसतर्फको अनुसन्धानलाई निरन्तरता दिई कानुन बमोजिम गरिनेछ,’ अभियोग पत्रमा भनिएको छ।
विभागले असार २२ मा पूर्व प्रधानमन्त्री देउवाका पुत्र जयवीरलाई ७ दिनभित्र हाजिर हुन सूचना जारी गरेको थियो । सम्पत्ति शुद्धीकरण कसुरको जाँचबुझ तथा अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्नुपर्ने भन्दै विभागले बुढानीलकण्ठस्थित उनको घरमा सूचना टाँस गरेको थियो।
असार २३ मा म्यादभित्र नआए कानुन बमोजिम हुने भन्दै गोरखापत्रमा पनि सूचना प्रकाशन गरिएको थियो । तर अहिलेसम्म जयवीर विभागमा हाजिर भएका छैनन्।



