Nov 04 2026 | २०८३ कार्तिक १९ गते

विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर

विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर

बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, विवादास्पद व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र सुभी अग्रवालसहित अन्य व्यक्ति र कम्पनीविरुद्ध विशेष अदालतमा पूरक अभियोग पत्र दायर गरेको छ।

    विभागको अनुसन्धान प्रतिवेदनको आधारमा विशेष सरकारी वकिल कार्यालयले व्यवसायी दीपक भट्टलाई ४७ करोड ७७ लाख ६६ हजार २५० रुपैयाँ बिगो दाबी विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । त्यस्तै, एमाले नेता विष्णुप्रसाद पौडेललाई २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको छ । त्यस्तै, सुभी अग्रवाललाई १३ करोड ३३ लाख ५६ हजार १३६ रुपैयाँ बिगो दाबी कायम भएको छ । साथै हिमालयन एसेट म्यानेजमेन्टलाई २० करोड ९० लाख रुपैयाँ बिगो दाबी कायम गरेर मुद्दा दायर भएको छ।

    images

    यसबाहेक, सुलभ अग्रवालको नाममा रहेको बालुवाटारको घर–जग्गा, रिद्धिसिद्धि सिमेन्टको १ करोड ७० लाख कित्ता शेयर, र दीपक भट्टको नाममा रहेका विभिन्न ८ वटा कम्पनीका १५६ रोपनी जग्गा जफत गर्न माग गरिएको छ । हिमालयन रि–इन्स्योरेन्स, श्रीराम टोबाको उद्योग र विभिन्न सहकारीको आवरणमा अर्बौँ रुपैयाँ अवैध रूपमा ओसारपसार र रूपान्तरण गरेको अभियोग उनीहरूमाथि लगाइएको छ।

    पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि पद र प्रभावको दुरुपयोग गरी सम्पत्ति शुद्धीकरणमा सहयोग पुर्‍याएको (मतियारको भूमिका खेलेको) गम्भीर आरोप लागेको छ । अभियोग पत्रअनुसार पौडेलले अर्थमन्त्री हुँदा श्रीराम टोबाको उद्योगको २० प्रतिशत सेयर (३ लाख ७५ हजार कित्ता) अत्यन्तै न्यून मूल्यमा दीपक भट्टको कम्पनीलाई दिलाउन सहजीकरण गरेका थिए।

    कम्पनीको प्रतिसेयर किताबी मूल्य ८१६ रुपैयाँ ७१ पैसा रहे पनि प्रतिसेयर १०० रुपैयाँका दरले भट्टको कम्पनीलाई सेयर हस्तान्तरण गरिएको थियो । यसको बदलामा पौडेलले सुपारी आयातमा सहुलियत दिलाएको, राजस्व अनुसन्धान विभागको कारबाहीबाट जोगाएको र हिमालयन रि–इन्स्योरेन्सलाई इजाजत दिलाउन भूमिका खेलेको दाबी विभागले गरेको छ।

    मुख्य प्रतिवादी दीपक भट्टले ‘इन्फिनिटी होल्डिङ्स’ र ‘हिमालयन एसेट म्यानेजमेन्ट’मार्फत अवैध सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानले देखाएको छ । भट्टले जगदम्बा स्टिलबाट प्राप्त ४५ करोड रुपैयाँलाई स्रोत नखुलाई हिमालयन रि–इन्स्योरेन्समा लगानी गरेको र ललितपुरको लामाटार लगायतका स्थानमा १५६ रोपनीभन्दा बढी जग्गा कम्पनीका नाममा खरिद गरी स्रोत लुकाएको पाइएको छ।

    प्रतिवादी सुभी अग्रवालले कसुरबाट प्राप्त १३ करोड ३३ लाख रुपैयाँभन्दा बढी रकमलाई सहकारीमार्फत शुद्धीकरण गरेको आरोप छ । उनले जगदम्बा स्टिलका कामदार उपेश बस्नेतलाई प्रयोग गरी ‘प्रतिभा बहुउद्देश्यीय सहकारी’, ‘कमल बहुउद्देश्यीय सहकारी’ र ‘नेचुरल बचत तथा ऋण सहकारी’मा रकम जम्मा गर्ने र झिक्ने गरेको पाइएको छ । १० लाखभन्दा कमको सीमामा रहेर पटक–पटक रकम जम्मा गरी बैंकको नियमन छल्ने प्रयास गरिएको अभियोग पत्रमा उल्लेख छ।

    यस प्रकरणमा श्रीराम टोबाको उद्योगका सञ्चालकहरू चुन्नप्रसाद शर्मा र कमलकिशोर मालपानीलाई भने सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको छ । उनीहरूले विष्णु पौडेलकै दबाब र सहजीकरणमा दीपक भट्टलाई शेयर दिएको स्वीकार गर्दै अनुसन्धानमा सहयोग गरेकाले उनीहरूलाई सजायमा छुट दिइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार